कारोबार


घट्न थाल्यो तरकारीको भाउ

घट्न थाल्यो तरकारीको भाउ

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १८:१७, काठमाडौँ

दसैं सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैं सुरु हुँदा तरकारी तथा फलफूलको मुल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो।

दसैंको समयमा खासगरी गोलभेँडा, काँक्रो, काउली लगायतका केही वस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतको मूल्य सामान्य बढेको थियो। दसैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुकाे गुनासो थियो।

तर, दसैं सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए। उनले माग सामान्य हुँदै गएकोले मूल्य पनि विस्तारै समान्यकरण हुँदै गएको कारण मूल्य घट्ने क्रम जारी रहेको बताए। गोलभेँडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले बताए।

समितिका उपनिर्देशक श्रेष्ठले यस वर्ष बढी वर्षा भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दावी गरे।

यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दसैंको समयमा मूल्य बढेको बताए। दसैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठसय टनसम्म समान भित्रिएको थियो।

अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाई छ। दसैं, तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरुले हरेको सामानको अत्याधिक वृद्धि गर्ने गरेको छन्।

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमनलाई तिब्रता दिने गरेपनि व्यापारीहरुले भने हरेक वर्ष हरेक सामानको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .