वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुर्ववत् सहमतिअनुसार अघि बढ्न आग्रह गरेपछि बुधबारको नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ।
सो बैठकले बिहीबार बस्ने भनिएको स्थायी समितिको बैठकको एजेण्डा समेत तय गर्न नसकेपछि बैठक नै स्थगित गरिएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बैशाख २० गतेको सचिवालय बैठकको स्प्रिटअनुसार नै अगाडि बढ्नुपर्ने र एकव्यक्ति एक जिम्मेवारीको सहमति कार्यान्वयन गर्नुपर्नेमा नेता नेपाल र उपाध्यक्ष गौतमले जोड दिएपछि प्रधानमन्त्री ओली बीचमै बैठकस्थल छाडेर बाहिरिएका थिए।
स्रोतका अनुसार नेपाल र गौतमले धारणा राखेपछि प्रधानमन्त्री ओलीले मलाई टाउको दुख्यो, म थाकेँ आराम गर्छु, भनेर बैठकबाट बाहिरिएका थिए।
सचिवालय बैठकमा उनी १५ मिनेटजति मात्रै बसेका थिए।
‘प्रधानमन्त्रीले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गर्नुभएको छ,’ बैठकमा गौतमको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘अहिलेको अवस्थामा यसरी हुँदैन, आत्मलोचनाको भावनाअनुसार अगाडि बढ्नैपर्छ।’
त्यसपछि वरिष्ठ नेता माधव नेपालले पनि पुर्वसहमति पालना गराउन प्रधानमन्त्रीले आनाकानी गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका थिए।
‘एक व्यक्ति एक जिम्मेवारीमा सहमति गर्ने अनि त्यसलाई पालना नगर्ने किन भइरहेको छ,’ सचिवालयका ती सदस्यले नेपालको भनाई उद्धृत गरे, ‘स्थायी समिति बैठक टार्न पनि उहाँले जोड गर्नुभएकै हो, कहिले को नेता बोलाएर त कहिले को नेता भुल्याएर, नेतृत्वबाट यस्तो व्यवहार राम्रो भएन।’
प्रधानमन्त्री बैठक छोडेर हिडेपछि नेपालले ओली यसअघि सचिवालय बैठकमा भएको सहमतिको स्प्रिटबाट भाग्नु खोजेको बताउँदै त्यसो गर्नुलाई दुखद भनेका थिए।
बैठकमा प्रधानमन्त्री ओलीले आफू थाकेको बताएपछि कुनै निर्णय नगरिएको वरिष्ठ नेता झलनाथ खनालले नेपालखबरलाई बताए।
बैठक सुरु भएको १५ मिनेटमै प्रधानमन्त्री ओली बैठककक्षबाट बाहिरिएको उनले बताए। स्थायी समितिको बैठकको विषयमा कुृरा नै हुन नपाएको खनालले जानकारी दिए।
‘आज केही पनि भएन, प्रधानमन्त्री थाकेँ भनेर बैठक छाडेर हिँड्नुभयो, उहाँलाई हामीले एकछिन पर्खियौं,’ खनालले नेपालखबरसँग भने, ‘आधा घण्टाभन्दा बढी समय पर्खँदा पनि प्रधानमन्त्री आउनुभएन, भोलिको स्थायी समितिको बैठकमा के एजेण्डा लैजाने भन्नेबारेमा दुई अध्यक्षलाई निर्णय गर्ने जिम्मेवारी दिएर हामी पनि हिड्यौं।’
बैशाख २० गते बसेको सचिवालय बैठकमा ओलीले आत्मालोचना गरेका थिए। सोहि बैठकमा उनले सहमतिका साथ एकताबद्ध भएर आफू अघि बढ्न तयार रहेको बताएका थिए।
तर, सो बैठकको निर्णयको स्प्रिटलाई पालना गर्न उहाँले अनिच्छा देखाएको भन्दै सचिवालय बैठकमा नेता नेपालले सो विषयको उठान गरेका थिए।
‘अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्मालोचना गर्दै सहमतिमा जाने जुन निर्णय भएको थियो, आजको बैठकमा त्यसबाट पछि हटेको देखियो,’ अर्का सचिवालय सदस्यले भने, ‘उहाँ आफ्नै प्रस्ताव र निर्णयबाट पनि भागेको रुपमा हामीले बुझेका छौं।’
खनालका अनुसार ओलीले बैठकको सुरुमै म आज थाकेको छु, जान्छु भनेका थिए। ‘छिटै हिंड्नुभयो, सके केहीबेरमा आउछु भन्नुभयो, तर आउनुभएन, उहाँलाई कुरुन्जेल हामीले पार्टीका बारेमा छलफल गरेर बस्यौं’ खनालले भने।
सचिवालयका बहुमत सदस्यले स्थायी समितिको बैठक राख्नै पर्ने भनी अर्का अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन्।
‘अध्यक्ष प्रचण्ड र अन्य सदस्यहरुको स्थायी समिति बैठक राखेर सबै समस्या टुंगो लगाउनुपर्छ भन्ने माग यथावत छ,’ एक सचिवालय सदस्यले भने।
सचिवालयका अर्का एक सदस्यका अनुसार सचिवालयको बैठकमा कुनै एजेण्डाबारेमा छलफल नै भएको थिएन।
प्रधानमन्त्री ओली आफू बोलेर हिडेपछि प्रचण्ड र अन्य सदस्यबीच केहीबेर छलफल भएको थियो।
स्थायी समितिको बैठकको मिति तोकेपछि त्यसको एजेण्डा तय गर्न अन्य सदस्यहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए।
‘त्यसपछि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न जानुभयो,’ खनालले थपे।
उता प्रधानमन्त्री ओलीसँग कुनै निर्णय नभएपछि स्थायी समितिको बैठक सरेको छ।
नेकपाका महासचिव विष्णु पौडेलले स्थायी समितिको बैठक हाललाई सरेको र अर्को मिति तय नभएको बताए।

प्रतिक्रिया