अपराध


सिन्धुलीमा जेनजी आन्दोलनमा आगजनी गर्ने १५ जना पक्राउ

सिन्धुलीमा जेनजी आन्दोलनमा आगजनी गर्ने १५ जना पक्राउ

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १७:९, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा सिन्धुलीका सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ परेका छन्।

प्रहरीलाई प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। त्यस्तै, थप १५ जनालाई पक्राउ गर्ने तयारी भइरहेको छ। उनीहरूको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट आदेश लिएको सुवेदीले बताए। 

पक्राउ परेका १५ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका-५ वडा कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोप छ। आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको सुवेदीले जानकारी दिए। 

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-१२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजार बस्ने २० वर्षीय सुजन साह, कमलामाई नगरपालिका-८ घर भई हाल कमलामाई-६ अनामनगर बस्ने ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई-५ का ४७ वर्षीय फौद थापा मगर र तीनपाटन गाउँपालिका-४ घर भई हाल कमलामाई-६ स्थित गौतम फर्मा केयरका सञ्चालक ३० वर्षीय सुजन गौतम रहेका छन्।

यस्तै सर्लाहीको रामनगर गाउँपालिका-६ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई-६ धुराबजार बस्ने २५ वर्षीय पपुकुमार साह, कमलामाई-५ का २७ वर्षीय रबन चौधरी, कमलामाई-१२ का ३९ वर्षीय क्षितिज श्रेष्ठ, भारतको सीतामढी जिल्ला घर भई हाल सिन्धुलीको कमलामाई-६ धुराबजार बस्ने २२ वर्षीय देवनन्दन साह, कमलामाई-४ का २४ वर्षीय सविन लामा र कमलामाई-१२ का २३ वर्षीय डोरबहादुर सार्की पक्राउ परेका छन्। 

यसैगरी, महोत्तरीको गौशाला नगरपालिका-२ घर भई हाल सिन्धुलीको कमलामाई-५ मा बस्ने राजु महरा, सिन्धुलीको तीनपाटन गाउँपालिका-११ का २५ वर्षीय होमबहादुर लुङ्गेली, कमलामाई-८ का ३४ वर्षीय ओमबहादुर खत्री, कमलामाई-८ कै ३० वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका-१४ घर भई हाल कमलामाई-६ बस्ने ३५ वर्षीय हरिचन सोनारलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad