अमेरिकाको न्यूवर्कमा एक नेपालीको मृत्यु भएपछि परिवार सदस्यले भिषा नपाउँदा आफन्तबिनै अन्तिम संस्कार गरिएको छ। न्युजर्सीको रुबी मेमोरियल फ्युनेरलमा अन्तिम श्रद्धाञ्जलीपछि फ्र्याङ्कलिन मेमोरियल क्रिमटोरियममा दाहसंस्कार गरिएको हो।
अमेरिकी भिसा नपाउँदा उनीहरूको अनुपस्थितिमै अन्त्येष्टि गरिएको हो।
झापा जिल्लाको दमक नगरपालिका-८ का ४१ वर्षीय धनबहादुर ठकुरीको शव फेब्रुअरीदेखि न्युयोर्कमा 'दावी' नगरिएको अवस्थामा थियो। दमकमा रहेका दाजु निर्मल ठकुरीकाअनुसार काठमाडौंको अमेरिकी दूतावासले भिषा नदिएपछि परिवार सदस्यहरु दाहसंस्कारमा जान नपाएका हुन्।
न्यूयोर्कका नेपालीहरुका अनुसार धनुबहादुरले त्यहाँ आफूलाई प्रशान्त भनेर चिनाउने गर्थे। ‘केही महिना अगाडि नै मृत्यु भएको रहेछ। उसका साथीहरुले थाहा पाएर पछि खबर गरे’, दाजु निर्मल ठकुरीले नेपालखबरसँग भने, ‘शव आलो नभएको र धेरै समय रहिसकेको हुँदा डेडबडी यता ल्याउन समस्या भयो। उनकी श्रीमतीलाई समेत भिषा नदिएपछि उतैका इष्टमित्र, साथीभाइले अन्त्येष्टि गरेका हुन्।’
धनबहादुर ११ वर्षदेखि अमेरिकामा थिए। अमेरिकी सरकारको हराएका तथा अपरिचित व्यक्तिहरुको विवरण संकलन गर्ने प्रणालीमा धनबहादुरको नाम सूचिकृत थियो। उनी ग्रीनकार्डको कानुनी हैसियतमा बस्दै आएका थिए। सोसल सेक्युरिटी कार्यालयको सूचनाका आधारमा उनी नेपाली भएको पुष्टि भएको थियो। गोफन्डबाट १० हजार अमेरिकी डलर संकलन गरी अन्त्येष्टि गरिएको हो।
केही समय अगाडि मात्र नेपाल आएर विवाह गरी उनी अमेरिका फर्किएका थिए। श्रीमती नेपालमै छिन्।
दमकमा रहेका परिवार सदस्यहरूका अनुसार मृत्युबारे विस्तृत कारण र जानकारी थाहा पाएका छैनन्। मृतक ठकुरीका दाजु राजु ठकुरीका अनुसार धनबहादुर केही समयदेखि क्षयरोगबाट पीडित थिए।
Shares

प्रतिक्रिया