ad ad

कारोबार


हिमालयन–इन्भेस्टमेन्ट बैंकको दोस्रो डीडीए सम्पन्न, दसैँसम्म मर्ज

हिमालयन–इन्भेस्टमेन्ट बैंकको दोस्रो डीडीए सम्पन्न, दसैँसम्म मर्ज

दीपक भट्ट
असार १८, २०७८ शुक्रबार १८:३६,

दुई वाणिज्य बैंकहरु हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया आगामी दसैँसम्म सम्पन्न हुने भएको छ।

चालू आर्थिक वर्षको अन्त्यसम्म मर्जरको प्रक्रिया सकिने बताइए पनि कोरोना प्रभाव र अडिटमा समय लागेको भन्दै असोज अन्त्यसम्म मर्जर सकिने गरी प्रक्रिया अघि बढाइएको हो।

यसअनुसार अहिले मर्जरको लागि हुनुपर्ने दोस्रो चरणको डीडीए (सम्पत्ति तथा दायित्व मूल्याङ्कन) समेत सम्पन्न भएको छ।

यी दुई बैंकबीच वैशाख अन्तिममा मर्जर सम्झौता भएको थियो।

मर्जरको प्रमुख आधार मानिने डीडीए समेत तयार भएकोले अब एक हुने प्रक्रिया अघि बढ्ने हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले जानकारी दिए।

राणा मर्जपछि बन्ने ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’का पनि सीईओ रहने सहमति भइसकेको छ।

उनले भने, ‘डीडीए रिपोर्ट तयार भइसकेको छ। अब हामी अन्य प्रक्रिया सुरु गर्छौँ।’

हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकले वैशाख ३० मा मर्जर सम्झौता हुँदा सेयर स्वामित्व अर्थात् स्वाप रेसियो १ः१ रहने उल्लेख थियो।

अघिल्लो पटक अर्थात् मर्जको छलफल हुँदा समेत डीडीए भएको थियो। त्यसमा पनि स्वाप रेसियो १ः१ नै गर्न सकिने गरी रिपोर्ट आएको थियो।

मर्जरको छलफलका लागि सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्दा त्यसबेला पनि कुन बैंकको सेयर स्वामित्व कस्तो अवस्थामा ग्रहण गर्न सकिन्छ भनेर प्रमुख विषय उठेको थियो।

हालसम्म बैंकहरुको मर्जरसम्बनधी डीडीए नेपाली कम्पनीले गरेको थिएन।

तर हिमालयन र इन्भेस्टमेन्ट बैंकले भने नेपाली कम्पनीमार्फत डीडीए गराए। शशिन सत्यालको टीआर उपाध्याय एकाउन्टिङ फर्मले दुई बैंकको डीडीए गरेको हो।

उक्त रिपोर्टअनुसार हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेस्टमेन्टको १०० रुपैयाँ हुने देखिएको छ।

त्यस्तै, १० प्रतिशतसम्म तलमाथि परेको खण्डमा समेत १ः१को स्वाप रेसियोमा जान सकिने सहमति भएकोले यसले कुनै विवाद समेत छैन।

वैशाख ३० मा मर्जर सम्झौता भएपछि अहिले पुनः भएको डीडीएले पनि १ः१ को स्वाप रेसियोमा नै मर्जमा जान सकिने रिपोर्ट आएको सीईओ राणाले स्पष्ट पारे।

यी हुन् मर्जरका बाँकी प्रक्रिया
सीईओ राणाका अनुसार दुवै बैंकले अहिले कुरिरहेको विषयचाहिँ एक्स्टर्नल (बाह्य) अडिट हो।

करको विषयमा भएको यो अडिट दुवै बैंकहरुले कुरिरहेका छन्। करको अडिटको विषयको कारणले नै चालू आवको अन्त्यमा सकिने भनिए पनि मर्जर सम्झौता पछि सरेको हो।

यो अडिट बनेपछि मर्जरको प्रस्ताव राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

त्यो प्रस्ताव राष्ट्र बैंकले पास गरेको खण्डमा २१ दिनको समय राखी साधारणसभा हुनुपर्छ।

त्यसबाट पारित भएपछि औपचारिक रुपमा मर्जरको प्रक्रिया पूरा गर्न सकिन्छ।

राणाले भने, ‘हामी ठ्याक्कै दसैँको समयमा मर्ज गर्ने गरी अघि बढेका छौँ। दसैँमा केही दिन विदा हुन्छ। त्यसकारणले कि दसैँअघि कि दसैँलगत्तै सम्पन्न हुन्छ।’

मर्जरपछि हिमालयन बैंकका इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पृथ्वीबहादुर पाँडे अध्यक्ष नै रहनेछन्।

त्यस्तै, सीईओमा अशोक राणा र डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकमा हाल सीईओ रहेका ज्योतिप्रकाश पाण्डे रहने सहमति भएको छ।

दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्नेछ भने उक्त बैंक नेपालको वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो समेत हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .