अपराध


रवि लामिछाने गृहमन्त्री भएपछि ‘निर्मलाले न्याय पाउने आशा जाग्यो’

रवि लामिछाने गृहमन्त्री भएपछि ‘निर्मलाले न्याय पाउने आशा जाग्यो’

नेपालखबर
पुस २८, २०७९ बिहिबार १८:१५, बेदकोट

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। 

गृहमन्त्री रवि लामिछानेको सक्रियतामा घटनालाई प्राथमिकता दिएर नयाँ शिराबाट अनुसन्धानका लागि सिंह नेतृत्वको टोली कञ्चनपुर पठाइएको छ। पछिल्लो समय सेलाउँदै गएको निर्मला प्रकरण फेरि चर्चामा आएको छ। २०७५ साउन १० मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन्। 

यस्तो जघन्य अपराध भएको चार वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुनसकेको छैन। निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस् तथ्य पत्ता लगाउन सकेको छैन। पछिल्लोपटक फेरि नयाँ शिराबाट अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको आमा दुर्गादेवीले बताइन्। 

“यत्रो समयसम्म अपराधी पत्ता नलाग्दा छोरीले न्याय पाउने आशा नै मारिसकेका थियौंँ, अहिले नयाँ टोली अनुसन्धानका लागि आएको सुनेकी छु”, उनले भनिन्, “अहिले न्याय पाउने आशा पलाएको छ।”

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलालाई न्याय दिन ढिलाइ गर्न नहुने अधिकारकर्मी माया नेगीले बताइन्।

“निर्मला प्रकरण सबैको चासोको विषय हो, निर्मलाले न्याय पाउनेमा हामी आशावादी छौँ”, उनले भनिन्, “सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .