Draft


ओलीले गरेको ‘कु’ २०१७ सालमा महेन्द्र र ०६१ मा ज्ञानेन्द्रले गरे जस्तै : भट्टराई

ओलीले गरेको ‘कु’ २०१७ सालमा महेन्द्र र ०६१ मा ज्ञानेन्द्रले गरे जस्तै : भट्टराई

नेपालखबर
पुस २२, २०७७ बुधबार १२:११,

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै कू गरेको बताएका छन्।

नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको अन्तर पार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभई संविधान र व्यवस्था माथिको कू गरेको बताएका हुन्। प्रधानमन्त्री ओलीले गरेको कू २०१७ सालमा राजा महेन्द्र र २०६०/६१मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको बताए।

उनले भने, ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते यो समान्य होइन। मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले जुन कू गरे र ६०/६१ सालमा राजा ज्ञानेन्द्रले जुन कू गरे त्यसैको हाराहारिको यो कू हो। संवैधानिक कू होइन। त्यो त संविधान अन्तर्गत हुन्छ। संविधान माथिको कू हो। व्यवस्था माथिको कू हो। त्यसो हुनाले यसलाई सामान्य अर्थमा लिने गल्ती कसैलेपनि नगरौं।’

प्रधानमन्त्रीले संसद विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताए।

उनले भने, ‘नियोजित ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरेर यसलाई उल्ट्याएर फेरि विभिन्न शक्तिहरु भित्रि र बाहिरी शक्तिहरु छन् जसले नेपालको परिवर्तन रुचाएका छैनन् जसले यहाँको अस्थिरतामा खेल्न चाहिराखेका छन् त्यसको मतियार बनेर केपी शर्मा ओलीले यो कदम चाल्नु भएको हो।’

कुनैपनि व्यक्तिले लहडमा प्रतिनिधि सभा विघटन गर्नै नसक्ने समेत बताए। अन्तर्राष्ट्रिय परम्परामा संसद विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद विघटन गर्न नपाइने समेत बताए।

प्रधानमन्त्रीले कुनैपनि बेला संसद विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको बताए। अहिलेको अवस्थामा कुनैपनि तरिकाबाट संसद विघटन हुनै नसक्ने बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाई बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे। अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भंग हुने भयो भने देशमा राष्ट्रिय स्वाधिनतामाथि खतरा आउन सक्ने बताए। प्रतिनिधिसभा पुनर्स्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्ने तर भर पर्न नहुने पनि भट्टराईले बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको टिप्पणी समेत गरेका छन्। उनले ओलीले झापा आन्दोलनमा राम्रो काम गरेपनि पछि जेलबाट निस्किएर आएपछि अग्रगमनको विरोधी बनेर आएको बताए। आफ्नो प्रवृति नलुकाइकन व्यवस्था माथि आक्रमण गरिरहेकाले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको आरोप समेत भट्टराईले लगाए। नेकपाका नेताहरुले अहिलेसम्म ओलीलाई कसरी बोकेर ल्याए अफूलाई अचम्म लागेको पनि बताए।

चुनावमा जाँदा लाभ हुन्छ भनेर कांग्रेस र जसपाले मुख मिठ्याएर बस्न नहुने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए। पार्टीहरु बीचको संयुक्त आन्दोलन नहुँदासम्म अहिलेको कदमलाई सच्याउन नसकिने पनि बताए। तर संयुक्त आन्दोलनका लागि ओलीबाट छुट्टिएर आएका नेकपाका नेताहरुमाथि आशंका भएकाले संयुक्त आन्दोलन हुन नसकेको पनि बताए। कुनैपनि बेला नेकपाका नेताहरु फेरि ओलीसँग मिल्न सक्ने सम्भावना भएकाले संयुक्त आन्दोलनमा जान समस्या रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad