कारोबार


उत्पादनमा कमी आएपछि आँपको मूल्यमा दोब्बरले वृद्धि

उत्पादनमा कमी आएपछि आँपको मूल्यमा दोब्बरले वृद्धि

नेपालखबर
असार ५, २०७६ बिहिबार १०:५६,

आँपको उत्पादनमा कमी आएपछि मूल्यमा दोब्बरले वृद्धि भएको छ।

यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको हो।

पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्य वृद्धि भएको आँप उत्पादक व्यावसायिक कृषक र व्यापारी बताउँछन्।

गत वर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु ४० देखि ५० सम्म रहेको थियो । यो वर्षको सोही समयमा काँचो आँपको मूल्य प्र्रतिकिलो रु १०० देखि १२५ रहेको गाईघाटका आँप व्यापारी रामजी साहले बताए।

गाईघाटका अर्का आँप व्यापारी दुर्गेस दासले अहिले बोटमा नै काँचो आँपको मूल्य प्रतिकिलो रु १०० भन्दा बढी पर्ने गरेको बताए। ‘यस पटक हावाहुरी र असिनाले चैतमा धेरै आँपका चिचिला खसाल्यो, प्रायः आँपका बगानमा २५ प्रतिशत आँपमात्र बाँकी रहेको छ, अब सस्तो मूल्यमा बिक्री गर्न नसकिने अवस्था छ’, चौदण्डी नगरपालिका–३ हँडियाका व्यावसायिक आँप उत्पादक कृषक धीरेन्द्र चौधरीले भने।

यस पटक फागुनको अन्तिम हप्ता र चैतको पहिलो हप्तामा नै हावाहुरी र असिनाले फल लाग्दै गरेको आँपमा ठूलो क्षति पु¥याएकाले आँप उत्पादक कृषकले ठूलो घाटा व्यहोर्नु परेको त्रियुगा नगरपालिका–१ जोगीदहका अमर खड्काले बताए।

खड्काले भने, ‘व्यापारीले बाहिरबाट रासायनिक पदार्थ मिसाएर ल्याएको आँप अहिले बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको हामीले सुनेका छौँ, तर हामीले उत्पादन गरेको आँप आर्गेनिक आँप भएको कारण घाटा व्होरेर सस्तोमा बिक्री गर्न सक्दैनौँ।’

आँप उत्पादक कृषकले नै आँपको मूल्य सस्तोमा बिक्री गर्न नसकिने भने पनि यस पटक उदयपुरलगायतका स्थानमा काँचो आँपको मूल्य नै महँगो पर्न थालेको उपभोक्तासमेत बताउँछन्।

यस वर्ष आँपको मूल्य गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको चौदण्डीगढी नगरपालिका–२ बेल्टार बजारका कुमार परियारको धारणा छ। काँचो आँपको मूल्य नै प्रतिकेजी रु १०० पर्न थालेपछि यस पटक ग्राहकले आँप किनेर खान निकै महँगो पर्ने अवस्था आएको गाईघाट बजारका स्थानीय राजकुमार राउतको भनाई छ।

उदयपुर जिल्ला बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेस्वरी, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा त्रियुगा नगरपालिकाको जोगीदह, मोथ्याई, विषणपुर, पोर्ताह, बगाहा, श्रीपुर क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको छ।

यस्तै जिल्लाको पहाडी क्षेत्रको पञ्चावती दनुवारबेसी र कटारीको त्रिवेणी, रिस्कु क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। उदयपुरमा झण्डै १५० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad