दुबई मललाई संसारकै ठूला सपिङ मलमध्ये मानिन्छ। दुबईको गहना भनेर समेत चिनिने यो मल किनमेलका लागि प्रसिद्ध छ। यसको भव्यताले पनि मललाई विश्वसामु परिचित बनाएको छ।
द दुबईमल डट कमले यहाँ वार्षिक १० करोडभन्दा बढी आगन्तुकको आवागमन हुने गरेको उल्लेख गरेको छ।
१२ सयभन्दा बढी खुद्रा स्टोर रहेको यस मलमा दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय भोजनका छनोट छन्। उच्च र विलासी ब्रान्डहरूको बाक्लो उपस्थिति छ भने उच्च श्रेणीका फेसन, विद्युतीय, घरसज्जा र अन्य धेरै कुरा किन्न सकिन्छ।
यसभित्रको दुबई अक्वेरियम र पानीमुनिको चिडियाघर विशेष आकर्षण रहेको छ। त्यसैगरी दुबई आइस रिंक छ जहाँ शपिङ गर्दा अल्छी लागे आइस स्केटको मज्जा लिन सकिन्छ।
दुबई मलको अर्को आकर्षण हो भीआर पार्क। भर्चुअल रियालिटीको आनन्द लिनेलाई यसले गज्जब मनोरञ्जन प्रदान गर्छ। यो मलभित्रकै घुम्नैपर्ने पार्क हो। प्रविधि र मनोरञ्जनको सम्मिश्रण गरिएकाले यहाँ जानेले भरपुर आनन्द लिन पाउँछन्।

यस बाहेक द दुबई फाउन्टेन शोले यो मल घुम्नेलाई मुग्ध पार्छ। यसमा पानीका ठूला-ठूला फोहोरासँगै सांगीतिक र प्रकाशको संयोजनमा फरक दृश्य देखाउँछ। ५ सय फिटमाथिसम्म पानीका फोहोरा उठ्दा मनै आह्लादित बनाइदिन्छ।
त्यसैगरी, यही मलमा रहेको किडजानियाले शैक्षिक मनोरञ्जन दिन्छ जहाँ बालबालिकाले उनीहरूका लागि बनाइएका साना सहर घुम्न पाउँछन्। यसभित्र उनीहरूले विविध पेसाको भूमिका जस्तै, डाक्टरदेखि पाइलटसम्मको अनुभूति गर्न सक्छन्। यहाँ उनीहरूले सामूहिक भावना, दायित्व र जीवनोपयोगी सीपहरू हासिल गर्न सक्छन्।
यो मलमा रहेको फेसन एभेन्युले विलासिताका पारखीलाई तान्छ। जहाँ महंगा ब्रान्डहरूको शपिङ गर्न सकिन्छ। यहाँ संसारका उच्च विलासी ब्रान्डहरू एकत्रित भएर बसेका छन्।
रिल सिनेमाज यो मलको सिनेम्याटिक अनुभव दिने अर्को आकर्षण हो। यहाँ छुट्टै आनन्दमा रमेर चलचित्र हेर्न पाइन्छ।

यो मलले कुल ११ लाख २४ हजार वर्गमिटर (१ करोड ३० लाख वर्गफिट) जमिन ओगटेको छ। यो चारतले मल हो। सन् २००८ को नोभेम्बर ८ मा १ हजार खुद्रा बिक्रेतासँगै मल खुलेको थियो।
यस्तै, दुबई मलको छेउमै छ बुर्ज खलिफा। संसारकै अग्ला भवनमध्ये एक यो संरचना ८२८ मिटर अग्लो छ।
सन् २०१० मा खोलिएदेखि यो भवन विश्वभरका आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ।
यसको डिजाइन इस्लामिक आर्ट, स्थानीय संस्कृति र प्रकृतिबाट प्रेरित छ।
यसको लिफ्ट १० मिटर प्रतिसेकेन्डको गतिमा चल्छ, जुन विश्वकै तीव्र गतिको लिफ्टमध्ये एक हो।
१६३ वटा प्रयोगयोग्य तल्ला रहेको यो भवनमा अफिस, होटल, अपार्टमेन्ट र रेस्टुरेन्ट छन्।
१२२औँ तलामा रहेको एटमसफेयर, १२४औँ र १२५ औँ तलामा रहेका एट द टप साथै १४८औँ तलामा रहेको अवलोकन डेक यस भवनका मुख्य आकर्षण हुन्। यहाँबाट दुबई सहरलाई ३६० डिग्री कोणमा हेर्न सकिन्छ।
केही तस्बिर-



















Shares

प्रतिक्रिया