सरकारले उद्योगीलाई खाजादेखि आरामदायी बस्नेसम्मकाे सुविधा दिने भएकाे छ। उद्योग विभागले सेवा लिन विभाग आउने उद्योगीलाई लक्षित गरेर ‘इन्भेस्टर फ्यासिलिटी सेन्टर’ सञ्चालनमा ल्याउन लागेकाे विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले जानकारी दिएका हुन्। उक्त सेन्टर दुई/तीन दिनमै सुरु हुने उनले बताए।
सेन्टरमा आरामदायी बस्ने ठाउँकाे व्यवस्था तथा चिया खाजाको समेत प्रबन्ध हुनेछ। महानिर्देशक सिटौलाले नेपालखबरसँग भने, ‘विदेशतिर यस्ता सेवासुविधा दिएका देखेका छौं। लगानीकर्ता अर्थात् उद्योगी व्यवसायीहरुको लगानीबाट नै देशको विकास भइरहेकोले उनीहरुलाई राम्रो व्यवहार गर्नसके उनीहरुको आत्मबल पनि राम्रो भएर लगानी बढाउन पनि उत्प्रेरित हुन्छन् भन्ने उद्देश्यले यस्तो सेवा सुरु गर्न लागिएको हो।’
उद्योगीलाई झण्झट नहोस् भनेर एकल विन्दु सेवाको पनि सुरु भइसकेको छ। त्यसले उद्योगी व्यवसायी अर्थात् लगानीकर्ताहरुहरु जो विदेशी पनि हुनसक्छन् वा स्वदेशी पनि हुनसक्छन्, उनीहरुमा सकारात्मक सन्देश जाने उनले बताए।
गत जेठदेखि सुरु भएको एकल विन्दु सेवा केन्द्रले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा अन्य प्रचलित कानुनबमोजिम उद्योग वा लगानीकर्ताले पाउने सेवा, छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट उपलब्ध गराइरहेको छ।
सरकारका विभिन्न निकायबाट सम्पादन गर्ने कार्यहरु समयभित्रै एकै स्थलबाट गर्ने तथा उद्योग स्थापनाको अनुमति, दर्ता, विस्तारदेखि निर्गमन (एक्जिट)सम्मका उद्योग प्रशासनसम्बन्धी सेवा केन्द्रबाट प्रवाह गरिएको छ।
केन्द्रमा उद्योग दर्ता, विदेशी विनिमय सहजीकरण, प्रवेशाज्ञा सहजीकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजस्व र प्रशासन तथा कानुन एकाइ रहेका छन्।

प्रतिक्रिया