नेपालले चालू आर्थिक वर्षको १० महिनामा ११ खर्बको व्यापारघाटा व्यहोरेको छ। चालू आवको १० महिनामा कुल वस्तु व्यापार घाटा १९.७ प्रतिशतले विस्तार भई १०९९ अर्ब ६० करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.८ प्रतिशत रहेको थियो।
चालू आवमा नेपालले ७८ अर्ब ५३ करोडको वस्तुनिर्यात गरेको छ, जुन १८.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा ९ प्रतिशतले निर्यात बढेको थियो। त्यस्तै सोही अवधिमा नेपालले ११ खर्ब ७८ अर्बको वस्तु आयात गरेको छ। जुन १९.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो।
कुन देशसँग कति आयात कति निर्यात?
नेपालले यस अवधिमा भारततर्फ ३१.९ प्रतिशत र अन्य मुलुकतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ। चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ। वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ।
त्यस्तै वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १७।२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेक अन्य मुख्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ।
निर्यात आयात मूल्य सूचकाङ्क
२०७६ वैशाख महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा २।२ प्रतिशत र आयात मूल्य सूचकाङ्क ३।७ प्रतिशतले बढेको छ । २०७५ वैशाख महिनामा ५ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा १.४ प्रतिशतले घटेको छ।
खुद सेवा आय पनि घाटामा
समीक्षा अवधिमा खुद सेवा आय ९ अर्ब ४६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४० करोडले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ११ प्रतिशतले वृद्धि भई ६३ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ५७ अर्ब रहेको थियो।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा पर्यटन व्यय १४.७ प्रतिशतले वृद्धि भई ७३ अर्ब ६५ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको खर्च ३७ अर्ब ६७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पर्यटन व्यय ६४ अर्ब २१ करोड रहेको थियो।

प्रतिक्रिया