फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को रिजन(२ (एसिया प्यासिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ।
आज भर्चुअल विधि जुममार्फत भएको निर्वाचनमा एए भियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षहरुमा फेडेरेसन अफ इन्डियन अटोमोबाइल एसोसिएसन्स (एफआईएए), अटोमोबाइल्स एसोसिएसन अफ सिंगापुर तथा इकितान मोटर इन्डोनेसिया विजयी भए।
त्यसैगरी, सचिवमा अष्ट्रेलियन अटोमोबाइल एसोसिएसन तथा कोषाध्यक्षमा नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा नेपाल) निर्वाचित भएको हो। संसारकै ठूलो मोटोरिस्ट अर्गनाइजेसन एफआईएको मोबिलिटी र स्पोर्टस गरी दुई क्षेत्र रहेका छन्।
रिजन(२ मा न्युजिल्यान्डदेखि मध्य एसियासम्मका २५ राष्ट्रिय संघहरु आबद्ध छन्। एफआईएको विधानअनुसार एउटा देशमा स्पोर्टस र अटोमोबाइल मोबिलिटी एन्ड टुरिजम गरी दुई वा दुईभन्दा ज्यादा सदस्य संघ बन्न सक्नेछन्।
नेपालमा नासा नेपाल दुवै क्षेत्रको सदस्य संघ हो। नासा नेपालको तर्फबाट सो निर्वाचनमा सहभागी भएका पूर्वमहासचिव गोविन्द भट्टराईले सो समितिमा प्रतिनिधित्व गर्नेछन्।
यस विजयले एक दशकअघि सुरु भएको नेपाली संगठनको अन्तर्राष्ट्रिय यात्रा महादेशीय नेतृत्व तहमा पुगेको छ।
Shares

प्रतिक्रिया