विश्व बैंकको डुइङ बिजनेस र्यांकिङमा नेपालले प्रगति गरेको छ। अघिल्लो वर्षभन्दा १६ अंकले सुधार गर्दै नेपाल यो र्यांकिङमा ९४औँ स्थानमा आइपुगेको विश्व बैंक समूहले प्रकाशित गरेको २०२० को डुइङ बिजनेस रिपोर्टमा उल्लेख छ।
र्यांकिङ सुधारका बाबजुद दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत र भुटान रहेका छन्।
सन् २०१९ को रिपोर्टमा नेपाल ११०औँ स्थानमा रहेको थियो। गत वर्ष नेपालको स्कोर शून्य दशमलव ३२ अंकले ऋणात्मक रहँदा ५९.६३ रहेकोमा यस वर्ष नेपालले स्कोर बढाएर ६३.२ पुर्याएको छ। दक्षिण एसियामा भारत ६३औँ, भुटान ८९औँ, नेपाल ९४औँ, श्रीलंका ९९औँ, पाकिस्तान १०८औँ, माल्दिभ्स १४७औँ, बंगलादेश १६८औँ र अफगानिस्तान १७३औँ स्थानमा रहेका छन्।
गत वर्षको रिपोर्टमा भारत ७७औँ र भुटान ८१औँ स्थानमा रहेका थिए। विश्व बैंक समूहले हरेक वर्ष सदस्य देशको व्यावसायिक वातावरण हेरेर यो रिपोर्ट तयार गर्ने गर्छ। यसमा उच्च अंक ल्याउनुको मतलब राम्रो व्यावसायिक वातावरण छ भन्ने हुन्छ। यसका साथै उच्च अंक प्राप्त गर्ने देशमा व्यवसाय गर्न सजिलो, कानुनी झमेलारहित र सम्पत्ति अधिकारको बलियो संरक्षण छ भन्ने हुन्छ। विभिन्न देशमा गएर अध्ययन÷अनुसन्धान गरेपछि यो रिपोर्ट तयार हुन्छ। यसमा विज्ञहरुको राय समेत लिइन्छ।
यो वर्षको रिपोर्ट सन् २०१९ को मे १ सम्मको अवधिको अवस्थालाई लिएर तयार पारिएको हो। १० वटा शीर्षकका लागि यस्तो स्कोर एकीकृत रुपमा दिइन्छ।

प्रतिक्रिया