ad ad

कारोबार


नेपाल–भारत रेलसेवा सम्झौता संशोधनः पूरा हुँदै १२ वर्षदेखिको नेपालकाे माग

नेपाल–भारत रेलसेवा सम्झौता संशोधनः पूरा हुँदै १२ वर्षदेखिको नेपालकाे माग

दीपक भट्ट
असार १८, २०७८ शुक्रबार १८:४१,

नेपालले १२ वर्षदेखि राख्दै आएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको माग पूरा हुने भएको छ। नेपालले लामो समययता दुई देशबीच विद्यमान रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएको थियो।

संशोधनको लागि भारत सरकारसँग एलओई (लेटर अफ एक्सचेन्ज)को प्रक्रिया सुरु भइसकेको छ। नेपालले एलओई भारत पठाएको र त्यसमा भारत सरकार सकारात्मक देखिएको छ।

सन् २००४ मा नेपाल–भारत रेलसेवा सम्झौता भएको थियो।

त्यसका कतिपय प्रावधानमा नेपालले संशोधनको लागि सन् २००९ सालदेखि नै माग राख्दै आएको छ।

विशेषगरी यो सम्झौतामा भारतीय कन्टेनर निगम लिमिटेडका रेलले मात्रै ढुवानी सेवा दिइने उल्लेख छ। यसबाहेक कोलकाताको हल्दिया पोर्टबाट वीरगन्जसम्म मात्रै रेलवे ढुवानी सेवा हुने उल्लेख छ।
त्यसलाई संशोधन गर्नुपर्ने नेपालको माग छ।

त्यसो त संशोधनको लागि २००९ मा र सन् २०१२ मा पनि छलफल भएको थियो। तर सहमति हुन सकेन।

सन् २०१६ मा भएको द्विपक्षीय छलफलमा अन्य कुरामा सहमति नजुटे पनि नेपालले भारतको हल्दिया पोर्ट मात्रै नभई विशाखापटनम पोर्टको पहुँच पनि पाउने भयो।

नेपालले सोही समयमा भारतका निजी कार्गो रेलबाट पनि सेवा दिन माग गरेको थियो। तर भारतीय पक्षले सहमति जनाउन सकेन।

तर नेपाली पक्षले त्यो माग छोडेन। सोही क्रममा सन् २०१९ मा द्विपक्षीय छलफल हुँदा सम्झौता संशोधन गर्ने सहमति भयो। तर अझै विषय टुंगिएन।

अनौपचारिक रुपमा सहमति जनाएको भारतलाई औपचारिक रुपमा सहमत गराउन अहिले नेपाल सफल भएको हो। सोहीअनुसार एलओआई नेपालले भारत पठाएको हो।

आगामी आइतबार तथा सोमबार भारतीय पक्षले नेपालको मागमा औपचारिक सहमति जनाउन सक्ने विश्वास उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिएको छ।

मन्त्रालयका अनुसार यो नेपालको इतिहासमा नै ठूलो उपलब्धि हुनेछ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले भने, ‘सन् २००९ सालदेखि नेपालले माग गर्दै आएको विषय अहिले पूरा हुनलागेको अवस्था छ। हामीले अस्ति (गत मंगलबार) प्रस्ताव पठाइसकेका छौँ। त्यसमा भारत पूर्ण रुपले सकारात्मक देखिएको छ।’

त्यसकारणले पनि नेपालको समग्र आर्थिक क्षेत्रको लागि नै यो ठूलो उपलब्धि हुने उनको भनाइ छ।

के छ नेपालले गरेको प्रस्ताव?
नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेलसेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्न अहिले विद्यमान नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि प्रस्ताव गरिएको हो।

सन् २००४ मा भएको रेलसेवा सम्झौतामा भारतको सरकारीस्तरको रेलले मात्रै ढुवानी सेवा उपलब्ध गराउन सकिने कुरा उल्लेख छ। यो भनेको भारतीय कन्टेनर निगम लिमिटेडले उपलब्ध गराउँदै आएको रेल ढुवानी सेवामात्रै हो।

अहिले नेपालले गरेको प्रस्तावअनुसार भारतमा रेलसेवा उपलब्ध गराइरहेका सबै अनुमति प्राप्त कार्गो रेल अपरेटरहरुले नेपालको पारवहनका लागि हुने ढुवानीका सेवा दिन सक्नेछन्।

सम्झौता संशोधनसँगै भारतीय रेलसेवा सञ्चालनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर तथा वागनहरु नेपालको लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ भने निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभ (अगाडि इन्जिन भएका रेल) बाट समेत नेपालमा लक्षित ढुवानी हुनेछ।

त्यस्तैगरी नेपाललक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कलकत्ता, हल्दियासम्म रेलसेवा सक्ने गरी प्रस्ताव गरिएको छ।

साथै हाल नेपालको वीरगन्जसम्म रेलसेवा उपलब्ध भएकोमा विराटनर भैरहवा, इनरुवामा रेल पूर्वाधार तयार भएपश्चात् रेल सेवा उपलब्ध गराउने माग गरिएको छ।

साथै नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने गरी प्रस्ताव गरिएको छ।

नेपालमा हुने आयातनिर्यातका लागि रेलसेवामा लाग्ने सेवाशुल्क हाल अग्रिम रुपमा कोलकातामा तिर्नुपर्ने व्यवस्था रहेकोमा नेपाली वाणिज्य बैंकमार्फत सोझै भुक्तानी दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

यो व्यवस्था नहुँदा भौतिक उपस्थितिमा नेपाली व्यापारीहरुले रेल सेवा शुल्क कोलकातामा तिर्नुपर्ने बाध्यता छ।

रेलसेवा सम्झौता संशोधन यस्ता विषयमा धेरै पटक छलफल गरी लेटर अफ एक्सचेन्ज भएकोले आइतबार तथा सोमबार भारतले पनि आफ्नो हस्ताक्षरसहित नेपाललाई लेटर अफ एक्सचेन्ज पठाउने वाणिज्य सचिव भट्टराईको भनाइ छ।

यो विषयमा पनि नेपालको निजी क्षेत्रले पनि स्वागत गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा महासंघले लामो समयदेखि उठाएको मागबमोजिम भारतसँगको रेलसेवा सम्झौतामा भएको संशोधन हुनलागेको बताउँछन्।

उनले भने, ‘खुला रूपमा अन्य रेल सेवाले पनि भारतीय समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउँदा यसले लागत घटाउनेछ। नेपाल सरकारको यो पहल स्वागतयोग्य छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .