पश्चिम अस्ट्रेलियास्थित पर्थमा नेपाली समुदायद्वारा सञ्चालित भाषा पाठशाला छ जहाँ नेपालीमूलका बालबालिकालाई नेपाली भाषा सिकाइन्छ।
नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा) इन्कको संरक्षकत्वमा रहेको यस नेपाली भाषा तथा कला पाठशाला (एनएलएएएस) सन् २०१२ मा स्थापना भएको हो।
स्कुलले पश्चिमी अस्ट्रेलियामा नेपाली समुदायका भावी पुस्तालाई नेपाली भाषा र संस्कृतिको संरक्षण, प्रवर्द्धन र हस्तान्तरणको उद्देश्य राखेको छ।
सुरुमा हाइगेटबाट सुरु भएको यो पाठशाला अहिले पर्थमा मात्रै चार ठाउँमा छन्। जुन ट्रिबी, केनविक, मिराबोका र क्यावर्सममा पर्छन्। हाइगेट पर्थभित्रै रहेको मेट्रो उपनगर हो।
यी पाठशालाले किन्डरगार्टनदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई नेपाली भाषा तथा संस्कृति सिकाउँछन्।
पर्थका यी ४ विद्यालयमा हाल दुई सयभन्दा बढी नेपाली बालबालिका अध्ययनरत छन्।
यी बालबालिकालाई नेपाली संस्कृति सिकाउन १२ जना शिक्षक खटिएका छन्। अस्ट्रेलियामा रहेर विभिन्न पेसा व्यवसायमा संलग्न उनीहरूले स्वयंसेवी रूपमा भाषा संस्कृति हस्तान्तरणको जिम्मेवारी सम्हालेका हुन्।
जान्नुपर्ने कुरा चाहिँ यी पाठशाला औपचारिक विद्यालय भने होइनन्। भावी पुस्ता आफ्नो मौलिक पहिचानबाट विमुख नहोस् भनेर नेपाली समुदायले सञ्चालन गरेका भाषा कक्षा हुन्। यी कक्षा साप्ताहिक रूपमा निश्चित समयमा सञ्चालन हुन्छन्।
जसमध्ये, मिराबोका र केनविकमा हरेक शनिबार बेलुका ४ बजे देखि ६ बजेसम्म दुई घण्टा सञ्चालन हुन्छ।
ट्रिबीमा प्रत्येक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन हुन्छ भने क्यावर्सममा शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुन्छ।

यसवापत् विद्यार्थीसँग निश्चित रकम सहयोगस्वरुप लिइन्छ। जसबाट उठेको रकम पाठशालाको भौतिक संरचनाको भाडा, मर्मत सम्भार लगायतमा खर्च हुन्छ।
पाठशाला सञ्चालनका लागि नावाले मिराबोकास्थित हर्ब ग्राम सेन्टर, केनविकस्थित केनविक कम्युनिटी सेन्टर, ट्रिबीस्थित ट्रिबी प्राइमरी स्कुल र क्यावर्सम भ्याली प्राइमरी स्कुलमा २/२ वटा कोठा भाडामा लिएको छ।
यहाँ सञ्चालित पाठशालालाई तीन वर्गमा विभाजन गरिएको छ- बिगिनर्स (आधारभूत), किन्डी (प्रिमियर) र इन्टरमिडिएट (माध्यमिक)।
यो विभाजन उमेर समूहअनुसार गरिएको हो। प्रि स्कुल जान सुरु भएदेखि ६ कक्षासम्म पढ्ने बालबालिका आधारभूत र किन्डीका कक्षामा रहन्छन् भने कक्षा ७ देखिमाथि अध्ययनरत विद्यार्थी इन्टरमिडिएट अर्थात् माध्यमिक तहको कक्षामा सामेल गराइन्छन्।
आधारभूत तहमा बालबालिकालाई नेपाली भाषाको सामान्यज्ञान जस्तै वर्णमालाको ज्ञान लगायत दिइन्छ भने किन्डी तहका बालबालिकालाई नेपाली संस्कार जस्तै नमस्कार आदान-प्रदान आदि जस्ता कुराहरू सिकाइन्छ।
तेस्रो अर्थात् माध्यिमक तहको भाषा कक्षा चाहिँ अलिक एड्भान्स खालको कोर्स डिजाइन गरिएको बताउँछन् पर्थका भाषा पाठशालामा दुई वर्षदेखि प्रधानाध्यापक (प्रिन्सिपल)को जिम्मेवारी निर्वाह गरेका राजु ढकाल।
ढकालका अनुसार पर्थका चार पाठशालामा अहिले इनरोल रहेका झन्डै २२५ विद्यार्थीमा धेरै संख्या आधारभूत र किन्डीमा छ। माध्यमिक तहका विद्यार्थीलाई सुहाउने कोर्स पुग्दो दिन नसक्दा यो तहमा चाहिँ अलि कम विद्यार्थीको उपस्थिति रहेको उनी बताउँछन्।
‘यो तहको कोर्स खासमा रिसर्च बेसमा डिजाइन गरिएको छ। नेपाल, नेपालीको भाषा संस्कृति, रीतिरिवाज आदिबारे अनुसन्धान गर्नुपर्ने खालको कोर्स हो यो तहको। यसमा राम्रै स्रोत साधनका साथ अघि बढ्नुपर्ने हुन्छ,’ ढकाल भन्छन्।
चितवनका ढकालका साथै अन्य दुई शिक्षकसँग नेपालखबरले फोनमार्फत वार्ता गरेको थियो। सपरिवार अस्ट्रेलियामा रहेका ढकाल पाठशालाका शिक्षक मात्र होइनन् अभिभावक पनि हुन्। भाषा कक्षाले बालबालिकामा कस्तो परिवर्तन भएको देख्नुभयो भन्ने जिज्ञासामा उनी भन्छन्, ‘भाषा कक्षामा भाग लिएका बालबालिका र नलिएका बालबालिकाबीचको फरक सामुदायिक भेला, कार्यक्रमहरूमा स्पष्टै देखिन्छ।’

ढकाल अगाडि थप्छन्, ‘नेपाली समुदायको जमघटमा भाषा कक्षा लिएका बालबालिका घुलमिलमा सहज देखिए। नमस्कार, धन्यवाद जस्ता शब्द प्रयोग गर्न त उनीहरूलाई अप्ठेरो भएन नै, यस्ता भेलामा आफूलाई हराएको नपाउनु ठूलो उपलब्धि हो।’
घरमै पनि नेपालबाट हजुरबा-हजुरआमा आउँदा उहाँहरूसँगको घुलमिलमा भाषा पाठशाला गएका बालबालिका बढी सहज देखिए।
पाठशालाले नेपाली राष्ट्रिय गान, सरस्वती पूजा, फलफूलका नेपाली नाम जस्तै, स्याउ, सुन्तला, अंगुर चिनाउँदा आफ्नो संस्कारलाई मर्न नदिएको अनुभव सुनाउँछिन् पाठशालाकी अर्की शिक्षक सुमिना दाहाल।
शिक्षकसँगै आफू पनि पाठशालाको अभिभावक रहेकी दाहाल यहाँ हुँदा मात्र होइन नेपाल गएका बखत बालबालिकालाई सामाजिक हुन सहज भएको अनुभव सुनाउँछिन्। गाई, भैँसी, बाख्रा, घाँस भनेर चिनाइरहन नपरेको उनको अनुभव छ।
‘आफ्नै देशको परिवेशअनुसार कक्षामा सिकाइँदा बालबालिका त्यसमा सजिलै घुलमिल हुन सक्दा रहेछन्,’ दाहाल सुनाउँछिन्। उनीहरूले नेपालमा जाँदा जे देखिरहेका हुन्छन् त्यो यहीँबाट सिकाएर लैजाँदा स्थानीय परिवेशको सिकाइमा थप बल पुग्ने उनको धारणा छ।
पाठशालाले नेपालमा मनाइने चाडपर्वलाई पनि बालबालिकासामु चिनाउने गरेको छ।
विद्यालयका अर्का शिक्षक विनित घिमिरे अघिल्लो साल बालबालिकाले होली हर्षोल्लाससाथ मनाएको स्मरण गर्छन्। पाठशालाले दसैँ, तिहार जस्ता नेपालमा मनाइने ठूला चाडमा पनि सेलिब्रेट गर्ने गरेको छ। जहाँ बालबालिका रमाएर भाग लिइरहेका हुन्छन्।

‘अनौपचारिक रूपमै भए पनि बालबालिकालाई यसरी शिक्षा दिँदा उनीहरूमा हाम्रो पनि भाषा छ, हाम्रो छुट्टै संस्कृति छ भन्ने आत्मविश्वास बढेको देखियो,’ घिमिरे भन्छन्, ‘जसले उनीहरूमा पुर्ख्यौली थलोप्रति माया बढेर जाँदो रहेछ। नेपाली लेखाइ, बोलाइ र नेपाली संस्कृतिप्रतिको अपनत्व बढ्दो रहेछ।’
लमजुङ थातथलो भई काठमाडौँ बसाइ सरेका घिमिरेको पनि अहिलेको सपरिवार बसाइ अस्ट्रेलियामै छ।
पाठशालाप्रति अभिभावकहरूको चासो पनि बढेको छ। यसैले छोटो समयमै पर्थमा चार वटा शाखा खुलिसकेका छन्।
अझ, मिराबोका र क्यावर्सम भ्यालीमा त ६ महिनाकै अन्तरालमा खुलेका हुन्।
पर्थको पूर्वी भाग मिराबोकामा २०२४ को सुरुआतीबाट कक्षा सञ्चालन सुरु भएको थियो भने २०२४ कै मध्यबाट उत्तरतर्फ क्याबर्सन भ्यालीमा सुरु भयो।
यसभन्दा अगाडिका दक्षिण र पूर्वी भागमा थिए। २०१८ मा साउथ लेक (ट्रिबी) मा सञ्चालन सुरु भयो त्यसपछि पर्थको पूर्वी भागमा पर्ने केनविकमा पनि सञ्चालन हुन थाल्यो। यसरी पर्थका चारै दिशामा अहिले कक्षा सञ्चालित छन्।

यस्ता क्रियाकलाप समुदायलाई राष्ट्रस्तरमा चिनाउने माध्यम पनि हुने रहेछ भन्छन् ढकाल।
गैरनाफामुखी संस्था नावाको संरक्षकत्वमा सञ्चालित यी कक्षामा सरकारबाट पनि सहयोग छ।
‘हाम्रो विद्यालयमा यति विद्यार्थीलाई पढाइरहेका छौँ भनेपछि सरकारले सहयोग गर्छ नै,’ ढकाल भन्छन्, ‘मल्टी कल्चरल कम्युनिटी ल्याङ्ग्वेज ग्रान्टस् भन्ने हुन्छ। यसले सहयोग गरेको हुन्छ।’
यो प्रदेश सरकारस्तरीय सहयोग हो। यस्तै अर्को संघीय तवरको सहयोग पनि हुन्छ। समुदायले आफ्नो भाषा, संस्कृति संरक्षणका खातिर गरेको कामका लागि संघीय सरकारसामु निवेदन दिन सक्छन्।
‘पेट्रोल ग्रान्ट अप्लाई गर्न पाइन्छ। यो भनेको संघीय सरकारको सहयोगका लागि दिइने निवेदन हो,’ ढकाल अगाडि थप्छन्, ‘यसमा प्रत्येक दुई/दुई वर्षमा निवेदन खुल्छ। समुदायले गरेको कामलाई मूल्यांकन गरी सरकारले निर्णय लिन्छ।’
उनका अनुसार पर्थका पाठशालाको हकमा कुनै वर्ष छनोटमा परेको छ, कुनै वर्ष परेको छैन। ‘पछिल्लो पटक हामी यो सहयोग सुरक्षित गर्न सफल छौँ,’ नावाको कार्यसमिति सदस्य समेत रहेका ढकाल भन्छन्।
प्रदेश सरकारको सहयोग भने वार्षिक रूपमा हुन्छ।
पर्थका यी पाठशालाले नेपाली समुदायको ‘इमेज’ पनि राम्रो बनाएको छ। ढकालका अनुसार प्रिमियर (चिफ मिनिस्टर) ले नयाँ वर्षमा शुभकामना सन्देश पठाउँछन्। यो आफ्नो समुदायको गतिविधले नै सम्भव तुल्याएको उनको ठहर छ।
केही महिनाअघि भुटानी राजा पर्थमा आउँदा नेपाली समुदायको ‘इमेज’ सरकारसामु अझ राम्रो बनेको उनी स्मरण गर्छन्। धेरै नेपालीभाषी भुटानी रहेको पर्थमा राजाको उपस्थितिले छुट्टै गरिमा बढाएको थियो।
‘यस्ता गतिविधि (पाठशाला)ले समुदायको आधार तय गर्दा रहेछन्,’ ढकाल खुसी व्यक्त गर्छन्, ‘यिनै विद्यालयलाई टेकेर अन्त परिचय दिन सकिँदो रहेछ। यहाँ पढेका विद्यार्थीले आफ्नो क्षमता डिस्प्ले गरिँदिँदा मात्रै पनि धेरै फरक पर्ने रहेछ।’
सन् २०१६ को जनगणनाअनुसार पर्थमा नेपाली समुदायको जनसंख्या २५ सयको हाराहरीमा रहेको देखिन्छ। तर, एक दशकपछिको अहिलेको अवस्था धेरै फरक बनिसकेको ढकाल बताउँछन्। उनी हाल यहाँ १०/१२ हजारको हाराहरीमा नेपालीभाषी हुनसक्ने अनुमान गर्छन्।
Shares

प्रतिक्रिया