राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका आरबीबी मोबाइल बैंकिङको प्रवद्र्धनको लागि सञ्चालन भईरहेकोे आरबीबी मोबाइल बैंकिङ महामेलामा छनौट भएका पाँच जनालाई पुरस्कार प्रदान गरिएको छ।
गत भाद्र १८ देखि असोज ३० गतेसम्म एफवान सफ्टको सहकार्यमा भएको महामेलामा करिब ७३ हजार कारोबारबाट ति पाँचजना छनौट भएका हुन्। उनीहरुलाई आइतबार एक समारोहबीच पुरस्कार वितरण प्रदान गरियो।
सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन्। विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे। हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन्।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले रा.वा. बैंकले विभिन्न युवा लक्षित कार्यक्रम मार्फत युवा ग्राहकहरुलाई बैंकमा आकर्षण गर्न खोजिरहेको बताए। एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रा.वा. बैंकसँग सन् २००९ देखि मोबाइल बैंकिङ्गमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउँदै रा.वा. बैंकको मोबाइल बैंकिङ्गले समाजमा मोबाइल बैंकिङ्गको आवश्यकता सृजना गराएको बिचार ब्यक्त गरे। कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु रिको स्थापित, कमलेश ठाकुर, सरोज बस्नेत लगायत बैंकका कर्मचारीहरु र एफवान सफ्टका अनिल रत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो।
बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ। बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ। बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ।

प्रतिक्रिया