प्रवास


पोर्चुगलमा सोमबहादुर तामाङलाई जातीय विभेदको आरोप, ‘सानो जात भन्दै कुटे’

पोर्चुगलमा सोमबहादुर तामाङलाई जातीय विभेदको आरोप, ‘सानो जात भन्दै कुटे’

सोमबहादुर तामाङ


शेरबहादुर परियार
साउन १०, २०८३ आइतबार १६:२३, मध्य युरोप

युरोपेली मुलुक पोर्चुगलमा बस्दै आएका सोमबहादुर तामाङलाई सँगै काम गर्ने एक दलित युवालाई जातीय विभेदजन्य गालीगलोज गरी कुटपिट गरेको आरोप लागेको छ।

बारा जिल्ला घर भई हाल पोर्चुगल बस्ने तामाङले आफूलाई सानो जात भनेर जातीय विभेद, अपमान र कुटपिट गरेको सुजन विकले बताए।

कास्कीको पोखरा घर भई हाल रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका ३० वर्षीय विकले शनिबार सार्वजनिक अपिल गर्दै न्यायको लागि अनुरोध गरेका हुन्।

घटना गत जनवरी महिनामा भएको थियो। कामको सिलसिलामा बेल्जियम गएको बेला तामाङले आफूमाथि विभेद गरेको र कुटपिट गरेको विकको भनाई छ।

मलाई तामाङले जनवरी २०२६ देखि निरन्तर जातीय भेदभाव, जातका आधारमा अपमान, मौखिक दुर्व्यवहार, धम्की तथा मानसिक उत्पीडन गर्दै आए। भौतिक रूपमा कुटपिट पनि गरेपछि अस्पताल गएर उपचारसमेत गरेको विकले प्रकाशित गरेको अपिलमा उल्लेख छ।

‘पटक-पटक अत्यन्त अपमानजनक र तल्लोस्तरको गालीगलौज तथा धम्की दिए,’ विकले नेपालखबरसँग पीडा पाेखे, ‘कार्यस्थल तथा बसोबासको वातावरण असुरक्षित र शत्रुतापूर्ण बनाउने कार्य गरे। मोबाइल पनि फुटाइदिए।’

कुटपिटपछि चोटपटकसहितका तस्बिर, म्यासेज तथा अन्य प्रमाण आफूसँग सुरक्षित रहेको विक बताउँछन्।

कुटपिटको दाग देखाउँदै सुजन विक

पीडकमाथि कानुन बमोजिम फौजदारी अभियोजन चलाइयोस् र विशेष रूपमा, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम आवश्यक कानुनी कारबाही गरियोस् भन्ने विकले माग गरेका छन्।

सोमबहादुरले पनि आफ्नो गल्ती स्वीकार गरिसकेका छन्। उनले आवेगमा आएर मानवीय त्रुटि भएको सकारेका हुन्।

उनीमाथि लागेको आरोपबारे नेपालखबरको प्रश्नमा तामाङले भने, ‘झगडा भएको हो।तर जातीय विभेद गर्ने मेरो कुनै नियत होइन। उहाँ मेरो नजिकको साथी हो, हामी छिट्टै मिल्छौँ।’

युरोपजस्तो सभ्य समाज र मानव अधिकारको उच्च प्रत्याभूति हुने ठाउँ यहाँ जातीय भेदभावलाई अत्यन्त संवेदनशील र मानव अधिकारविरुद्धको गम्भीर अपराध मानिन्छ। यस्तो कठोर सजायको व्यवस्था भएको मुलुकमा पनि जातीय विभेदका घटनाहरू नेपाली समुदायमा हुँदै आएका छन्।

गतवर्ष अर्को युरोपेली मुलुक पोल्यान्डमा सुनसरी घर भएका पोल्यान्ड एमाले नेता प्रज्वल सुवेदीले एक दलित युवालाई जातीय विभेद गरेको घटना सार्वजनिक भएको थियो।

दलित समुदायलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै युरोपका विभिन्न दलित संघसंस्थाले कारबाहीको माग गरेपछि सुवेदीले सार्वजनिक रूपमा माफी मागेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad