ad ad

अपराध


पल शाह प्रकरणको पूर्णपाठ : फ्यान बन्न खोज्यो भन्दैमा बालप्रतिभालाई गलत प्रयोग गर्नुहुँदैन

‘जबरजस्ती करणी गरेको नदेखिँदा पल शाहले कसुरबाट सफाइ पाउने ठहर्छ’
पल शाह प्रकरणको पूर्णपाठ : फ्यान बन्न खोज्यो भन्दैमा बालप्रतिभालाई गलत प्रयोग गर्नुहुँदैन

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १७:२५, काठमाडौँ

अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।

पल शाहविरुद्ध एक नाबालिगको जाहेरीपछि गत चैत ३ गते जिल्ला अदालतमा जबरजस्ती करणको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको फैसला सुनाउँदै पल शाहलाई जबरजस्ती करणीको कसुरमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा साढे २ वर्ष कैदको फैसला भएको छ। यस्तै नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ।

जिल्ला अदालत नवलपुरको फैसलाको पूर्णपाठ आएसँगै अब यसविरुद्ध उच्च अदालतमा पुनरावेदनको तयारी गर्ने पल शाहका अधिवक्ता कमलामोहन वाग्लेले बताए।

‘दशैँअघि नै त भ्याइँदैन। तर दशैँपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्छौँ’, अधिवक्ता वाग्लेले नेपालखबरसँग भने, ‘यो फैसला चित्त बुझ्दो छैन।’

यस्तै जिल्ला अदालत तनहुँमा पनि तिनै नाबालिगका तर्फबाट मुद्दा दायर भएको छ। तनहुँमा असोज २६ गतेलाई पेशी तोकिएको छ।

दशैँ लागेका कारण आइतबारदेखि अदालतमा नियमित मुद्दाको सुनुवाइ नहुने भएकाले पेश पछि सरेको हो। तनहुँमा पनि मुद्दा फैसलाको तयारीमा पुगेको छ।

बलात्कार मुद्दामा सफाइ पाउने आधार
दुवै अदालतमा जाहेरवाला र पीडितले भने इन्कारी बयान दिएका थिए। इन्कारी बयान दिए पनि शाहलाई अदालतले अन्य घटनाक्रम र प्रमाणका आधारमा पूर्ण निर्दोष नरहेको ठहर गरेको हो। तर अदालतले जबरजस्ती करणीको मुद्दामा भने सफाइ दिएको थियो।

अदालतको फैसलामा भनिएको छ, ‘करणीको कसुरका प्रत्यक्षदर्शी भनेका नै पीडक र पीडित नै हुन्। त्यसकारण जबरजस्ती करणीको कसुरको प्रत्येक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने र भौतिक सबुदको प्रमाणको रुपमा निजको मौकाको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रुपमा रहने हुन्छ।’

अदालतले मिसिल बाहिर गएर अनुमानको आधारमा प्रमाण नभए पनि यसो हुन सक्ला भनी निर्णय गर्न नमिल्ने फैसलामा उल्लेख छ। अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोगलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने भए पनि प्रतिवादीले अनुसन्धानका क्रममा इन्कारी बयान दिएका थिए।

तर उनले पीडितसँग भएको कुराकानी, म्यासेज आदानप्रदान भएको र पेश भएको अडिओ र त्यहाँ गरिएको छलफल स्वीकार गरेका थिए। अदालतमा पनि उनले इन्कार नै गरेका थिए।

‘मिसिल संलग्न माथि उल्लिखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसुर गरेको भनि अनुमान गर्न मिल्ने अवस्था देखिँदैन। अदालतले सडकमा उठाइएको आवाज एवं प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन। अदालतमा पेश भएका कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ।

अझ फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनुपर्छ’, फैसलाको पूर्णपाठमा उल्लेख छ।

प्रतिवादीको इन्कारी बयानलाई जाहेरवाला र पीडितको अदालतसमक्षको बकपत्रबाट पुष्टि भइरहेको अवस्थामा प्रतिवादीमाथि लगाइएको अभियोगबाहेक वादी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरु पेश गर्न नसकेको अदालतको ठहर छ।

प्रतिवादी, पीडित र जाहेरवालाले समेत जाहेरी व्यहोरा खण्डित हुने गरी अदालतमा बकपत्र गरेको, जाहेरवालाले नै खण्डित हुने गरी बकपत्र गरेको, अन्य बयान लिएका व्यक्तिहरुले पनि शाहले जबरजस्ती करणी गरेको भनी भन्न नसकेको अवस्थामा मिसिलभन्दा बाहिर गई अनुमानको आधारमा करणी लिनुदिनु भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादीउपर कसुर ठहर गर्न नमिल्ने फैसलामा उल्लेख छ।

स्वाथ्य परीक्षणमा पीडितको कन्याजाली च्यातिएको उल्लेख भए पनि शारीरिक सम्पर्क वा करणीको कारणबाट नै कन्याजाली च्यातिएको हो भनी अनुमान गर्न नमिल्ने र पीडितले नै सानैबाट साइकल चलाउने र अरुलाई पनि सिकाउने गरेको भनी बकपत्र गरेकाले करणी गरेको हो भन्ने अभियोगमा गरिएको दाबीबाहेक अन्य वस्तुनिष्ठ प्रमाण कागजातबाट नदेखिएको फैसलामा उल्लेख छ।

‘प्रतिवादीबाट अभियोगमा दाबी गरेजस्तो पीडितलाई जबरजस्ती करणी गरेको कसुर अपराध गरेको नदेखिँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ’, फैसलामा भनिएको छ।

शाह र नाबालिग प्रेमी–प्रेमिकाको सम्बन्धमा रहेको देखिन्छ
जबरजस्ती करणीको कसुर ठहर नहुने फैसला गरे पनि अदालतले शाहलाई साढे २ वर्ष कैदको फैसला र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। यस्तै शाहलाई जरिवाना पनि गरेको छ।

पीडित र जाहेरवालाले प्रतिवादीलाई फसाउने नियतबाट बनावटी जाहेरी दिएको र जाहेरीको सम्पूर्ण कुरा झूटा भएको अनुमान गर्न पनि नमिल्ने फैसलामा उल्लेख छ।

फैसलामा भनिएको छ, ‘पीडित नाबालिका आफू पनि गायन र म्युजिक भिडियो लगायत अभिनयको क्षेत्रमा छुट्टै पहिचान बनाएकी उदाउँदो बाल प्रतिभा रहेको र आफ्नो गायन एवं अभिनयको क्षेत्रलाई नै प्रत्यक्ष असर पर्ने गरी कसैको प्रलोभनमा परी अरु कसैको कलाकारिता र अभिनयलाई नै मेट्ने उद्देश्यले मात्र जाहेरी दिएको भन्ने कुरा अनुमान गर्न मिल्ने देखिँदैन।’

पल शाहमाथि थप सजाय गर्दा अदालतले अडिओलाई नै मुख्य प्रमाण मानेको देखिएको छ। मिसिलमा पेश भएको अडिओ क्लिप एवं त्यसमा रहेको अश्लील संवाद र प्रेमीप्रेमिकाबीच हुने सम्बन्ध तथा कस्तो अवस्थामा विवाह गर्नुपर्ने हुन्छ भन्ने विषय समेत समेटिएको सम्वादबाट उनीहरुको सम्बन्ध भेटघाट र सामान्य बोलचालमै सीमित थियो भन्ने अवस्था नदेखिएको अदालतको ठहर छ। अडिओ संवाद आफ्नो भएको प्रतिवादी शाहले पनि स्वीकार गरेका थिए।

यही अडिओलाई आधार मान्दै अदालतले पल शाह र पीडित नाबालिग प्रेमी–प्रेमिकाको सम्बन्धमा रहेको देखिएको उल्लेख गरेको छ।

‘वारदातको समयमा आफू वारदातस्थलमा रहेको कुरा स्वीकार गर्नु साथै उक्त समयमा सुटिङको क्रममा थाकेको कारण थोरै मदिरा सेवनसमेत गरेको कुरा समेत स्वीकार गरी अघिल्लो दिन पीडित एक्लै सुत्दा डर मानी होटल साहुनीको छोरीसँग सुत्न गएकाले आज पनि डर लाग्छ कि भनेर सोध्दा डर लाग्दैन भनेकोले म मेरो कोठामा गई सुतेको हुँ भनी अनुसन्धानको क्रममा भनेको र यो वारदात घटना पछाडि पनि यी पीडित र प्रतिवादीबीचमा निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्कहरु समेत हुँदै आएकोमा त्यसै क्रमको सिलसिलामा मध्यबानेश्वरमा पीडित र प्रतिवादीहरुबीचको संवाद एवं छलफलको अडिओ क्लिप बनाइएको समग्र अवस्थाले यी प्रतिवादी र पीडित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ’, फैसलामा भनिएको छ।

एउटा स्थापित कलाकारले नाबालिकासँग कस्तो व्यवहार गर्नुपर्छ भनी विचार गर्नुपर्ने र नाबालिक उमेरमा एउटा चर्चामा रहेको अभिनेता रहेको व्यक्तिसँग नजिक हुनु र उसलाई चाहनु उसको गल्ती नभएको अदालतको ठहर छ। पर्दामा मात्रै नभएर वास्तविक दुनियाँमा पनि नायकीपन कायम गर्न सक्नुपर्ने फैसलामा उल्लेख छ।

‘आफूप्रति कोही नजिक हुन र आफ्नो सामाजिक छविका कारणले फ्यान बन्न खोज्यो भन्दैमा आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रुपले प्रयोग गर्नुहुँदैन’, फैसलामा भनिएको छ, ‘यी प्रतिवादीबाट नाबालिकाउपर अडिओ संवादमा प्रयोग गरेका शब्द एवम् संवाद तथा अन्य एसएमएसलगायतका कुराकानीका गतिविधि समेतलाई हेर्दा एउटी नाबालिकाउपर यी प्रतिवादीले अभिभावकीयरुपले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा नगरी एउटा प्रेमीका रुपमा आफूलाई प्रस्तुत गरी नाबालिकाउपर व्यवहार गरेको देखिन्छ।’

पल शाहले नाबालिकाउपर गरेको व्यवहार एवं अडिओ क्लिपको संवादलाई हेर्दा यौनजन्य अस्वाभाविक व्यवहार गरेको अदालतको ठहर छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (२) मा कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने व्यवस्था छ।

पल शाहले मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (१) विपरीतको बालयौन दुरुपयोगको कसुर अपराध गरेको अदालतको ठहर छ।

प्रतिवादीले आफू गीत संगीत र फिल्म क्षेत्रमा रहेर झन् संवेदनशील बनेर बाल कलाकारहरुलाई संरक्षण गर्नुपर्नेमा आफैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर प्रेमीका रुपमा प्रस्तुत भई कसुर गरेकाले २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना हुने फैसलामा भनिएको छ।

जाहेरी दिएपछि पीडितलाई प्रत्यक्ष असर, मानसिक पीडा र सहज रुपमा समाजमा आफ्नो अभिनय र गायन क्षेत्रमा कामकाज गर्न नपाएकाले क्षतिपूर्ति पनि भराउन अवाश्यक देखिएको भन्दै १० लाख क्षतिपूर्ति भराइदिने अदालतको ठहर छ।

उक्त क्षतिपूर्ति रकम पल शाहको रोक्का राखिएको बैंक खाताबाटै भराइदिन अदालतले आदेश दिएको छ।

अविभावकलाई पनि अभिभावकीय कर्तव्य वहन गर्न र छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राखी शिक्षादीक्षा लगायतका काममा उचित ध्यान दिन अदालतले सचेत गराएको छ।

यस्तै, गोपनीयता कायम गर्नुपर्ने कसुरमा मिडिया ट्रायल गर्ने, आफ्नो न्युजमा भ्युज बढाउनका लागि विषयवस्तुको संवेदनशीलतालाई बेवास्ता गरी समाचार सम्प्रेषण गरेको भन्दै सचेत गराएको छ।

पल शाह भने हाल कारागार कार्यालय तनहुँमा छन्। यसअघि थुनछेक बहसका क्रममा उनलाई थुनामा पठाउन दुवै अदालतले आदेश दिएका थिए। तनहुँ अदालतको आदेशपछि उनले कति सजाय भोग्नुपर्ने भन्ने टुंगो लाग्नेछ।

हेर्नुहोस् पूर्णपाठ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .