स्थानीय बजारबाट राति घर फर्किने क्रममा बाटोबाटै श्रीमती हराएको भनेर उजुरी दिने श्रीमान् नै हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
सङ्खुवासभाको मादी नगरपालिका-३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। उनले ३७ वर्षीया मिना शेर्पाको कुटपिट गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाले जनाएको छ।
ओखरबोटे बजारबाट घर फर्कने क्रममा मसिर ८ गते राति करिब साढे १० बजेतिर श्रीमान्-श्रीमतीबिच सामान्य विषयमा विवाद भएको थियो। विवाद चर्किँदै जाँदा प्रेमले बाटोमै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
घटनापछि उनले त्यही राति मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा खाडल खनी शव त्रिपालले बेरेर गाडेको स्वीकार गरेको राजवंशीको भनाइ छ। प्रेमले नै मिना बाटोबाटै बेपत्ता भएको भन्दै प्रहरी चौकी मादी मङ्गलबारेमा खोजबिनका लागि निवेदन दिएका थिए।
खोजतलास तथा सोधपुछका क्रममा प्रेममाथि नै शङ्का लागेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजवंशीले बताए। अनुसन्धानका क्रममा उनले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ।
त्यसपछि इलाका प्रहरी कार्यालय, चैनपुरबाट प्रहरी निरीक्षक पशुराम राईको नेतृत्वमा खटिएको टोलीले अलैँची बारीमा उत्खनन गर्दा त्रिपालले बेरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएर प्रेमलाई हिरासतमा राखिएको छ।
Shares

प्रतिक्रिया