युरोपेली मुलुक पोल्यान्डमा हृदयघात भएर मृत्यु भएका कास्कीका सुमन गुरुङको शव बुधबार नेपाल पठाइएको छ।
कास्कीको मादी-११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातबाट गत जनवरी १६ मा मृत्यु भएको थियो।
‘सुमन गुरुङको शव कतार एयरलाइन्सको उडानबाट आज (बुधबार) नेपाल पठाइएको छ,’ जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले नेपालखबरसँग भने, ‘शव २८ तारिख वारसाको चोपिन विमानस्थलबाट स्थानीय समय बिहान ९ बजे कतारको दोहा हुँदै २९ तारिख अपराह्न ४:२५ बजे काठमाडौँ पुग्ने उडान तालिका छ। यसको जानकारी मृतकका परिवारलाई गराइसकिएको छ।’
मृतक गुरुङको शोकसन्तप्त परिवारलाई रोजगारदाता कम्पनीको तर्फबाट केही आर्थिक सहयोग उपलब्ध गराउन दूतावासको तर्फबाट प्रयास भइरहेको कार्यवाहक राजदूत फुयालले बताए।
यसैबीच मृतक गुरुङकी श्रीमती सुनिता गुरुङले आफ्नो श्रीमान्को शव नेपाल पठाउन सहयोग गर्ने सबैलई धन्यवाद दिएकी छन्।
‘शव नेपाल पठाउन सहजीकरण गरिदिनुहुने नेपाल सरकार, जर्मनीको नेपाली राजदूतावास, नेपाली अवैतनिक वाणिज्यदूतावास वारसालगायत सबैलाई धन्यवाद,’ सुनिताले टेलिफोन संवादमा नेपालखबरसँग भनिन्।
नेपालबाट रोजगारीको सिलसिलामा २०८१ भदौ १६ गते रोमानिया आएका सुमन २०२५ मे ११ देखि पोल्यान्डमा थिए। पोल्यान्डको प्लातेरुफको ओस्त्रोमेचिनमा टीएमएस ग्रुप कम्पनीमा उनी च्याउ उत्पादन गर्ने कम्पनीमा काम गर्थे। उनको श्रीमती र ७ वर्षका छोरा छन्।
Shares

प्रतिक्रिया