उमेर १६ वर्ष, तौल ६ किलो, उचाइ ८१ सेन्टिमिटर मात्रै। बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका-७ काँडेचौरकी रुमला धामीको शारीरिक अवस्था हो यो।

रुमलाको परिचय यतिमै सकिँदैन । उनी पूर्णरूपमा अशक्त छन्। एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि उनलाई सहारा नभई हुन्न। उनका हात खुट्टासमेत राम्रोस्रँग चल्दैनन्। सिधा उभिनसमेत उनी सक्दिनन्। यो खबर आजको राजधानी दैनिकमा डीबी विष्टले लेखेका छन्।
आमा हाँसुलीदेवी धामीका अनुसार, जन्मिदा उनमा कुनै शारीरिक समस्या थिएन। जन्मेको सात महिनापछि भने उनी नराम्रोसँग बिरामी भइन्। बाबुआमाले उपचारमा कुनै कमी हुन दिएनन् तर ठीक भएन। त्यसपछि भने उनमा शारीरिक समस्या देखिन थाल्यो।
‘जन्मेको सात महिनापछि रुमला नराम्ररी बिरामी परिन्। सुरुमा धामीलाई देखायौं। ठीक नभएपछि स्वास्थ्य संस्थामा समेत लग्यौं, तर उपचार भएन । के गर्नु, भाग्यले नै ठगेको रहेछ,’ आमा हाँसुलीदेवी भन्छिन्।
रुमलाभन्दा अघिका तीन र पछिका एक सन्तानमा कुनै शारीरिक समस्या छैन। सबै राम्रै छन्।
रायल प्राथमिक स्वास्थ्य केन्द्रका अहेब कमल मल्लका अनुसार रुमलाको शारीरिक र मानसिक वृद्धि विकासमा समस्या आउँदा उनी अपांग बनेकी हुन् ।
उनलाई हालै मात्र पूर्णअशक्त अपांगता भएको समूहमा समावेश गरी केदारस्युँ गाउँपालिकाले ‘क’ वर्गको परिचयपत्र दिएको छ । सो गाउँपालिकामा पूर्ण अपांगता भएका १५ जना, अति अशक्त ४२, मध्यम १७ र सामान्य अपांगता भएका ६ जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको आईटी इन्जिनियर लेखराज रावलले बताए ।

प्रतिक्रिया