प्रवास


पोर्चुगलको मदेइरामा घुम्ती शिविर, पहिलो दिन ५५ नेपालीले लिए सेवा

पोर्चुगलको मदेइरामा घुम्ती शिविर, पहिलो दिन ५५ नेपालीले लिए सेवा

नेपालखबर
मंसिर २१, २०८२ आइतबार २०:४३, लिस्बन (पोर्चुगल)

पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले मदेइरा आइल्यान्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो। घुम्ती सेवाको पहिलो दिन आज ५५ जना सेवाग्राही नेपालीले सेवा लिएको टोलीले जनाएको छ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले बताए। दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताए। आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन राजदूत पौडेलले मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरे। 

शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ। 

यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ। दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो।

घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइरावासी नेपालीलाई राहत मिलेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए। विशेषतः शिविरबाट पोर्चुगलको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका, म्याद सकिएका, हराएका र अन्य कागजात प्रमाणीकरण गर्नुपर्ने नेपालीहरूलाई राहत मिलेको उनको भनाइ छ।

घुम्ती शिविरबाटै दूतावासको सेवा पाउँदा सामुद्रिक टापु मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताए। 

यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो। पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ७० हजारको हाराहारीमा रहेको अनुमान छभने मदेइरामा दुई हजार बढीको हाराहारीमा नेपाली रहेको अनुमान छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad