ad ad

अपराध


नक्कली शरणार्थी प्रकरण : सीआईबी र हेडक्वार्टरबाट खटाइयो थप अनुसन्धान अधिकृत

नक्कली शरणार्थी प्रकरण : सीआईबी र हेडक्वार्टरबाट खटाइयो थप अनुसन्धान अधिकृत

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर लाँदै गर्दाको तस्बिर


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १४:२२, काठमाडौँ

नक्कली शरणार्थीका नाममा भएको करोडौँ ठगीको घटना अनुसन्धानका लागि थप प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट थप अनुसन्धान अधिकारीहरु काठमाडौं प्रहरी परिसरमा खटाइएको हो। 

यो प्रकरण मात्रै अनुसन्धान गर्न त्यहाँ छुट्टै कार्यकक्ष नै खडा गरिएको छ। सुरुमा ठगी मुद्दामा अनुसन्धान भए पनि अन्तिममा संगठित अपराधमा पनि मुद्दा चलाउने भएपछि अनुसन्धानका लागि समय कम भएको हो।

प्रहरीले सुरुमा तीनजनालाई मात्रै पक्राउ गरेपछि ठगीको कसुरमा मात्रै मुद्दा अगाडि बढाएको थियो। तर २२ दिन ठगीमा अनुसन्धान गरेको प्रहरीले त्यसपछि मात्रै संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान अगाडि बढाएको हो। 

२२ दिनपछि अर्को मुद्दामा फाइल अगाडि बढ्दा समय अभाव हुने भएपछि थप अनुसन्धान अधिकारी मगाइएको काठमाडौं परिसरले जनाएको छ। 

चैत १२ गते पहिलोपटक केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए। सुरुमा पक्राउ परेको दिनबाट प्रहरीले यो मुद्दाको अनुसन्धान गर्न ६० दिन म्याद पाउँछ। तर ६० दिनभित्रमा मुद्दा अदालतमा बुझाइसक्नु पर्नेछ। अब प्रहरीसँग ११ दिन बाँकी भए पनि त्यसअघि नै मुद्दा सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने छ। तर पक्राउ परेका केही व्यक्तिको बयान हुनै बाँकी छ। 

केही अझै फरार छन्। फरार खोजी र अनुसन्धान प्रतिवेदन तयारी प्रहरीले एकसाथ गरिरहेको छ। 

यो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, बिचौलियाहरु सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी गरी १२ जना पक्राउ परिसकेका छन्। 

अझै केही पक्राउ पुर्जी जारी भइसकेका व्यक्ति फरार छन्। अझै पनि यो मुद्दामा थप व्यक्ति तानिन सक्ने सम्भावना छ। बयानका क्रममा उनीहरुको नाम जोडिए पनि प्रहरीले प्रमाण जुटिनसकेको भन्दै पक्राउ गरेको छैन। प्रहरी उनीहरुविरुद्ध पनि प्रमाण जुटाउन लागेको छ। 
पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजितका छोरा निरजलगायत फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .