पछिल्लो समय एनआरएनए पोल्यान्ड एकपछि अर्को समस्या निम्त्याउँदै अघि बढेको आरोप लागेको छ। अहिले संघको मुख्य काम भनेकै स्वयं गलत गर्ने अनि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक माफी माग्ने जस्तै भएको छ।
संघ काण्डैकाण्डको पर्याय जस्तै बनेको छ। एउटा काण्ड सेलाउन पाएको छैन, अर्को काण्ड आइहाल्ने!
गत २६ जुलाईमा भएको एनआरएनए पोल्यान्डको आठौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित रीता न्यौपानेको कार्यसमितिले ‘स्पष्टीकरणसम्बन्धी सूचना’ भन्दै संस्थाको आधिकारिक पेजमार्फत निवर्तमान कार्यसमितिको नामबाट संस्थाको लेटरहेड, लोगो, छापको प्रयोग गरेर एक पत्र सार्वजनिक गरेको थियो।
पञ्जीकृत सदस्यहरूको चर्को विरोध भएपछि सो पत्र सार्वजनिक गरिएको केही समयमा गायब गरियो। सेप्टेम्बर ५ (शुक्रबार) मा ‘स्पष्टीकरण सम्बन्धमा’ भन्दै अध्यक्ष रीता न्यौपाने र महासचिव उदयराज गिरीको संयुक्त हस्ताक्षरमा एक विज्ञप्ति प्रकाशित गर्दै निवर्तमान कार्यसमिति भनेर लेटरहेड प्रयोग भएकोमा माफी माग्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने भनिएको छ।
तर, कार्यसमितिको लेटरहेड र छाप अनधिकृत प्रयोग कसले गरेको थियो भन्ने विज्ञप्तिमा कतै उल्लेख छैन।
'गलत व्यक्तिले गर्ने तर माफी संस्थाले माग्दै जाने नजिर स्थापित गर्दा संस्था कमजोर त हुन्छ नै, संस्था प्रतिको विश्वास पनि घट्दै जान्छ', एनआरएनए पोल्यान्डका एक संस्थापकले बताए।
‘संस्थामा गलत काम गर्नेलाई दण्डित र असल काम गर्नेलाई पुरस्कृतको विधि एनआरएनए पोल्यान्डमा नहुनु दुःखद छ’, उनले नेपालखबरसँग भने।
अझ रमाइलो कुरा त के छ भने आठौँ अधिवेशनको निर्वाचनमार्फत सदस्य भएका विपिन पराजुली नक्कली नामबाट चुनाव लडेर निर्वाचित भएको खुलेको छ।
कागजातमा सूर्यप्रसाद पराजुली भएका उनको विपिनको नामबाट पञ्जीकृत सदस्यता कसरी स्वीकृत भयो र यस्तो अनधिकृत काम गर्नेलाई कारबाही हुनु कता हो कता विज्ञप्तिमार्फत सुनपानी छर्किने काम भएको छ।
सदस्यता प्रमाणीकरणको क्रममा पेस गरिएको आधिकारिक कागजात अनुसार विपिन पराजुली र सूर्यप्रसाद पराजुली एउटै व्यक्तिसँग सम्बन्धित रहेको पुष्टि भएको छ। आईसीसीसँग समन्वय गरेर विपिनको कार्डमा सूर्यप्रसाद अङ्कित गरिएको विज्ञप्तिमार्फत भनिएको छ।
‘एनआरएनए पोल्यान्डको ९८ प्रतिशतको पञ्जीकृत सदस्यता स्वीकृत मैले गरेको हो। उहाँको पनि मैले गरेको हुन सक्छ,’ विपिन पराजुलीको सदस्यता स्वीकृतिको जिम्मा लिँदै महासचिव उदयराज गिरीले नेपालखबरसँग बताए।
विज्ञप्तिमा पोल्यान्डको नाम र थर परिवर्तन ऐनको हवाला दिँदै यस कानुनी आधारको पालना गर्दै विपिन पराजुलीको नाम सुधार गरिएको भनिएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको नाम र थर परिवर्तन सम्बन्धित ऐन र एनआरएनए पोल्यान्डको पञ्जीकृत सदस्यको प्रयोजनमा लागू हुन्छ त? भन्ने नेपालखबरको प्रश्नमा भने महासचिव गिरी बोल्न चाहेनन्।
‘पोल्यान्डको यो ऐन नागरिकलाई आफ्नो नाम परिवर्तन गर्ने कानुनी अधिकार हो। कुनै संस्थामा सदस्य बन्ने क्रममा फरक नाम प्रयोग गर्न पाइने होइन’, प्रवासी नेपाली मञ्च पोल्यान्डका उपाध्यक्ष अक्षय रिजालले बताए।
‘झुक्याउने प्रयास गरियो जुन अति नै दुःखदायी छ, यस्तो गल्ती गर्नेलाई सार्वजनिक नगरी ढाकछोप गर्नु ठूलो गल्ती हो,’ उनले नेपालखबरसँग भने।
आठौँ अधिवेशनको निर्वाचन समिति सदस्य रहेका समिपराज आचार्यले ‘म ९५ प्रतिशत गल्तीको भागिदार हो भन्ने व्यक्तिले नैतिकताको आधारमा राजीनामा नदिएर शर्म नमानीकन उल्टै कानुन पढाउने?’ भन्दै प्रश्न गरेका छन्।
यस्तो जालसाजी गर्नेलाई एनआरएनए पोल्यान्डको सदस्य आजीवन हुन नपाउने गरी कारबाही गर्नुपर्थ्यो तर विडम्बना त्यही हिलोमा धान रोप्न पुगेकी अध्यक्ष रीता न्यौपानेलाई पनि यिनीहरूले गलत पाठ पढाउन भ्याइसकेको आचार्यको भनाइ छ।
पछिल्लो समय ठूलो नेपालीको संख्या आकर्षित रहेको युरोपेली मुलुक पोल्यान्डमा १४ हजार नेपाली रहेको अनुमान गरिएको छ। तर यसपटक एनआरएनए पोल्यान्डमा ५५४ जना मात्र पञ्जीकृत सदस्य भएका छन्।

Shares

प्रतिक्रिया