अर्थनीति


संविधानको पानामा अधिकार, रोल्पाको बगरमा हाहाकार !

संविधानको पानामा अधिकार, रोल्पाको बगरमा हाहाकार !

प्रदीप आचार्य
फागुन २८, २०८२ बिहिबार १७:१०, काठमाडौँ

नेपालको संविधानले स्थानीय तहलाई आफ्ना स्रोत–साधनको संरक्षण, व्यवस्थापन र त्यसबाट राजस्व संकलन गर्ने स्पष्ट अधिकार प्रदान गरेको छ।

संविधानले दिएको अधिकारअनुसार स्थानीय तहले प्राकृतिक स्रोतको उपयोग, स्थानीय कर तथा सेवा शुल्क संकलन र विकास निर्माणका लागि आवश्यक स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरेको छ। तर व्यवहारमा भने धेरै स्थानीय तहहरूले ती अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेका छैनन्। विशेषगरी लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूका पालिकाहरूमा प्राकृतिक स्रोत व्यवस्थापन र त्यसबाट राजस्व संकलन गर्ने विषयमा अझै पनि पर्याप्त काम हुन सकेको देखिँदैन।

 व्यवहारमा धेरै स्थानीय तहहरूमा यस्तो कानुनी संरचना निर्माण हुन नसक्दा प्राकृतिक स्रोत व्यवस्थापन प्रभावकारी हुन सकेको छैन।
लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै पालिकाहरूमा प्राकृतिक स्रोतको व्यवस्थापनका लागि आवश्यक नीति तथा कानुन निर्माण हुन नसक्दा राजस्व संकलन न्यून हुने गरेको देखिन्छ। कतिपय पालिकाहरूले अझैसम्म नदीजन्य पदार्थ उत्खनन, व्यवस्थापन र बिक्री वितरणका लागि स्पष्ट नीति तथा कार्यविधि समेत बनाउन सकेका छैनन्। 

रोल्पामा थालिएको छ प्रयास
रोल्पा जिल्लाको सुनछाहारी गाउँपालिकाले नदिजन्य पदार्थ मार्फत हुने राजस्व संकलनको प्रयास गरिएको भएपनि आम्दानी हुन सकेको छैन। गाउँपालिकाको आन्तरिक आम्दानी निकै न्यून रहेको छ। गाउँपालिकाले प्राकृतिक स्रोतबाट केही रोयल्टी संकलन गरे पनि नदीजन्य पदार्थको व्यवस्थापनका लागि ऐन निर्माण भएको छैन । भर्खरै ऐन निर्माण प्रक्रिया थालिएको छ।
 
गाउँपालिकामा ढुंगा, गिट्टी र बालुवा जस्ता नदीजन्य पदार्थ प्रशस्त मात्रामा उपलब्ध भए पनि यसको व्यवस्थापन नहुदा राजस्व संकलन हुन सकिरहेको थिएन। गाउँपालिकाले हाल तीन वटा स्थानमा उत्खननका लागि ठेक्का लगाउने प्रक्रिया सुरु गरेको गाउँपालिकाका इन्जिनियर घनश्याम हमालले जानकारी दिए। तर भौगोलिक अवस्था, पहुँच मार्गको अभाव र बजारको कमीका कारण ठेक्का प्रक्रिया अपेक्षाकृत अघि बढ्न नसकेको उनले बताए।

स्थानीय स्तरमा विशेष गरी ढुंगा बढी उत्खनन हुने गरेको छ भने बालुवा न्यून मात्रामा प्रयोग हुने गरेको छ। उत्खनन हुने स्थानसम्म पुग्ने सडक मार्ग नहुँदा पनि नदीजन्य पदार्थको व्यवस्थित उत्खनन तथा बिक्री वितरणमा समस्या हुने गरेको छ। त्यसका साथै अवैध रूपमा ढुंगा तथा गिट्टी चोरी हुने समस्या पनि रहेको उनले बताए।

गाउँपालिकाका इन्जिनियर हमालका अनुसार गाउँपालिकाले प्राकृतिक स्रोतको उपयोगलाई व्यवस्थित बनाउन कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको हो। विकास निर्माणका काममा स्थानीय स्रोत–साधनको प्रयोगलाई प्राथमिकता दिने नीति बनाउन लागिएको उनले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले पूर्वाधार विकास तथा भवन निर्माणका काममा स्थानीय स्तरमै उपलब्ध ढुंगा, गिट्टी जस्ता सामग्री प्रयोग गर्ने व्यवस्था मिलाउने गरी कानुन बनाउँदै छ । यसले स्थानीय स्रोतको उपयोग बढाउने मात्र नभई गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।



रोल्पाकै लुङ्री गाउँपालिकामा नदीजन्य पदार्थको व्यवस्थापन र ठेक्का प्रक्रियामा झनै चुनौती देखिएको छ। गाउँपालिकाले पटक–पटक नदीजन्य पदार्थको ठेक्का आह्वान गरे पनि हालसम्म कुनै व्यवसायीले रुचि नदेखाएको जनाएको छ।

गाउँपालिकाले खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननका लागि पहिलो पटक ३ लाख ८ हजार रुपैयाँको ठेक्का आह्वान गरेको थियो। तर उक्त ठेक्कामा हालसम्म कुनै पनि व्यवसायी सहभागी नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले जानकारी दिए।
गाउँपालिकाका अनुसार पालिकाभित्र चार वटा घाट रहेका छन्। ती घाटहरूबाट नदीजन्य पदार्थ उत्खनन गर्न सकिने भए पनि हालसम्म कुनै पनि घाटमा औपचारिक उत्खनन तथा किनबेचको प्रक्रिया सुरु हुन सकेको छैन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले ठेक्का प्रक्रिया अगाडि बढाउन प्रयास भइरहे पनि इच्छुक व्यवसायी नआउँदा समस्या भइरहेको बताए। बजारको पहुँच, यातायातको अभाव र आर्थिक सम्भाव्यता कम देखिएका कारण व्यवसायीहरूले ठेक्का लिन इच्छुक नदेखिएको हुन सक्ने उनको अनुमान छ।

स्थानीय तहलाई संविधानले दिएको अधिकार व्यवहारमा पूर्ण रूपमा प्रयोग हुन नसक्दा प्राकृतिक स्रोतको व्यवस्थापन र राजस्व संकलनमा समस्या देखिएको छ। यसले स्थानीय विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत जुटाउन पनि कठिनाइ उत्पन्न गरिरहेको छ।



यसो भन्छन जानकार 
संविधानविद टिकाराम भट्टराई प्राकृतिक स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहहरूले स्पष्ट कानुनी संरचना निर्माण गर्न आवश्यक रहेको बताउँछन । उनले उत्खनन स्थलसम्म पुग्ने सडक पहुँच विस्तार, पारदर्शी ठेक्का प्रणाली, नियमित अनुगमन तथा अवैध उत्खनन नियन्त्रणका उपायहरू स्थानीय तहहरुले  अपनाउनुपर्ने बताए।
स्थानीय सरकारहरूले समयमै नीति तथा व्यवस्थापन प्रणाली विकास गर्न सके प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै स्थानीय विकासका लागि महत्वपूर्ण राजस्व संकलन गर्न सकिने सम्भावना रहने उनको धारणा छ।  

कानुनी प्रावधान 
नेपालको संविधानको धारा ५७ र अनुसूची ८ मा स्थानीय तहलाई स्थानीय कर, सेवा शुल्क तथा दस्तुर उठाउने, स्थानीय स्रोत–साधनको संरक्षण तथा व्यवस्थापन गर्ने अधिकार प्रदान गरिएको छ। यसले स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रका प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै विकास निर्माणका लागि आवश्यक आम्दानी जुटाउने संवैधानिक आधार दिएको छ। त्यस्तै संविधानको धारा ६० ले पनि स्थानीय तहलाई स्व–स्रोत तथा बाँडफाँड अन्तर्गत आफ्नो अधिकार क्षेत्रभित्र कर लगाउने र राजस्व संकलन गर्ने अधिकार स्पष्ट रूपमा व्यवस्था गरेको छ।

यस व्यवस्थाअनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न प्राकृतिक स्रोत तथा आन्तरिक आम्दानीका स्रोतबाट राजस्व उठाउन सक्ने संवैधानिक अधिकार प्राप्त गरेका छन्। स्थानीय स्तरमा उपलब्ध नदीजन्य पदार्थ, ढुंगा, गिट्टी, बालुवा, खानी, खनिज तथा अन्य प्राकृतिक स्रोतहरूबाट उचित व्यवस्थापनका साथ आम्दानी गर्न सकिने सम्भावना रहेको छ।


त्यसैगरी अनुसूची ९ मा प्राकृतिक स्रोत, खानी, खनिज तथा नदीजन्य पदार्थजस्ता विषयहरूलाई संघ, प्रदेश र स्थानीय तहको संयुक्त अधिकार सूचीमा राखिएको छ। यसको अर्थ यस्ता स्रोतहरूको व्यवस्थापनका लागि तीनै तहका सरकारहरूले समन्वय गरेर कानुन निर्माण गर्न सक्ने र त्यसअनुसार व्यवस्थापन गर्न सक्ने व्यवस्था संविधानले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad