ad ad

कारोबार


ढोरपाटनमा आन्तरिक पर्यटक बढे

ढोरपाटनमा आन्तरिक पर्यटक बढे

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७८ बुधबार ७:५१, काठमाडौँ

नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। 

दसैँ, तिहारका समयमा ढोरपाटन घुम्ने पर्यटकमा वृद्धि भएको निकुञ्ज प्रशासनले जनाएको छ। ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ।

सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन्। 

ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो। यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिए।

‘कोरोनाका कारण केही शिथिल बनेको ढोरपाटनको पर्यटन यस वर्ष निकै बढेको छ,’ पुनले भने, ‘विशेषगरी बागलुङ, पर्वत, प्यूठान, गुल्मी, रुपन्देहीलगायतका स्थानबाट आन्तरिक पर्यटक बढी आउने गरेका छन्। 

अहिले दैनिक करिब पाँचसय आन्तरिक पर्यटक ढोरपाटन पुग्ने गरेका छन्। कोही गाडी लिएर, कोही मोटरसाइकल लिएर ढोरपाटन पुग्ने गरेका छन्। सडकको सुविधा भएकाले पहिलेजस्तो पैदल हिँड्न नपर्दा पनि ढोरपाटन जानेको संख्या बढ्न थालेको हो।

पर्यटकको आमगन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि फस्टाउन थालेको छ । ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ, सिमीलगायतका  वस्तुले समेत उचित मूल्य पाउन थालेको पुनले बताए। ‘यसले ढोरपाटनवासी पनि अब व्यवसायसँग जोडिन थालेका छन्,’ उनले भने।

यसपटकको बिदाको समयमा पारिवारिक भ्रमणको गन्तव्य ढोरपाटनलाई बनाएको बागलुङका अधिवक्ता राम शर्माले बताए। शर्मासहित आठ जनाको समूह तीनदिने ढोरपाटन भ्रमण सकेर मङ्गलबार बागलुङ फर्किएको छ।

‘पाँचौँपटक ढोरपाटन पुगेँ, यसपटक परिवार सबैलाई लिएर गएको थिएँ, होटलहरु भरिभराउ थिए। दैनिक चार÷पाँच सय पर्यटक ढोरपान पुग्ने गरेको पायौँ,’ उनले भने। 

अचेल ढोरपाटनमा पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको ढोरपाटन भ्याली होटलका सञ्चालक गङ्गा भण्डारीले बताए। पछिल्लो समय ढोरपाटन क्षेत्रमा होटल तथा घरबासको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयवासी गौमती पुनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .