ad ad

अपराध


कहाँ पुग्यो कपन हत्या प्रकरणको अनुसन्धान?

यसरी दिउँसै मारिएको थियो नीरालाई
कहाँ पुग्यो कपन हत्या प्रकरणको अनुसन्धान?

हत्या गरिएकी नीरा पाण्डे आचार्यको फाइल तस्बिर


नारायण ढुङ्गाना
बैशाख ११, २०८० सोमबार २०:४९, काठमाडौँ

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा यही वैशाख ७ गते दिउँसै चक्कुले हानेर एक महिलाको हत्या गरिएको आज पाँच दिन पुग्दा पनि घटना रहस्यमै छ। 

घटनाका दोषी अझै पहिचान हुन सकेको छैन। त्यस दिन दिउँसो २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको हो। चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको पाशविक घटनाले छिमेकीहरु अझै तर्सिन्छन्। घटनास्थलमा नीरालाई देख्ने छिमेकीहरु दृश्य सम्झँदा पनि आङ नै जिरिङ्ग हुने बताउँछन्।

दोषी पत्ता नलाग्दा स्थानीय आक्रोशित हुन थालेका छन्। यता प्रहरीले सबै कोणबाट अनुसन्धान जारी रहेको बताइरहँदा पनि अपराधको साँघुरो घेरातर्फ अझै जान सकेको देखिँदैन। 

बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गरिरहेकी थिइन्। पसल उनको कोठाभन्दा केही मिनेट लाग्ने दूरीमा छ। त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ र त्यस दिन योगेश पनि इलेक्ट्रोनिक्स पसलमै थिए। 

दुवैजना आआफ्ना व्यवसायमा हाँसीखुसी नै थिए। तर वैशाख ७ गते योगेशका लागि साढे सात बनेर आयो। एक छोरीकी आमा नीरालाई चक्कुले घोचेर हत्या गरिँदा उक्त घटनाबारे न छिमेकीले सुइँको पाए, न श्रीमान् योगेशले। 

अहिले त प्रहरीलाई समेत घटनाको सत्यतथ्य पत्ता लगाउन हम्मेहम्मे परिरहेको छ। ‘केस अलि जटिल नै छ, तर हामी दोषी पत्ता लगाउँछौं’, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले भने, ‘अहिले नै घटना यसै हो भनेर अनुमान गर्न सकिने देखिँदैन।’ उनले हरेक कोणबाट अनुसन्धान गरिरहेको र त्यसको घेरालाई ‘न्यारो डाउन’ गर्दै ल्याइएको जिकिर गरे।

प्रहरीका अनुसार घटना साढे २ पछि ३ बजेअघि नै भएको हो। पसलमा उधारो तिर्न आएका व्यक्तिले खबर गरेपछि मात्रै घटनाबारे प्रहरीमा खबर पुगेको थियो। प्रहरी पुग्दा नीरा गम्भीर अवस्थामा थिइन्। महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाबारे अनुसन्धान गरिरहेका छन्। पाँच दिन बित्दासमेत घटनाका दोषी पहिचान गर्न नसकेपछि स्थानीय आन्दोलित भएका छन्। आइतबार उनीहरुले घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषी पक्राउ गर्न माग गर्दै घटनास्थलमा प्रदर्शनसमेत गरे। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक, रवीन्द्र रेग्मीको नेतृत्वमा त्यहाँका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीसहितको टोली र जिल्ला प्रहरी परिसरले बौद्धका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा अनुसन्धान टोली खटाइएका छन्। तर अनुसन्धानमा खटिएका अधिकृतहरु अहिलेसम्म यही कारण हो भनेर यकिन गर्न सकिरहेका छैनन्। 

भाँडा पसलमा सीसी क्यामरासमेत नभएको र सडकका क्यामेराले नभेटेको प्रहरीले बताएको छ। प्रहरीले आसपास क्षेत्रमा रहेका सीसी क्यामेराका फुटेजबाट समेत अनुसन्धान गरिरहेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली घटनाका विषयमा गहिरो अनुसन्धान जारी रहेको र अहिलेसम्म आशङ्का र सम्भावनामा  अनुसन्धान जारी रहेको बताउँछन्। उनले कर्तव्य ज्यान अन्य आर्थिक अपराधजस्तो नहुने उल्लेख गर्दै अहिले यही कारण हो भन्न नसकिने बताए। 

यसरी भएको थियो घटना

त्यस दिन नीरा पसलमा एक्लै थिइन्। भाँडा पसलको पछाडि अलि भित्र काउन्टर छ। प्रायः पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन्। यही बेला नै एकान्तको छेको पारेर उनलाई आक्रमण गरिएको थियो। पसलको अघिल्लो भागमा छिमेकीले देख्ने भएकाले भित्र गएका बेला पारेर नै आक्रमण भएको प्रहरीको अनुमान छ। काउन्टर पछाडि भएकाले वरपरसमेत घटनाबारे थाहा हुन सकेन। दर्दनाक हत्याको कसैले सुइँको समेत पाएनन्। 

प्रहरीका अनुसार त्यस समय एकजना चिनजानकै महिला भाँडा किनेको उधारो तिर्न भाँडा पसलमा आएकी थिइन्। पसलमा नीरा देखिनन्। त्यसपछि उनका श्रीमान्‌लाई फोन गरेर कोही छैन दोकानमा भनेर सोधिन्। श्रीमान्‌ले पछाडि काउन्टर छ, त्यतैतिर होलिन् भित्र गएर हेर्नु न भन्ने जवाफ दिए। भित्र काउन्टर नजिक गएर हेर्दा एउटा बोरा देखियो। अलि नजिक गएर हेर्दा रक्ताम्मे अवस्थामा नीरा ढलिरहेको देखेपछि अत्तालिएर उनले नै प्रहरीलाई खबर गरेकी थिइन्। 

प्रहरीका अनुसार नीराको शरीरमा धारिलो हतियार (चक्कु) ले विभिन्न ठाउँमा घोचेको, ठाउँठाउँमा छियाछिया हुने गरी काटेको, हातमा कोपिएको पनि छ। उनले प्रतिकार गर्न खोजेकोसमेत देखिएको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन्। 

यसअघिका चक्कु प्रहार भएका घटनामा सिधै घाँटीमा हान्ने वा अन्य संवेदनशील अङ्गमा पुग्ने गरी धारिलो हतियार प्रहार भएका पाइएका थिए। तर नीराको हत्या फरक प्रकृतिले गरिएको प्रहरी नै बताउँछन्। ठाउँठाउँमा चक्कु हानेर तड्पाएर हत्या गरिएको जस्तो देखिएको छ। रगत बढी आउने ठाउँ खोजेर चक्कु हानिएको छ। 

नीराले घटना हुने केही घण्टाअघि आफ्नो पसलमा लामखुट्टे धपाउने ब्याट आएको प्रचार गर्न बनाएको भिडिओ हेर्दा पारिवारिक समस्या भएजस्तो नदेखिने अनुसन्धान अधिकृतहरु बताउँछन्। प्रहरी स्रोतले व्यावसायिक रुपमा अपराध गर्नेहरुबाटै घटना भएको अनुमान गरेको छ। आफ्नै व्यवसायमा तल्लीन नीरालाई केही घण्टामै आफ्नो जीवन समाप्त हुँदै छ भन्ने के थाहा? त्यस दिन ठीक ११:२१ बजे नीराले फेसबुकमा ‘लामखुट्टे तथा कीरा धपाउने ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला’ शीर्षक राखेर टिकटकको भिडिओ राखेकी थिइन्। 

भिडिओमा भनिएको छ, ‘के तपाईंहरु लामखुट्टेको टोकाइबाट ग्रसित हुनुभएको छ? अब नआत्तिनोस्, हामीहरुले ल्याएका छौँ- लामखुट्टे मार्ने इलेक्ट्रिक ब्याट, यो सरल र सहज तरिकाबाट प्रयोग गर्न सकिन्छ, एकदम सस्तो मूल्यमा पनि पाइन्छ, यसबाट बच्नका लागि हजुरहरुले छिट्टै अर्डर दिनुहोस् र लामखुट्टेबाट बच्नुहोस् र डेङ्गु रोग लाग्नबाट बच्नुहोस्, धन्यवाद।’

विडम्बना! उनको रोगबाट बच्न दिएको सार्वजनिक सन्देश नै अन्तिम हुन पुगेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .