ad ad

ब्लग


बुटवललाई लुम्बिनीको आर्थिक राजधानी बनाउन हामी सहयोगी बन्छौँ

बुटवललाई लुम्बिनीको आर्थिक राजधानी बनाउन हामी सहयोगी बन्छौँ

चन्द्र ढकाल
फागुन २, २०७७ आइतबार १३:५३,

विषम परिस्थितिमा पनि तोकिएकै समयमा लुम्बिनी केबलकार आयोजनाको शिलान्यास हुनुले निजी क्षेत्रमा नयाँ आशा र उमंग सञ्चार भएको छ।

मैले यो सन्दर्भ यहाँ किन राख्दै छु भने हामी आज पनि त्यो भूकम्पजस्तै अकल्पनीय कोरोना महामारीबाट गुज्रिरहेका छौं। यही कारण नेपाल भ्रमण वर्ष २०२० आयोजना गर्न नपाउँदा सरकार र निजी क्षेत्रले त्यसका लागि गरेको अर्बाैं लगानी खेर गएको छ।

देशका धेरै क्षेत्र र त्यसमा पनि पर्यटन क्षेत्र लगभग थला नै परेको छ। तर अब कालो बादलभित्रै चाँदीको घेरा खोज्नुपर्ने बेला आएको छ।

अँध्यारो रातपछि सूर्याेदय सुनिश्चित भएजस्तै महामारीको यो त्रासदीपछि अबका दिन सुनौला बनाउन हामी सबै क्षेत्र मिलेरै लाग्नुपर्छ। त्यसैले पूर्वाधार निर्माणमा जुट्ने प्रणका साथ हामी लुम्बिनी केबलकार सुरु गर्ने अवस्थामा आइपुगेका छौं। 

Lumbini CableCar

प्रधानमन्त्रीबाट शिलान्यास भएको लुम्बिनी केबलकार हामी तोकिएकै समयमा निर्माण पूरा गरी सञ्चालन गर्नेछौं।

लुम्बिनी, विश्वका लगभग आधा मानिसको आस्थाको धरोहर हो। त्यसैले पनि हामी नेपाली विश्वका सबै नागरिकभन्दा भाग्यमानी र गौरवशाली छौं।

शान्तिका अग्रदूत गौतमबुद्ध जन्मिएको यस पुण्यभूमिमा मलाई लाग्छ, आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय संरचना जति निर्माण गरे पनि थोरै नै हुन्छ।

यसकारण पनि हामी यो क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थलका रूपमा विकास गर्ने प्रयत्नमा छौं। प्रधानमन्त्रीले अघि सार्नु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा यो आयोजनाले एउटा इँटा थप्छ भन्ने मलाई लागेको छ।

केही गरौं भन्ने हाम्रो प्रयासमा प्रधानमन्त्रीबाट निरन्तर प्राप्त प्रेरणा र सद्भावले हामीलाई अझ उत्साहित बनाएको छ।

पर्यटन पूर्वाधार विकाससम्बन्धी सरकारी नीतिलाई पनि यो आयोजनाले सघाउने हाम्रो अपेक्षा छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले हालै बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने जुन घोषणा गरेको छ,  त्यसमा पनि हामी थोरै भए पनि सहयोगी बन्न सक्छौँ भन्ने लागेको छ।

प्राकृतिक सौन्दर्यले सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशीलता कायमै राखी स्थानीय साझेदारसँगको समन्वयमा यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटन विकासमार्फत देशकै समृद्धि हासिल गर्ने काममा हामी लाग्ने छौं,  यो हाम्रो प्रतिबद्धता हो।

Lumbini CableCar6

मलाई लाग्छ- यस्ता संरचना राष्ट्रकै एवं स्थानीय नागरिकका सम्पत्ति हुन्। छोटै समयमा आज चन्द्रागिरि केबलकार काठमाडौंवासीका लागि मात्र नभएर नेपाल भ्रमणमा आउने विदेशी विशिष्ट पाहुनाका लागि समेत उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको कुरा यहाँहरू सबैलाई अवगतै छ। जसले देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न पनि उत्तिकै योगदान गरिरहेको छ।

लुम्बिनी केबलकार पनि नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारसहित यहाँका दाजुभाइ तथा दिदीबहिनीको सामूहिक प्रयासबाट जति छिटो सञ्चालन गर्न सक्छौं त्यति नै हामी सबै लाभान्वित हुन सक्छौं भन्ने मलाई लाग्छ।

बुटवल, देशकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको स्थान हो। हामीलाई संयोग के पनि मिलेको छ भने देशको अर्थ व्यवस्था नेतृत्व गरिरहनुभएका अर्थमन्त्री विष्णु पौडेलको गृह जिल्ला पनि हो, रूपन्देही।

यस आयोजनालाई यो अवस्थासम्म ल्याइपुर्‍याउन उहाँबाट प्राप्त सहयोग र सदभावको म उच्च सम्मान प्रकट गर्छु। त्यसैगरी मुख्यमन्त्री शंकर पोखरेलबाट प्राप्त सहयोग र प्रेरणाका लागि पनि हार्दिक धन्यवाद दिन्छु। आगामी दिनमा पनि उहाँहरूको निरन्तर सहयोगको अपेक्षा गर्छु।

त्यसैगरी हामीलाई सहजीकरण गरी आवश्यक वातावरण जुटाइदिने बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षहरू, तिनाउ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षहरू र सम्पूर्ण पालिका परिवारलाई विशेष धन्यवाद दिन्छु।

हाम्रा देशको प्रमुख पर्यटन बजार हाम्रा दुई छिमेकी मुलुक हुन्। हामी अहिले भारतको बोर्डरबाट ३० मिनेट मात्रको ड्राइभमा छौं। अर्कातर्फ लुम्बिनी क्षेत्र उत्तरी छिमेकी चीनको सबैभन्दा बढी इच्छाइएको धार्मिक पर्यटकीय गन्तव्य हो। 

यी दुई छिमेकीको जनसंख्या विश्वकै एक तिहाइभन्दा बढी छ। यसको शुन्य दशमलव ५ प्रतिशत मात्र मानिसलाई हामीले पर्यटकका रूपमा नेपाल भित्र्याउन सक्यौं भने हाम्रा लागि समृद्धि धेरै टाढा हुँदैन। त्यसैले मैले यहाँ भौतिक पूर्वाधार र पर्यटकीय संरचना जति बने पनि थोरै नै हुन्छ भनेको हुँ।

यो विशाल पर्यटकीय बजारमा लुम्बिनी केबलकारले आगामी दिनमा सेवा गर्ने नै छ। यसको निर्माण, संरक्षण र सम्वर्द्धनले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउनाका साथै यहाँका नागरिकको जीवनस्तर उकास्नसमेत सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ।

देशभित्र लगानीका सम्भावना प्रशस्त छन्। तर राष्ट्रिय रूपमा गम्भीर अर्थ राख्नेगरी लगानीको अभियान नै सुरु होस् भन्ने हाम्रो अपेक्षा हो।

देशभित्रै लगानीका सम्भावना खोजिरहेका हामी व्यवसायीका लागि यो शिलान्यासले लगानीको अवसर र वातावरणका लागि सकारात्मक सन्देश दिनेछ भन्ने विश्वास छ।

हामी चाहन्छौं– देशमा उद्यमशीलताका कैयौं सफल उदाहरण बनुन् र तिनको प्रेरणाबाट बढीभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ताले नेपाली माटोमै लगानी गरेर सुन फलाउन सकुन्।

Lumbini CableCar5

राज्य र निजी क्षेत्रबीच साझेदारीको उत्कृष्ट नमुनाका रूपमा हामी मलेसियालाई लिन सक्छौं। राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने उसले त्यसबाट सिर्जना हुने रोजगारी, कर तथा राजश्व र भौतिक पूर्वाधार निर्माणबाट पर्याप्त फाइदा लिन सक्छ।

केही वर्षअगाडि मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मद नेपाल आउनुभएको थियो। त्यसबेला मैले उहाँलाई काठमाडौंका केही स्थान घुमाउने मौका पाएको थिएँ। त्यस क्रममा मैले उहाँलाई सोधेको थिएँ, ‘छोटो समयमै मलेसियाले गरेको विकासको रहस्य के हो?’

उहाँको जवाफ थियो, ‘राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन।’ 

उहाँले अगाडि भन्नुभएको थियो, ‘राज्य लगानीबिनाको साझेदार हो। हामीले त्यतिबेला तीन तहकै सरकारबाट चाहे स्वदेशी लगानीकर्ता होस् वा विदेशी लगानीकर्ता, तिनका लगानीलाई प्रोत्साहन गर्‍यौं र फलस्वरूप राज्यले बिनालगानी प्रतिफल राजश्व प्राप्त गर्‍याे। यो नै मलेसियाले छोटो समयमा विकास गर्न सक्नाको कारण हो।’

त्यसैले लगानीका लागि तीनवटै तह (स्थानीय, प्रदेश र केन्द्र) सरकारका तर्फबाट निजी क्षेत्रलाई सहजीकरण गरिदिने र राज्य–निजी क्षेत्र साझेदारी नीतिलाई व्यवहारमा उतार्ने हो भने हाम्रो देशमा पनि लगानीको वातावरण बन्दै छोटो समयमै विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिनेछ।

नयाँ संविधान जारी भएसँगै मुलुक संघीय संरचनामा गएपछि लगानीको वातावरणमा केही सुधार आएको हामीलाई महसुस भएको छ। तर तीन तहका सरकारबीच जुन समन्वय हुनुपर्थ्याे,  नहुँदा अझै केही अप्ठेरा बाँकी छन्। यसको समाधान गर्न सकिएमा आगामी दिनमा लगानीको थप वातावरण बन्नेछ। मुलुकको समग्र निजी क्षेत्रको अनुभव र अपेक्षा यही नै हो।

(फागुन १ गते लुम्बिनी केबलकार शिलान्यासमा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले दिएको मन्तव्यको सम्पादित अंश)

यो पनिः
३ अर्बमा बन्दैछ तारे होटलसहित लुम्बिनी केबलकार, लुम्बिनीवासी उत्साहित

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .