नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ।
शुक्रबार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो।
छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए।
उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए। सहसचिव लामिछानेले विमान मेसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वाभाविक भएको तर्क गरे।
सहसचिव लामिछानेले भने, ‘अस्ति बुद्ध एयरको जुन एउटा घटना भयो,अहिले हामी सबै त्यसको इन्भेष्टिगेशनको चरणमा छौँ, अनुसन्धान पूरा भएपछि भन्ने ठाउँ त भइ नै हाल्छ,अस्तिको घटना एउटा प्रिन्सीपल्ली हेर्दा दुर्घटना कसरी हुन्छ? भन्ने कुरामा यो त जब इन्जिन स्टार्ट हुन्छ, तब घटनाहरु हुन सुरु हुन्छन्, त्यहाँ मिसिन हुन्छ, मान्छे हुन्छन्, आकाशमा, बादल लगायतका धेरै चिजहरुको सम्मिश्रण हुँदा, घटनाहरु हुने सम्भावना भइरहन्छ।’
कति घटनाहरु नियामकलाई पनि थाहा नहुने उनले बताए।
‘कति कुराहरु पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ, कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ,साना घटनाहरुलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो’, उनले भने।
छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए। उनले नागरिक उड्ययन प्राधिकरणलाई हीत हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताए।
कामु महानिर्देशक क्षेत्रीले भने, ‘हाम्रो पार्टबाट हामीले कहीँ कतै कमजोरी छोडेका छैनौँ,विगतको घटनाहरु म भन्न चाहन्न,तर अहिले राजुजीको जुन टीम छ, प्लस हामीले बाहिरबाट पनि ल्याएका छौँ, उहाँहरुले आफ्नो काम गरिरहनुभएको छ, यस्तो मिटिङबाट राम्रो सुझाव आए हामी अलाउड गर्न तयार छौँ।’
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए।
उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए।
उनले भने, ‘हालसालैको जुन घटनाको कुरा आयो,घटनाको छानबिन रिपोर्ट नआएसम्म त्यसमा हामी त्यति कमेन्ट गर्दैनौँ, छानबिनमै रहेकोले त्यसबारेमा चर्चा, परिचर्चा गर्दैनौँ,जहाजको मर्मत सम्हारको कुरामा जहाजलाई निर्माण गर्ने क्रममा जहाजको सबै पार्टपूर्जाको लाइफ तोकेको हुन्छ, ल्याण्डिङ, त्यसको पार्टपूर्जामा समय तोकिएको हुन्छ,त्यसपछि त्यो जहाजको जन्मकुण्डली भयो, यो जहाजको उमेर यति हो।’
यति एयरलाइन्स प्रा.लि.का अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए।
कहिलेकाहीँ यस किसिमका घटनाहरु सबै परीक्षण गरिसकेपछि पनि हुने उनको भनाइ छ।
उनले भने, ‘ठाउँ–ठाउँमा स्टेसनहरुमा इन्जिनियर, टेक्निसियन्सहरु हुनुपर्छ, हरेक पाइलट, इन्जिनियरहरुको लाइसेन्स हुन्छ, नभएकोले केही गर्न पाउँदैन,उड्नुभन्दा अघि सबै परीक्षण हुन्छ,त्यहाँ इन्जिनियरले फिक्स नगरीकन उड्दैन, पाइलटले पनि चेक गरेको हुन्छ,एक ठाउँमा विमान चेक गरेपछि त्यो दिनभर गरिरहनुपर्दैन।’
श्री एयरलाइन्स प्रालिका अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताए।
उनले सधैँ आइरहनु ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताए। उनले १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताए।
अध्यक्ष मित्तलले भने, ‘काहीँ लामो यात्रामा जाँदा गाडीको पनि सबै पार्टहरु चेक गरिन्छ,त्यो हुँदाहुँदै पनि गाडीको पनि त ब्रेकफेल हुन्छ नि,बेलाबेलामा असाधारण रुपले, साधारण होइन, सधैँ हुन्छ भने त्यो समस्या हो, कारबाही गरिनुपर्छ, मैले जानेको यो १५ वर्षमा पहिलो पटक हो, विमानका पाङ्ग्रा ननिस्किएको, अहिलेसम्म मलाई थाहा छैन, सधैँ यस्तो किसिमको समस्या पनि आइरहँदैन, त्यसैले यसै समस्यालाई मात्रै लिएर कारबाही गर्नुहुँदैन।’
अध्यक्ष मित्तलले अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पनि विगत ५ वर्ष यता नयाँ जहाज दुर्घटना र समस्या आइरहेको बताए। एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने बताए।
Shares

प्रतिक्रिया