Draft


कुरा फेर्दै रोशनीले भनिनः महरा सर त मेरो बाउ समान हो

कुरा फेर्दै रोशनीले भनिनः महरा सर त मेरो बाउ समान हो

नेपालखबर
असोज १४, २०७६ मंगलबार १५:३७,

यौन दुराचार गरेको आरोप लगाएर कृष्णबहादुर महरालाई सभामुख पदबाट राजिनामा दिन बाध्य पारेकी महिलाले २४ घण्टापछि नै कुरा फेरेकी छन्।

आइतबार साँझ महरा रक्सी पिएर आफ्नो कोठामा आएर यौन दुराचार र कुटपीट समेत गरेको आरोप लगाएकी महिलाले त्यसको करिब २४ घण्टापछि मंगलबार कुरा फेरेकी हुन्।

उनले मंगलबार कुरा फेर्दै ‘महरा सर आफु बस्ने कोठामा नआएको र आफ्नो बाबु समानको व्यक्तिले यौन दुराचार गरेको प्रचार गरेर सुनियोजित तरिकाले पदच्युत गर्न खोजिएको’ दाबी गरेकी छन्।

सोमबार हाम्राकुरा अनलाइनसँग मुख नदेखाउने गरि भिडियो कुराकानीमा महरामाथि यौन दुराचारको आरोप लगाएकी महिलाले मंगलबार नागरिकखबर अनलाइनसँगको भिडियो कुराकानीमा आफुलाई सार्वजनिक रुपमा प्रस्तुत गर्दै आफ्नै भनाइको खण्डन गरेकी हुन्।

रोशनी शाही नाम गरेकी ती महिलाले मंगलबार आफु संसद सचिवालयमा नर्सका रुपमा कार्यरत रहेको र समायोजन अन्तर्गत राजधानी बाहिर पठाउन लागिएपछि महरासँग यहीँ थमौती गर्न सहयोग गर्न आग्रह गर्ने क्रममा झगडा भएको बताएकी छन्।

यद्यपी दुई भिडियोमा बोल्ने महिला एउटै हुन कि होइनन् भन्ने प्रश्न पनि उठेको छ।

रोशनीले भिडियोमा आइतबार महरा आफु बस्ने कोठामा नआएको र त्यस्तो केही दुव्र्यवहार पनि नभएको दाबी गरेकी छन्।

‘उहाँ मेरो बाउ समानको मान्छे हो, उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन’, रोशनीले भनेकी छन्, ‘मैले रिस उठेको बेलामा के के भनें यी सब निराधार हुन्। त्यसमा कोही पनि भ्रममा नपर्नु होला।’

आइतबार साँझ यौन दुराचारको घटना भएपछि प्रहरीलाई फोन गरेर कोठामा बोलाएकी रोशनीले सोमबार सञ्चारकर्मीसँग भिडियो वार्ता गरी धेरै कुरा खोलेकी थिइन्। त्यसपछि सार्वजनिक दबाब बढेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्देशन अनुसार महराले सभामुख पदबाट राजिनामा दिएका थिए।

नेकपा सम्वद्ध स्रोतहरूका अनुसार घटना जे जस्तो भएको भएपनि मिलाउने प्रयास भइरहेको थियो। रोशनीका श्रीमानले मंगलबार नेपालखबरसँग आफुले पटक पटक फोनमा महरासँग कुरा गरेको र उनबाट यौन दुराचारको प्रयास हुनसक्छ भनेर कल्पना पनि गर्न नसक्ने बताएर मिलापको संकेत गरेका थिए।

अर्कोतिर रोशनीले पहिले यौन दुराचारको आरोप लगाएपनि स्वस्थ्य परिक्षण गर्न नमानेको र प्रहरीलाई अनुसन्धान प्रक्रिया सहज बनाउन लिखित जाहेरी दिन पनि आलटाल गरेबाट उनी पछि हटेको संकेत मिलेको थियो।

घटना मिलाउने प्रयास अन्तर्गत नै मंगलबार दिउँसो उनले कुरा फेरेर अर्को भिडियो अन्तर्वार्ता दिएको धेरैले अनुमान गरेका छन्।

‘पछिल्लो समय मलाई कर्मचारी समायोजन नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो। त्यही झोंकमा मैले के के भनें ती सबै गलत हुन्’, रोशनीले भनेकी छन्, ‘महरा सरले फोन त गर्नुभएको हो। उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन, चिकित्सकदेखि सबैको समायोजन म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो।’

रोशनीले भिडियोमा राजनीतिक कुरा पनि गरेकी छन्।

‘सुनियोजित रुपमा महरा सरलाई पदच्युत गरेर आफु त्यसमा स्थापित हुन खोजेको माहोल देखें’, उनले भनेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .