बुद्ध एयरका पाइलट आंगेलु शेर्पालाई छानबिन समितिले केही दिन अर्थात् ७२ घण्टा उडान भर्न रोक लगाएको छ।
यही असोज ११ मा बुद्ध एयरको जहाजको ल्यान्डिङ गियर इन्डिकेटरमा गडबडी हुँदा अवतरणमा समस्या भएको घटना अनुसन्धान गर्न सरकारले बनाएको समितिले आंगेलुलाई केही दिन उडान नभर्न भनेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा तीन महिनामा सबै जहाजको प्राविधिक अध्ययन गर्न समिति बनाएको छ।
‘हामीले उहाँलाई पूर्ण प्रतिबन्ध लगाएका होइनौँ, ७२ घण्टा रेस्ट गर्नको लागि प्राधिकरणले आग्रह गरेको हो’, नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले नेपालखबरसँग भने।
प्राधिकरणले पनि बुद्धको जहाज अवतरणमा भएको समस्या अनुसन्धान गर्न छुट्टै अध्ययन समिति गठन गरेको छ। त्यसले १÷२ दिनभित्रै रिपोर्ट दिने ती अधिकारीले बताए।
काठमाडौंबाट विराटनगर उडेको विमान अवतरण हुन नसकी पुनः काठमाडौं फर्किएको थियो। ल्यान्डिङ गियरमा समस्या भएपछि घण्टौँसम्म बुद्धको जहाजले काठमाडौंको आकाशमा फन्को मारेको थियो।
सोही जहाज आंगेलुले उडाइरहेका थिए। प्राधिकरणका अनुसार उनलाई मानसिक रुपमा रेस्ट होस् भन्ने हेतुले केही दिन रेस्ट गर्न भनिएको हो।
उक्त जहाजमा ६८ जना वयस्क, दुई बच्चा र तीन शिशु गरी कुल ७३ जना यात्रु थिए।
Shares

प्रतिक्रिया