ad ad

कारोबार


सरकारी खर्च दैनिक १० अर्ब हुनथाल्यो, बैंकमा एक हप्तामै ४७ अर्ब जम्मा

सरकारी खर्च दैनिक १० अर्ब हुनथाल्यो, बैंकमा एक हप्तामै ४७ अर्ब जम्मा

नेपालखबर
असार २२, २०७८ मंगलबार १८:२८,

सरकारी खर्च बढ्दा पछिल्लो समय देखिएको तरलता अभाव साम्यजस्तै भएको छ। 

असारमा सरकारी भुक्तानी बढी हुने हुँदा पछिल्लो समय बजारमा देखिएको लगानीयोग्य रकमको अभाव यसले धानेको हो। 

असारको सुरुमा बैंकमा तरलतामा अभाव देखिन थालिसकेको थियो। बैंकहरुले निक्षेपलाई आकर्षण गर्नको लागि नै ब्याजदर नै बढाएका थिए। 

तर अहिले सरकारी खर्च बढेको छ। असार आफैँमा सरकारी भुक्तानी बढी हुने महिना हो। 

सरकारको पहिले नै पूरा भएको आयोजनाहरुको समेत यही महिना हिसाबमिलान हुन्छ। त्यसकारणले यो महिना सरकारको खर्च आँकडामा उच्च देखिन्छ। 

अहिले हरेक दिन १० अर्ब रुपैयाँको हाराहारीमा सरकारी खर्च हुनथालेको छ। असार अन्त्य हुँदै गर्दा दिनप्रतिदिन सरकारी खर्च बढेको देखिन्छ।  

जसकारण अहिले बैंकहरुमा समेत निक्षेप बढिरहेको छ। 

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक सातामा नै बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको हो। 

बैंक तथा वित्तीय संस्थाहरुको अघिल्लो साता ३९ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा अहिले निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघले जानकारी दिएको छ। 

संघले १८ गतेसम्मको मात्रै तथ्यांक सार्वजनिक गरेको हो। यसअनुसार १२ गतेदेखि १८ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ४७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ। 

त्यसपछि सरकारको खर्च अझै तीव्र रुपले बढिरहेको छ। आइतबार अर्थात् २० गते सरकारले ९ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको छ। 

सोमबार मात्र ११ खर्ब रुपैयाँ खर्च गरेको गरेको तथ्याङ्क महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ। यसअनुसार अझै सरकारको खर्च बढ्ने संकेत देखिएको छ। 

सरकारले आफूले गर्ने खर्चको लक्ष्यको जम्मा ७१ प्रतिशत मात्रै खर्च भएको छ। 

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। 

तर अहिलेसम्म १० खर्ब ४८ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। त्यस्तै राजस्वको लक्ष्य भने सरकारले पूरा गर्ने संकेत देखाएको छ। 
 
राजस्वको लक्ष्यमा ५ प्रतिशत संकलन भइसकेको छ। १० खर्ब ११ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ८ खर्ब ५ अर्ब रुपैयाँ संकलन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .