प्रवास


बेलायतमा पहिलो पटक श्रीमद्भागवत सप्ताह, १८ अगस्टसम्म चल्ने

बेलायतमा पहिलो पटक श्रीमद्भागवत सप्ताह, १८ अगस्टसम्म चल्ने

नेपालखबर
साउन २८, २०८२ बुधबार १०:३३, बेलायत

बेलायतमा पहिलो पटक श्रीमद्भागवत कथा समारोह प्रारम्भ भएको छ। धर्मदर्शन फाउन्डेसनन नेपाल र बेलायतनिवासी भक्तजनहरूको सक्रियतामा साउथलस्थित विश्व हिन्दू मन्दिरमा मंगलबारदेखि सुरु भएको उक्त समारोहको उद्घाटन संयुक्त रूपमा दीप प्रज्वलन गरेर बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र पण्डित कुवेर सुवेदीले गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत घिमिरेले नेपालमै पवित्र धार्मिक परम्पराका रूपमा परिचित श्रीमद्भागवत कथा बेलायतमा प्रतिध्वनित हुनु गर्वको विषय भएको बताए।

‘श्रीमद्भागवत कथाले नेपाललाई पवित्र भूमि भनेर संसारभर चिनाएको छ,’ सम्बोधनमा राजदूत घिमिरेले भने, ‘आज यो कथा बेलायतसम्म गुन्जिनु महत्त्वपूर्ण अवसर हो। घर–घरमा, जन–जनसम्म यसको वाणी पुग्न सकोस् भन्ने मेरो कामना छ। ’

राजदूत घिमिरेले बेलायतमा यस्तो भव्य धार्मिक कार्यक्रम आयोजना गरेकोमा नेपाल सरकार तथा दूतावासको तर्फबाट आयोजकलाई धन्यवाद दिएका थिए। बेलायतजस्तो ठाउँमा यो कठिन भए पनि भगवान्‌को कृपाले सम्भव भएको उनको भनाइ थियो।

‘श्रीभगवान्‌कै आशीर्वादका कारण हामी यहाँ भेला भएका हौँ। राम्रो काम सधैँ भगवान्‌कै इच्छाले मात्र सम्भव हुन्छ र सत्कर्मीलाई भगवान्‌ले सधैँ साथ दिनुहुन्छ,’ घिमिरेको भनाइ थियो।

यसैगरी, पण्डित कुवेर सुवेदीले नेपालको धर्मदर्शन फाउन्डेसनको तर्फबाट बेलायतमा पवित्र भूमि निर्माण गर्ने अवसर पाएकोमा हर्ष व्यक्त गरे। उनले श्रीमद्भागवत कथाको आध्यात्मिक महत्त्वबारे प्रकाश पार्दै भागवत कथा आध्यात्मिक यात्राको मार्गदर्शन भएको बताए। १२ अगस्टदेखि सुरु भएको कथा सप्ताह १८ अगस्टसम्म सञ्चालन हुनेछ।

हिजो पहिलो दिनको कथा वाचनमा भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो। पण्डित चिरञ्जीवी ढकाल र निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए। श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर आयोजना गरिएको यस कार्यक्रम प्रत्येक दिन साँझ ४ देखि ६:३० बजेसम्म सञ्चालन हुनेछ।

१६ अगस्टमा पर्ने श्रीकृष्ण जन्माष्टमीमा महोत्सव आयोजना गरिने धर्मदर्शन फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad