कारोबार


भरतपुर सवस्टेसनको मर्मत जनशक्ति थपेर भए पनि छिटो सक्न कुलमानको निर्देशन

भरतपुर सवस्टेसनको मर्मत जनशक्ति थपेर भए पनि छिटो सक्न कुलमानको निर्देशन

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार १५:४२, काठमाडौँ

चितवनको भरतपुर सवस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सवस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउसोदेखि विद्युत आपूर्ति बन्द छ। बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको छ। यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको छ।

अर्को ट्रान्सफर्मर पोखराबाट ल्याउने काम भइरहेको छ। अहिले जडान भइरहेको ट्रान्सफर्मरको काम सकिएपछि सर्वसाधारणलाई वत्ति आपूर्ति गरिने छ।  

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मत कार्यको स्थलगत निरीक्षण गरी काम छिट्टो सक्न निर्देशन दिएको छ।

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिट्टो विद्युत आपूर्तिको व्यवस्था गर्न निर्देशन दिए।

‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरु थपेर भए पनि तत्काल काम सक्नु पर्छ, तत्कालका लागि उद्योगहरुलाई दिइएको आपूर्ति कटौती गरी ग्राहकलाई तिहारमा बत्ति बाल्न पाउने व्यवस्था मिलाउनु पर्छ,’ उनले निर्देशन दिए।

सवस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो। सवस्टेसनमा रहेको अर्कोमा मंगलबार दिउँसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो।

अहिले वैकल्पिक व्यवस्था गरी हस्पिटलहरू, खानेपानी, जिल्ला प्रशासन  तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गरिएको छ। सवस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरुमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ।

अहिले सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीव कुमार सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad