ad ad

कारोबार


मध्यपहाडी राजमार्गः ५८ प्रतिशत सकिन १४ वर्ष लाग्यो, बाँकी काम सकिएला २ वर्षमा?

मध्यपहाडी राजमार्गः ५८ प्रतिशत सकिन १४ वर्ष लाग्यो, बाँकी काम सकिएला २ वर्षमा?

मध्यपहाडी राजमार्ग। (फाइल तस्बिर)


वसन्त अर्याल
कात्तिक ७, २०७८ आइतबार १८:३६, काठमाडौँ

मध्यपहाडी राजमार्ग १४ वर्षमा ५८ प्रतिशत मात्रै सकिएको छ। 

२०६४ सालमा सुरु गरिएको राजमार्गको ४२ प्रतिशत काम अझै बाँकी रहेको हो। 

राजमार्गको सबै काम २०७९/०८० सम्म सक्नैपर्ने समयसीमा छ। 

अहिलेसम्मको काम गराइ हेर्दा २ वर्षभित्र राजमार्गको काम नसकिने देखिएको छ। 

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएको समयमा मध्यपहाडी राजमार्ग नसकिने स्पष्ट भएको बताइन्।

‘पुरानो रेखांकन परिवर्तन गरिएको छ। त्यसअनुसार पनि काम हुनसकेको छैन’, खड्काले भनिन्, ‘१४ वर्ष भयो अझै कति वर्ष लाग्ने हो?’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले तोकिएको अवधिमा नसकिने बताए। 

उनले २०८० सम्म मध्यपहाडी राजमार्गको काम नसकिने बताउँदै समय थप गर्नुपर्ने समितिलाई जानकारी गराए। 

कास्कीलगायतका जिल्लामा कुन ठाउँबाट सडक निर्माण गर्ने नै टुंगो नलागेको उनको भनाइ छ। 

‘अहिलेकै रेखाङ्कनअनुसार पोखरामा ७–८ सय घर भत्काउनुपर्छ’, श्रेष्ठले भने, ‘घर भत्काउँदा क्षतिपूर्ति र मुआब्जा दिन सकिँदैन।’

श्रेष्ठले बजेट विनियोजन पर्याप्त नहुँदा समयमै निर्माण काम सम्पन्न हुन नसकेको बताए। 

‘एउटा पुल बनाउन २५–३० करोड लाग्छ। वर्षमा २५ लाख बजेट विनियोजन गरिएको हुन्छ’, श्रेष्ठले भने, ‘त्यसपछि समयमै निर्माण गर्न सकिँदैन।’

श्रेष्ठले जनशक्ति पनि कम भएको दाबी गरे। उनले एउटा इन्जिनियरले १५ वटा पुल रहेका  हेर्नुपर्ने अवस्था रहेको बताए। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कुन सडकलाई कति प्राथमिकता दिने भन्ने स्पष्ट नीति नहुँदा निर्माणमा ढिलाइ हुने बताइन्।

सडक निर्माण गर्दा स्थानीय तहभित्रको स्थानीय तहले, प्रदेशभित्रका प्रदेश र ठूला सडक केन्द्रले बनाउनुपर्नेमा मन्त्री यादवको जोड थियो। 

‘सडक समयमा बन्दैन, नबने पनि गुणस्तरका हुँदैनन्’, मन्त्री यादवले भनिन्, ‘टेन्डर लिने प्रथा नै गलत छ। सबैभन्दा कम कबोल गर्नेले लिँदा गुणस्तर हुँदैन। एउटाले लिएको ठेक्का ४–५ जनालाई जिम्मा दिन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .