काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका ठूला मिठाइ पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु दूषित र कम गुणस्तरका पाइएका छन्।
शुक्रबार महानगरको कृषि तथा पशु सेवा विभागको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा मिठाइ पसलमा लापरबाही भेटिएको हो।
अनुगमन टोलीले ती मिठाइ पसलमा लेबल नराखिएका वस्तु बेच्न राखिएको, मिठाइ बनाउने सामानको गुणस्तर र सफाइमा ध्यान नदिएको जस्ता समस्या पाइएको जनाएको छ।

अनुगमन टोली सुन्धारास्थित गुलाब मिठार्इ पसलमा पुग्दा तिहारका लागि मिठाइ प्याकिङ गरेर दिइने बक्सहरु भुँइमा राखेर पट्याउने काम भइरहेको, कर्मचारीहरु भुँइमा पलेँटी कसेर बसेको र उनीहरुले जुत्ता लगाएका तर हातमा पञ्जा, शरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग नगरेको भेटिएको थियो।

अनुगमन टोलीले गुलाबको मिठार्इ बनाउने कामदारहरु खाली हातले लड्डु बनाइरहेको, छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको भेटेको थियो भने दुगड कम्पनीबाट उत्पादित १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्याकेट भेटेको थियो। भण्डार कोठामा आधा २६ केजी किरा परेको बसेन समेत भेटिएको अनुगममा सहभागी एक कर्मचारीले बताए।

अनुगमन टोलीले अनुगमनका क्रममा भेटिएका अखाद्य बेसनलाई फोहोरमा मिसाएर नष्ट गरेको थियो।
टोलीले सामान नष्ट गरिरहँदा सालिमार हस्पिटालिटी एण्ड फुड प्रडक्ट प्रा। लि। का व्यवस्थापनक भरत रावल, बिग्रिएका सामान आफूले प्रयोग नगरेको दाबी गरिरहेका थिए। गुलाब मिठाइ यसै फुड प्रडक्टको एउटा उत्पादन हो। गुलाबले बिक्रीका लागि तयार पारेका अन्य मिठाइमा उत्पादन भएको तथा म्याद सकिएको मिति र मूल्य राखेको ट्याग थिएन। टोलीले यी विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न र उत्पादन गर्दा सरसफाइमा ध्यान दिन सचेत गराएको छ।

त्यस्तै, त्रिपुरेश्वरस्थित बाग्मती स्वीटमा पनि सरसफाइमा लापरबाही र मिठाइमा ट्याग नभएको पाइउको छ। पसल सञ्चालन भएको ठाउँमा बिक्रीका लागि राखिएका तारेको आलुको प्याकेट र भुजियामा उत्पादित मिति नपाएपछि टोलीले १८ प्याकेट आलु जफत गरेको छ। उक्त पसलको भान्सा समेत फोहोर भेटिएको थियो। अनुगमन टोलीले विभिन्न कोठामा राखिएका मिठाइमध्ये भित्री कोठाको कुनामा राखिएको चमचम (गुलियो मिठाइ)मा साङ्ला भेटिएपछि करिब १० किलोग्राम मिठाइ नष्ट गरेको छ।

जनस्वास्थ्यमा गम्भीर समस्या सृजना हुन सक्ने खानेकुरा उत्पादन र बिक्री गर्नेमाथि नियमित निगरानी गर्ने महानगरको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए। उनले तिहारका समयमा बिक्री हुने दुधजन्य खाद्यवस्तु, सुख्खा प्याकिङ् गरिएका बदाम, काजु, किसमिसजस्ता प्याकिङ् फुड, तरकारी, फलफुल र फूलको बजारमा गुणस्तर र मुल्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताए।

यसरी गरिएको अनुगमनका क्रममा भेटिएका गल्ती गर्नेलाई खाद्य ऐन २०२३ को दफा ५(२) र ५(३) बमोजिम दुषित खानेकुरा बिक्री गर्ने तथा कम गुणस्तरका सामान उत्पादन गर्ने कसुरमा कारवाही अघि बढाइने अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए।

प्रतिक्रिया