Draft


सी चेन्नइबाट काठमाडौं उत्रिँदा राष्ट्रपतिले गर्नेछिन् स्वागत

सी चेन्नइबाट काठमाडौं उत्रिँदा राष्ट्रपतिले गर्नेछिन् स्वागत

चन्द्रलाल गिरी
असोज १६, २०७६ बिहिबार १२:३२,

चिनियाँ राष्ट्रपति सी चिनफिङ दक्षिण भारतको तमिलनाडु राज्यको तटीय शहर ममल्लिपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेपछि असोज २५ गते सिधै काठमाडौं आउने निश्चित भएको छ।

असोज २४ गते ममल्लिपुरममा मोदीले सीलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ।

यता नेपालमा भने राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्नेछिन्।

दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुबैले विमानस्थलमा स्वागत गरेका थिए भने एक दिन राष्ट्रिय बिदा पनि दिइएको थियो।

यसपाली राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री ओली पनि सीलाई स्वागत गर्न विमानस्थल जाने बुझिएको छ।

२३ वर्षपछि चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने लागेका हुन्। राष्ट्रपति सीको यो पहिलो नेपाल भ्रमण हो।

गृहमन्त्रालयसम्वद्ध स्रोतका अनुसार नेपालमा बल्ल राष्ट्रपति सीको भ्रमण भारतपछि वा अघि भन्ने दुविधा पनि हटेको छ।

‘सी भारत भ्रमणपछि चेन्नइबाट सिधै काठमाडौंका लागि उड्ने टुंगो लागेको छ’, गृहमन्त्रालय सम्वद्ध स्रोत भन्छ, ‘नेपालको अनुरोधपछि एक रात काठमाडौंमै बस्ने गरी असोज २५ र २६ गते सीले नेपाल भ्रमण गर्नुहुनेछ।’

यसअघि राष्ट्रपति सीको नेपाल भ्रमण नौ घण्टाका लागि वा एक रात बस्ने गरी दुई दिने हुने भन्ने दुबै मोडलमा कुरा हुँदै आएको थियो।

‘असोज २४ र २५ गते मोदी र सी ममल्लिपुरममा डुंगामा सयर गर्दै वाार्ता गर्ने तयारी छ, सी चेन्नइ विमानस्थलबाट असोज २५ गते काठमाडौं आउने छन्’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

यसअघि सीको भारत भ्रमण असोज २४ देखि २६ गते हुने कार्यतालिका थियो। हाल सीको भारत भ्रमणको कार्यतालिका एक दिन घटाएर दुई दिनको मात्र तय गरिएसँगै नेपाल भ्रमणको मिति पनि टुंगो लागेको स्रोतले जनायो।

दुई वर्षअघि भारत र चीनबीच सिक्किम र भुटानको सीमानजिकै दोक्लाममा सैन्य मुठभेडको अवस्था आएपछि चीनको रमणीय शहर उहानमा दुई नेताबीच डुंगामा सयर गर्दै अनौपचारिक वार्ता भएको थियो। सो वार्ताले ७३ दिन लामो दोक्लामको मुठभेडलाई मात्र मत्थर गरेन, एशियाली युगका लागि दुबै देश सहकार्य गर्न तयार भएको सन्देश पनि दियो।

उहान वार्ताकै दोस्रो संस्करणका रुपमा सी र मोदीबीच हिन्द महासागरको तटीय नगर ममल्लिपुरममा वार्ता हुन लागेको हो। ममिल्लपुरम चेन्नइ विमानस्थलबाट ४० किलोमिटर दक्षिण बंगालको खाडीमा अवस्थित सुन्दर नगर हो।

भारतको दुई दिने भ्रमण अघि सीले पाकस्तिानी प्रधानमन्त्री इमरान खानसँग असोज २१ गते बेइजिङमा भेटवार्ता गर्ने तय भएको छ। भारतले कश्मीरमा चालेको कदमपछि भारत–पाकिस्तान र चीन–भारतबीच सम्बन्धमा तिक्तता आएको अवस्थामा ममल्लिपुरममा सी र मोदीबीच वार्ता हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad