युरोपेली मुलुक रोमानियाको राजधानी बुखारेस्टमा नेपालीहरूको राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ।
रोमानिया समेत कार्यक्षेत्र भएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिन, राहदानी विभाग, काठमाडौँ तथा रोमानियामा क्रियाशील नेपाली सामुदायिक संस्थाहरू समेतको सहकार्यमा घुम्ती शिविर सञ्चालन हुन लागेको हो।
बर्लिन दूतावासले बुधबार जारी गरेको सूचनाअनुसार आगामी २०२६ मार्च ११ देखि १५ (फागुन २७ देखि चैत्र १) मा बुखारेस्टस्थित चौतारी रेस्टुरेन्टमा शिविर सञ्चालन हुनेछ।
रोमानियाका प्रमुख नेपाली संघ संस्थाका प्रमुखहरू तथा सामाजिक अभियन्ताहरूले गठन गरेको राहदानी नवीकरण एवं वितरण समन्वय समिति, रोमानियाको सिफारिसमा स्थान निर्धारण गरिएको सूचनामा उल्लेख छ।
साथै अन्य थप जानकारी तथा आवश्यक सहयोगका लागि दूतावासले सम्बन्धित विभिन्न व्यक्तिको मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ।
दूतावासले जारी गरेको सूचनाअनुसार ११ मार्च २०२७ भन्दा अगावै राहदानीको म्याद सकिन लागेका रोमानिया, बुल्गेरिया र हंगेरीमा बस्दै आएका नेपालीहरुले नवीकरण गर्न सक्नेछन्।
अनलाइन फाराम भर्दा आगामी फेब्रुअरी ७, ८, १४, १५ तथा २१ र २२ तारिख स्लटहरू रोमानियाको घुम्ती सेवाको प्रयोजनको लागि मात्र अप्वान्टमेन्ट डेट बुक गर्नका लागि खुला गरिने दूतावासको सूचनामा उल्लेख छ।
राहदानी दस्तुर वापतको रकम बैंक ट्रान्सफर गर्दा तोकिए बमोजिमको पूरै रकम दूतावासको बैंक खातामा सम्बन्धित आवेदकले अनिवार्य रूपमा आफ्नै नाममा २५ फेब्रुअरी २०२६ सम्म जम्मा गरेको हुनुपर्ने सूचनामा लेखिएको छ। रकम तिर्दा लाग्ने शुल्क सेवाग्राहीकै खाताबाट स्वयंले बेहोर्नुपर्ने दूतावासले सूचित गरेको छ।
यसका लागि दूतावासले आवश्यक कागजातहरूको सम्पूर्ण सूची पनि सार्वजनिक गरेको छ।
राहदानी प्रक्रियाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिएको पाइएमा कानुनअनुसार कारबाहीको लागि नेपाल सरकार तथा रोमानियन सरकारको सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी पनि दिएको छ।
रोमानियासहित १० वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र रहेको जर्मनीको नेपाली दूतावासले राहदानी विभागसँगको समन्वयमा बुखारेस्टमा ११ महिना पहिले गत २०२५ मार्च २६-३१ सम्म शिविर सञ्चालन गरेको थियो।

Shares

प्रतिक्रिया