वैदेशिक रोजगारीको सिलसिलामा ग्रिसमा रहेका नेपाली नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न भएको छ।
राहदानी विभाग, काठमाडौँको समन्वय तथा ग्रिस फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनको सक्रिय सहभागितामा भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाको आयोजनामा आठ दिनसम्म शिविर सञ्चालन गरिएको हो।
सेवाग्राहीको सहजताका लागि दूतावासले यस पटक दुई स्थानमा शिविर सञ्चालन गरेको थियो। मानोलादाको रोयल क्लब होटलमा भएको शिविरमा सेवाग्राहीको चाप अत्यधिक भएपछि एक दिन थप गरेर ४ दिन सेवा दिइएको थियो।
मानोलादामा अप्रिल २ देखि सुरु भएको उक्त शिविर अप्रिल ५-९ तारिखसम्म ग्रिसको राजधानी एथेन्समा चलेको थियो।

करिब ३ हजारले बुझाए आवेदन
अस्ट्रियाको नेपाली राजदूतावासका नियोग उपप्रमुख लेखनाथ गौतमका अनुसार शिविर अवधिभर २ हजार ९ सय ७८ जना सेवाग्राहीले राहदानी नवीकरणका लागि ‘प्रि-इनरोलमेन्ट’ फारम बुझाएका छन्।
नियोग उपप्रमुख गौतमको नेतृत्वमा शिविर सञ्चालन भएको थियो। शिविरमा खटिएका दूतावासका तृतीय सचिव अच्युत तिमिल्सेना तथा राहदानी विभाग काठमाडौँका अधिकृतद्वय आनन्द चुवाई सुवेदी र सुवास मगरको टोलीले स्थानीय समय बिहानको २ बजेसम्म सेवाग्राहीको बायोमेट्रिक संकलनको काम गरेको थियो।
ग्रिसमा निर्धारित समयमा सफलतापूर्वक शिविर सम्पन्न भएको छ। शिविर सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसन, स्वयंसेवक, सेवाग्राही, कर्मचारी सबैलाई दूतावासको तर्फबाट नियोग उपप्रमुख गौतमले धन्यवाद दिए।
उनले नेपालखबरसँग भने, ‘सेवाग्राहीको अधिक संख्या भए पनि सबै संयमित भएर शिविर सफलतापूर्वक सम्पन्न भयो। दूतावासले आगामी दिनमा पनि नेपाली समुदायसँग यस्तै समन्वय र सहयोगको अपेक्षा राखेको छ।’
ठूलो संख्यामा नेपालीहरू अवैधानिक रहेको ग्रिसमा हालसम्म नेपालको कुनै औपचारिक कूटनीतिक नियोग वा संयन्त्र स्थापना भएको छैन। कूटनीतिक निकायको अभावमा सामान्य सेवाका लागि पनि अस्ट्रिया धाउनुपर्ने बाध्यता रहेका नेपालीहरूका लागि यस्ता घुम्ती शिविरले ठूलो राहत पुर्याउँदै आएका छन्।
भियनास्थित नेपाली राजदूतावासको अस्ट्रियासहित ग्रिस, क्रोएसिया, जर्जिया, अल्बानिया, मोन्टेनेग्रो, स्लोभेनिया, बोस्निया-हर्जगोभिना, उत्तर म्यासेडोनिया समेत ८ वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।
Shares

प्रतिक्रिया