कारोबार


बोइङका ५० विमान ‘ग्राउन्डेड’, यस्तो छ कारण

 बोइङका ५० विमान ‘ग्राउन्डेड’, यस्तो छ कारण

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार १२:२५,

बोइङ कम्पनीका निकै लोकप्रिय ७३७ एनजी सिरिजका ५० वटा विमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ। यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो।

अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा विमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ। क्वान्टासले यही सिरिजका अरु ३२ विमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ।

गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौ वटा विमान ग्राउन्डेड गरेका थिए। यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए।

बिमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले विमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो।

क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार विमानमध्ये ५ प्रतिशतभन्दा कम विमानमा स–साना दरार देखिएको बताएका छन्। प्रवक्तले ती विमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए।

क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले विमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि विमान नउडाउने बताए।

अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका विमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ। तर, क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका विमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ।

यी विमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्युजिल्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ।

अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७ एनजी सिरिजका सबै १७ वटा विमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ।

बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा विमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad