कारोबार


परीक्षण कालमै सीजी नेटले बनायो ५ हजार ग्राहक, मंसिरसम्म ‘काठमाडौं पूरै ढाक्ने’ योजना

परीक्षण कालमै सीजी नेटले बनायो ५ हजार ग्राहक, मंसिरसम्म ‘काठमाडौं पूरै ढाक्ने’ योजना

दीपक भट्ट
कात्तिक २६, २०७८ शुक्रबार ७:४९, काठमाडौँ

नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुप टेलिकम्युनिकेसनमा पनि प्रवेश गर्दै छ। 

सीजी टेलिकमको लागि लाइसेन्सको प्रक्रियामा रहेको ग्रुपले गत जेठबाट सीजी नेटचाहिँ सुरु गरिसकेको छ। 

बजार प्रवेश गरेको पाँच महिनामै सीजी नेटले लोकप्रियता कमाएको छ। आफ्नो संरचना विस्तारको क्रममा नै रहेको सीजी नेट अहिले सर्वसाधारणबीच लोकप्रिय बन्दै गएको हो।  

सीजी नेट उपलब्ध भएसम्म ग्राहकले अन्य कम्पनीको इन्टरनेट प्रयोग नै गर्न छाडेका छन् अर्थात् सीजी नेट पहिलो रोजाइको इन्टरनेट बन्नथालेको छ। 

दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले नै हालसम्म सीजी नेटले ५ हजारभन्दा बढी ग्राहक बनाइसकेको देखाएको छ। 

यो भनेको सीजीको ट्रायल फेजमा बनाएको ग्राहक हो। सीजीले ट्रायल फेजमै बनाएको त्यो ग्राहक संख्या अन्य कम्पनीले बनाएको १ वर्षको संख्याको बराबरजस्तै हो। 

सुरुमा कम्पनीले ललितपुरबाहेकका स्थानमा आफ्नो सेवा समेत विस्तार गरेको थिएन। तर अहिले उपत्यकामा आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ। ललितपुरपछि अब काठमाडौंमा सीजी नेट बाँड्न थालेको छ। 

लोभलाग्दो ग्राहकवृद्धि र भरपर्दो सेवाकै उपजका रुपमा सीजी नेटलाई यसले पुष्टि गर्छ। 

कम्पनीका एक अधिकारी यसरी सीजी नेटको लोकप्रियतावृद्धिमा धेरै कुराहरु जोडिएको बताउँछन्।

के–के हुन् त ती कुराहरु? 


१. सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट

ती अधिकारीका अनुसार कम्पनीले प्रदान गरेको गुणस्तरीय इन्टरनेट र त्यसबापतको सहुलियतपूर्ण शुल्क नै सीजी नेटले छोटो समयमा पाएको लोकप्रियताको मुख्य कडी हो। 

उनी भन्छन्, ‘सीजी नेटको कुरा गर्दा पहिलो कुरा कम्पनीको गुणस्तर जोडिएको छ। कम्पनीको योजना नै सस्तो र किफायती सेवा प्रदान गर्ने हो, त्यहीअनुसार लागिरहेका छौँ।’

उनले भनेझैँ कम्पनीले फाइभजी नेटवर्कअनुसार इन्टरनेट सेवा प्रदान गरिरहेको छ। जसले गर्दा इन्टरनेटको गति पनि गुणस्तरीय छ। ग्राहकले प्रयोग गर्दा तीव्र गतिको इन्टरनेटमा चाहेका काम गर्न पाउँछन्, जसले कम्पनी र ग्राहक दुवैलाई फाइदा भएको छ। 

त्यति मात्रै होइन कम्पनीका इन्टरनेट प्याकेज समेत अन्यभन्दा सस्तो छ। सस्तो मूल्यमा गुणस्तरीय सेवा पाए कसले किन्दैन? सीजी नेटको हकमा यही भएको उनको भनाइ छ।  

कम्पनीले साढे ६ सय रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट वितरण गर्ने योजना अघि सारेको छ। 

त्यस्तै १ हजार रुपैयाँमा १ सय २० एमबीपीएस गतिको इन्टरनेट बिक्री गर्छ। जब कि अरु कम्पनीले यही गतिको इन्टरनेट बिक्री गरी सीजीभन्दा दोब्बरसम्मको  शुल्क लिँदै आएका छन्। 

उदाहरण नै हेर्ने हो भने वर्ल्डलिंकले भने ६० एमबीपीएसको इन्टरनेटको प्रतिमहिना शुल्क २ हजार २ सय रूपैयाँ लिने गरेको देखिन्छ।क्लासिक टेकले पनि ५० एमबीपीएस प्रतिमहिना एक हजार एक सय ५५ रूपैयाँमा बिक्री गरिरहेको उनीहरुले नै जारी गरेको सूचनामा उल्लेख छ। 

उच्च गुणस्तर र शुल्कमा समेत भारी सहुलियत दिएको कारणले अहिले सीजी नेट पाएसम्म अरु नरोज्नेसम्मको लोकप्रिता कमाउन कम्पनी सफल देखिएको हो।  

२. चौधरी ग्रुपले अरु सेवा प्रदान गर्दा कमाएको विश्वास 
सीजी नेटका ती अधिकारीका अनुसार कम्पनीले अहिले काठमाडौंको १५ स्थानमा सेवा दिइरहेको छ भने १ हप्ताभित्रै थप १५/१६ स्थानमा जाँदै छ।

उनले नेपालखबरसँग भने, ‘नोभेम्बरको अन्तिम अर्थात मंसिरसम्ममा हामी काठमाडौं पूरै ढाक्नेछौँ।’ 

त्यसो त संरचना विस्तार र वितरणकै क्रममा रहेको छ सीजी नेट। सीजी गु्रपले अन्य सेवा कसरी प्रदान गरेको छ, त्यहीअनुसार नेट सेवाको विस्तार कार्य पनि अघि बढाएको छ। यसले पनि सीजी नेटप्रतिको विश्वास बढेको छ। 

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो व्यावसायिक घराना हो। विश्व डलर अर्बपतिको सूचीमा नेपालको प्रतिनिधित्व गर्नेमा यही ग्रुपका प्रमुख विनोद चौधरी छन्। 

नेपालमा खाद्य वस्तु उत्पादन र व्यापार, होटल, ब्रुअरी तथा बेभरेज, इलेक्ट्रोनिक्स वस्तुहरुको सेवा प्रदान गर्दै आइरहेको छ। 

सीजी ग्रुपले दिएको सेवा अरु प्रतिस्पर्धीभन्दा कुनैमा पनि कमजोर देखिँदैन। यस हिसाबले ग्रुपले नेपालमा विश्वास कमाएको छ। 

सीजीले सुरु गरेको इन्टरनेट सेवामा आकर्षित हुन ग्राहकलाई यसले मद्दत गरेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पनि सीजी नेटबारे अहिलेसम्म कुनै गुनासो तथा उजुरी देखिएका छैनन्। 

‘अन्य इन्टरनेट प्रदायकको हरेक महिना गुनासो तथा उजुरीहरु आउने गर्छन् तर सीजी नेटको अहिलेसम्म गुनासो देखिएको छैन’, प्राधिकरणका एक अधिकारीले भने। ।

३. सीजीको टेलिकम्युनिकेसनमा ठूलो योजना
कम्पनीका अनुसार इन्टरनेटसँगै कम्पनीको आगामी योजना टिभीसहितको प्याकेज ल्याउने छ।

‘त्यो कम्बो प्याकेजको विषयमा हामीले योजना बनाइरहेका छौँ। घर–घरमा इन्टरनेट पुर्याएर छोड्ने योजनामा हामी छौँ,’ कम्पनीका ती अधिकारीले भने।

उनका अनुसार उपत्यकामात्रै नभई देशैभरि सीजी नेट पुर्याउने योजना छ। 

‘पहिला उपत्यकामा पूर्ण सेवा दिने, त्यसपछि उपत्यकाबाहिर कुन स्थानबाट जाने विषयमा हामी छलफलमा छौँ’, उनले भने। 

त्यसो त सुरु सुरुमा ग्राहक संख्या बढाउन सस्तो इन्टरनेट ल्याएको हो कि भन्ने आशंका गर्नेहरु नभएका होइनन्। पछि पछि गुणस्तरमा समेत समस्या आउने र सेवा पनि महंगो हुने बजारभित्रको डरलाई सीजी नेटले आश्वस्त पार्न चाहेको बताएकाे छ।  

ती अधिकारीले भने, ‘अबको समय नै इन्टरनेटको हो। हामी सबैको पहुँचमा गुणस्तरीय र सस्तो नेट पुर्याउने योजनामा छौं। कुनै हालतमा त्यस्तो हुन दिँदैनौँ।’

सीजीले नेपालको सबैभन्दा ठूलो टेलिकम्युनिकेसन ल्याउने योजना अघि सारेको छ। त्यसको लाइसेन्सको प्रक्रियामा कम्पनी छ। नेपालमा राम्रो गुणस्तरीय टेलिकम्युनिकेसन कम्पनी सञ्चालनका लागि सीजीले लगानी समेत गरिसकेको छ। 

चिनियाँ कम्पनी हुवावेसँग उसले फोरजी फोन सेवाका लागि सीजी टेलिकमले ११ अर्ब रुपैयाँ बराबरको सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको जनाएको थियो।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .