नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन्।
महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पद बहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ। आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ।
मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाई र नवनियुक्त सचिवको स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए। अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरे।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई मनन गर्न निर्देशन दिए।
‘मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन। अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ’ मन्त्री शर्माले भने, ‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’

कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रबर्द्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे।
कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरू विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे। कोभिड महामारीकै बिच राजश्व संकलनको लक्ष ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण बृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात बृद्धि भएको लगायतका सकारात्मक परिसूचकहरूसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए।
Shares

प्रतिक्रिया