निर्माण


मध्यराति विमानस्थलमा मन्त्री पाण्डे, निर्माणस्थल हेरेपछि भने- बन्द अवधि घटाउन सकिने आशा पलायो

मध्यराति विमानस्थलमा मन्त्री पाण्डे, निर्माणस्थल हेरेपछि भने- बन्द अवधि घटाउन सकिने आशा पलायो

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १२:४, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गए राति (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निरीक्षण गरेका छन्। 

पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो। त्यस क्रममा मन्त्री पाण्डेले समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेसनल एप्रोन’ ‘ह्यांगर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरी कार्यप्रगतिबारे जानकारी लिए।

स्थलगत अनुगमनपछि उनले निर्माणको गतिप्रति सन्तोष व्यक्त गर्दै उनले गुणस्तरमा कुनै कमी हुन नदिने गरी तीव्र गतिमा काम गर्न भनेका छन्।

विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेकाले समयभन्दा अगावै सम्पन्न हुने विश्वास पनि उनले व्यक्त गरे। यही गतिमा काम हुने हो भने दिनको १० घण्टा बन्द गर्नु नपर्ने उनको भनाइ थियो। चैत १८ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक १० घण्टा विमानस्थल बन्द गरेर काम भइरहेको छ।

काम सन्तोषजक भएमा १० घण्टाको साटो बन्द गर्ने अवधि ८ घण्टामा झार्न सकिनेबारे पनि मन्त्री पाण्डेले परामर्श गरेका छन्।

‘तीन घण्टा त पहिला पनि बन्द हुन्थ्यो। प्लस ७ घण्टा गरेर १० घण्टा एयरपोर्ट बन्द गरेर हामीले युद्धस्तरमा काम गरिरहेका छौँ,’ निरीक्षणपछि उनले भने, ‘भइरहेको काम के कति प्रगतिका साथ, कस्तो गतिका साथ अघि बढिरहेको छ भनेर हेर्न भनेर हामी आएका हौँ। हामीले सोचेअनुसार नै तीव्र गतिमा बढो तदारुकताका साथ सबै साइटहरूमा काम भइरहेको हामीले देख्यौँ। यसबाट हामी के अनुमान गर्न सक्छौँ भने हामीले जुन समय तोकेका छौँ, चैत १८ गतेसम्म १० घण्टा एयरपोर्ट क्लोज गरेरै काम गर्छौं भन्ने समय तोकेका थियौँ। त्योभन्दा पनि पहिला पो काम भ्याइन्छ कि? १० घण्टा बन्द गर्नुपर्ने समयलाई केही घटाउन सकिन्छ कि? त्यसपट्टि पनि आशा पलाएको छ।’

उनले गुणस्तरमा कमी नहुने गरी काम गर्न पनि निर्माण पक्षलाई निर्देशन दिएका छन्।

उनले भने, ‘एयरपोर्ट बनाउनेजस्तो कुरा, ट्याक्सी वे र रन वेको बीचको जुन कनेक्टिङ वे हामी बनाउँदै छौँ, त्यो भनेको रनवेजत्तिकै बलियो हुनुपर्छ, मजबुत हुनुपर्छ। त्यहाँमाथि पनि न्यारोबडी, वाइडबडीलगायतका धेरै ठूलो लोड भएका जहाज गुडाउनु, उडाउनुपर्ने हुन्छ। त्यसकारण त्यति नै मजबुत बनाउनुपर्छ। त्यो दृष्टिकोणले पनि यसको गुणस्तरको कुरा र यो समयमै सम्पन्न भए यसको कष्ट नबढ्ने कुरामा ध्यान दिएर निर्माण व्यवसायी, प्राविधिक साथीहरूले काम गरिरहनुभएको छ। अहिले भइरहेको काम सन्तोषजनक छ। १० घण्टा बन्द गर्नुको प्रतिफल हामीले पाउँछौँ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad