ad ad

कारोबार


हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जरको लागि प्रचण्डलाई फकाइँदै, विकल्पमा सिभिल

हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जरको लागि प्रचण्डलाई फकाइँदै, विकल्पमा सिभिल

दीपक भट्ट
मंसिर २०, २०७८ सोमबार १८:२८, काठमाडौँ

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरको लागि सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई अहिले फकाउने काम भइरहेको छ। 

मर्जरको समयसीमा सकिएपछि एक महिना थप गरेर अहिले मर्जरको बाधक बनेका हिमालयन बैंकका अध्यक्ष श्रेष्ठलाई फकाउने काम भइरहेको हो। 

मर्जरको सम्झौता भएपछि हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ आएका थिए। उनी हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक सकेसम्म मर्जर हुन नहुने पक्षमा छन्। 

सोही कारण असोजमा भइसक्नुपर्ने मर्जरको प्रक्रिया अहिलेसम्म टुंगिएको छैन। हिजो अर्थात् १९ गतेसम्मको लागि राखिएको म्यादमा पनि एक महिना थपिएको छ। 

यो समयमा हिमालयन बैंकका बाँकी सञ्चालक र इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले समेत अहिले अध्यक्ष श्रेष्ठलाई फकाउने काम गरिरहेका छन्। 

मूलतः हिमालयन बैंकमा हिमालय शमशेर ग्रुपको लगानी रहेको र उनका नाता पर्ने पृथ्वी बहादर पाँडेको समूह मर्जरपछि झन् बलियो बन्ने आकलनमा अध्यक्ष श्रेष्ठ मर्जरको लागि अहिले आनाकानी गरिरहेका छन्। 

यसका लागि उनले विभिन्न विषयमा असन्तुष्टि देखाइरहेका छन्। तिनमध्ये स्वाप रेसियोमा उनको पहिलो असन्तुष्टि देखिएको छ।  

दुई बैंकको मर्जरको लागि हुनुपर्ने दोस्रो चरणको डीडीए (सम्पत्ति तथा दायित्व मूल्यांकन) समेत सम्पन्न भइसकेको छ। 

मर्जर सम्झौताअनुसार स्वाप रेसियो १ः१ रहने उल्लेख छ।

मर्जरको छलफल हुँदा समेत डीडीए भएको थियो। पछिल्लो रिपोर्टले हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेस्टमेन्टको १०० रुपैयाँ हुने देखिएको छ।

उनले देखाएको अर्को कुरा हो महालेखा परीक्षकको प्रतिवेदन। 

त्यसमा इन्भेस्टमेन्ट बैंकले एफपीओ जारी गर्दा र मर्जर एक्विजिसनमा ठूलो मात्रामा कर छलेको उल्लेख छ। प्रतिवेदनमा यस बैंकले ८ अर्ब थप कर दाखिला गर्नुपर्ने उल्लेख गरेको छ। 

यो विषयमा पनि श्रेष्ठको असन्तुष्टि पोखिएको छ। 

इन्भेस्टमेन्टले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स एक्वायर (प्राप्ति) गरेको थियो। एक्वायर्ड गर्दा राज्यलाई तिर्नुपर्ने कर नतिरेको महालेखाले उल्लेख गरेको छ। 

त्यसकारण यो भारसहित मर्जरमा जान नहुने तर्क उनको छ। 

तर अध्यक्ष श्रेष्ठलाई अहिले मनाउने काम भइरहेको स्रोतको दाबी छ। 

अबको एक महिनासम्म पनि श्रेष्ठ नमानेको खण्डमा हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्नेछ। मर्जरको प्रस्तावकको रुपमा हिमालयनलाई राष्ट्र बैंकले यो मर्जर तोडिएको खण्डमा कारबाही गर्नेछ र नयाँ पार्टनरको खोजी गर्न भन्नेछ। 

यसअघि नै गएर हिमालयन बैंकका केही सञ्चालकहरुले सिभिल बैंकलाई मर्जरको लागि अर्को विकल्पको रुपमा लिएका छन्। 

हिमालयन बैंकका एक सञ्चालक सदस्यले भने, ‘क्रस होल्डिङको हिसाबमा  सिभिल बैंक मर्जरको लागि उपयुक्त नै छ। ’

मर्जरको रुपमा समेत उक्त बैंकलाई बहसमा समेत हिमालयन बैंकले राखेको थियो। अहिले इन्भेष्टमेन्टसँग मर्जर तोडिएको खण्डमा विकल्पमा राखेको हो। 

तर ती सञ्चालक भन्छन्, ‘यदि इन्भेष्टमेन्टसँग मर्जर नै भयो भने पनि सिभिललाई गाभ्न सकिनेसम्मको अवस्था छ।’

याे पनि -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .