ad ad

ब्लग


जेएनयूकै नियति भोग्दैछ बलिउड

जेएनयूकै नियति भोग्दैछ बलिउड

समिरा सुद
असोज १२, २०७७ सोमबार १३:१६,

अभिनेत्री दीपिका पादुकोण गोवाबाट मुम्बई कति बजे पुगिन्? यतिबेला भारतीय टीभी च्यानल र सामाजिक सञ्जाल हेर्ने हो भने यो विषय मुलुकको गिर्दो अर्थतन्त्र, बढ्दो बेरोजगारी र चीनसँग चर्किएको तानवभन्दा निकै महत्वपूर्ण बनेको छ।

गएको तीन महिना सरकारनिकट टीभी च्यानलहरुले बलिउडलाई राजनीतिक मुद्दाबाट जनताको ध्यान हटाउने माध्यमका रुपमा प्रयोग गरेका छन्। बलिउड नयाँ जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयू) बनेको छ। उतिबेला जेएनयूका टुकडे टुकडे ग्याङको राक्षसीकरण गरिन्थ्यो, यतिबेला बलिउडका नसेडी ग्याङको। भारतीय जनताको एउटा ठूलो हिस्साका लागि बलिउड सधैँ नै अफिमबराबर थियो। यतिबेला बलिउडको कामुक ह्वाट्सएप रहस्य बाहिरिएको छ र ठूलो जनसंख्या त्यसैलाई नियाल्न लीन भएको छ। भारतीयहरुका लागि कुनै समय उमर खालिद र कन्हैया कुमार एक नम्बरका दुश्मन थिए, अहिले बलिउडका केही सेलेब्रिटीले त्यो ठाउँ लिएका छन्। नाम फेरियो, तर नारा फेरिएको छैन। उनीहरु चिच्याइरहेकै छन्– यिनलाई थुन।

प्रधानमन्त्रीसँगको सेल्फीले पनि जोगाएन
नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को अनुसन्धानमा दीपिका पादुकोणको नाम मुछिएपछि टीभी च्यानलले चौबीसै घण्टा यसबारे प्रसारण गरिरहेका छन्। ती च्यानलले वरिष्ठ पत्रकारहरुलाई दीपिकाको कारको पिछा गर्न विमानस्थल पठाएका छन्। विमानस्थलमा हामीले उनको क्लोज अप दृश्य देख्यौँ। ब्रेकिङ न्युजका रुपमा हामीले थाहा पायौँ, आफ्ना वकिलहरुसँगको कन्फ्रेन्स कलमा उनका पति पनि सहभागी थिए।

यी सबबारे कंगना रणावत के सोच्छिन्? सबैभन्दा महत्वपूर्ण यो सूचना त झन् हामीले थाहा नपाउने कुरै भएन। किनभने टीभी च्यानलका लागि बलिउडको गुप्त सूचनाको स्रोत कंगना नै हुन्।

जनवरी २०१९ मा बलिउडका कलाकार तथा फिल्म निर्माताहरुको एउटा समूहले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेल्फी खिचेको थियो। त्यसबेला यसलाई निकै ठूलो विषय मानिएको थियो। फिल्म उद्योगसँग सुमधुर सम्बन्ध कायम गर्न मोदी सफल भएको विश्लेषण गरिएको थियो। तर, त्यसरी सेल्फी खिच्नेमध्येका एक रनवीर सिंहकी पत्नी दीपिका अहिले एनसीबीको लागुऔषध छानबिनमा परेकी छन्। आठ महिनाअघि दीपिका जेएनयूका विद्यार्थीहरुप्रति ऐक्यबद्धता जनाउन पुगेकी थिइन्। पक्कै पनि यो संयोग मात्रै हुनुपर्छ। तर, प्रधानमन्त्री मोदीसँगको सेल्फी पनि बलिउडका स्टारहरुका लागि रक्षाकवच बन्न सकेन।

जेएनयूमा एकछिनका लागि उपस्थित हुनुअघिसम्म दीपिका कहिल्यै पनि राजनीतिक मुद्दामा प्रवेश गरेकी थिइनन्। न त राकुल प्रीत सिंह, सारा अलि खान र श्रद्धा कपुरले राजनीतिक अभिव्यक्ति दिएका थिए। उनीहरु राजनीतिबाट टाढै थिए। केही वर्षअघि शाहरुख खान र आमिर खानले बढ्दो असहिष्णुताबारे बोल्दा उनीहरुको चर्को आलोचना भएको थियो। आमिरले हालै टर्कीकी प्रथम महिलालाई भेट्दा पनि त्यसको चर्को विरोध भयो।

राजनीतिबाट टाढै रहेपनि अहिले यी कलाकारहरु ठूलो राजनीतिक आँधीको केन्द्रमा छन्।

‘यो अरुलाई पनि संकेत हो। या त तिमीहरु चुप बस नत्र अवस्था खराब हुनेछ,’ हालै प्रकाशित ‘नेता अभिनेताः बलिउड स्टार पावर इन इन्डियन पोलिटिक्स’ पुस्तकका लेखक रसिद किदवइ भन्छन्। उनका अनुसार पहिले विनोद खन्ना र शत्रुघ्न सिन्हाजस्ता अभिनेता राजनीतिमा सक्रिय भएपनि उनीहरुबीच आत्मियता थियो। तर, अहिले ‘भारतको पक्षमा कि भारतको विरोधमा’ भनेर विभाजित गर्ने वातावरण छ।

फेरि पनि पछिल्ला केही वर्षमा देखिएको विषायन्तरको भाष्यलाई हेर्दा यो आश्चर्यजनक कुरा होइन। अहिले टुकडे टुकडे ग्याङ, खान मार्केट ग्याङ, अवार्ड फिर्ता ग्याङ, नेपो ग्याङ र नसेडी ग्याङजस्ता अनेकौँ ग्याङ देशलाई बर्बाद पार्न सक्रिय रहेको भाष्य स्थापित गरिएको छ। नसेडी ग्याङ सबैभन्दा खतरनाक छ, किनभने यसमा महिला मात्रै छन्।

राजनीतिमा बलिउडको प्रयोग
भारतको सबैभन्दा ठूलो सन्देशवाहक भनेकै हिन्दी सिनेमा हो। यसलाई मानिसको ध्यान मोड्ने राजनीतिक औजारको रुपमा प्रयोग गरिँदै आएको छ। जनधारणा बदल्ने फिल्मको शक्तिलाई जवाहरलाल नेहरुकै पालादेखिका राजनीतिकर्मीहरुले बुझेका थिए। अझ त्यो बेला २४ सै घण्टा सञ्चारमाध्यम र सामाजिक सञ्जालको पहुँच थिएन। त्यसैले राजनीतिकर्मीहरुले बलिउडलाई प्रयोग गर्ने विषय नौलो होइन। ‘भारतको विचार–प्रक्रियालाई नियन्त्रण गर्ने सबैभन्दा सजिलो तरिका हो बलिउडको नियन्त्रण,’ किदवइ भन्छन्।

आफ्नो पुस्तकमा किदवइ नेहरु र सिनेकर्मी पृथ्वीराज कपुरको मित्रताबारे लेख्छन्। नेहरुको रुस भ्रमणका बेला स्टालिनले उनलाई राज कपुरको फिल्म आवाराबारे बारम्बार सोधेका थिए, जसबाट नेहरु चकित परेका थिए।

चलचित्रमा नेहरुको रुची थियो। अटल बिहारी बाजपेयी पनि चलचित्र खुब मन पराउँथे। पाकिस्तानले दीलिप कुमारलाई सम्मानित गर्न खोज्दा उनको चर्को आलोचना भयो। तर, आलोचनालाई बेवास्ता गरेर सम्मान ग्रहण गर्न उनलाई बाजपेयीले नै सुझाव दिएका थिए।

इन्दिरा गान्धीको पालामा एउटै मात्र टीभी च्यानल थियो– दूरदर्शन। त्यसैले उनी विपक्षी जयप्रकाश नारायणको जुलुस बिथोल्न सोही समयमा सबैभन्दा हिट चलचित्र बबी दूरदर्शनमा देखाउन सक्थिन्। तर, आज धेरै निजी च्यानल छन् र राजनीति तथा सञ्चारमाध्यमबीचको सम्बन्ध–सञ्जाल फराकिलो बनेको छ। त्यसमाथि सामाजिक सञ्जालका कारण सेलेब्रिटीले के पोस्ट गर्छन् वा के गर्दैनन् भन्ने विषय राजनीतिक बन्न पुग्छ।

के बलिउडमा महिला मात्र लागुऔषध सेवन गर्छन्?
गत वर्ष काँवरिया जात्राको बेला म तिनका विभिन्न शिविरमा पुगेकी थिएँ। मैले उनीहरुको गाँजा सेवनबारे पनि कुराकानी गरेकी थिएँ। अन्तर्वार्ता लिइरहँदा पनि उनीहरु खुल्लमखुल्ला गाँजा तानिरहेका थिए, जसलाई उनीहरु ‘भोलेबाबाको प्रसाद’ भन्ने गर्थे। काँवरिया र साधुहरु गाँजाकै कारण परिचित छन्। वास्तवमा हालै एक पूर्व प्रहरी अधिकारीले भनेका पनि छन्– रिया चक्रवर्तीको ५९ ग्रामभन्दा धेरै गाँजा त साधुको एउटा चिलिममा हुन्छ।

तर, धार्मिक समूहका मान्छे, त्यो पनि पुरुषलाई सोधपुछका लागि बोलाउँदा असहज सन्देश जान्छ। एनसीबीले बलिउडमा सुरु गरेको अनुसन्धानको समय पनि अर्थपूर्ण छ। त्यसमाथि सो एजेन्सी महिलाहरुमाथि मात्र अनुसन्धान गर्न इच्छुक देखिन्छ।

बलिउडका कलाकारलाई लागुऔषध प्रयोगको अभियोग लागेको यो पहिलो पटक होइन। २० वर्षअघि कोकिन किन्न खोजेको आरोप फरदिन खानमाथि लागेको थियो। तर, त्यसलाई यसरी उछालिएको थिएन। किदवइ यसको कारण दिन्छन्, ‘सुन्दर महिलाले दर्शक आकर्षित गर्छिन्। स्क्रिनमा पुरुष देखिए कसैले वास्ता गर्दैन।’

उनी यसलाई ‘राज्यप्रायोजित विषयान्तर’ भन्छन्। यो छानबिनबारे सञ्चारमाध्यमको कभरेज अनन्त हुन्छ। जसमा यी महिलाहरुलाई पारदर्शी कपडामा देखाइन्छ, जसले स्त्रीद्वेषलाई झनै बढाउँछ। दीपिकाको फिल्म ककटेलबाट एउटा दृश्य टीभीमा देखाइन्छ, जसमा उनले बिकिनी लगाएर मद्यपान गरेको देखिन्छ। ‘तर, दीपिकाले एसिड आक्रमणबाट पीडितको भूमिका खेलेको छपाकको दृश्य यसमा देखाइँदैन, किनभने त्यो यो भाष्यसँग मेल खाँदैन र ग्ल्यामरस पनि छैन,’ किदवइ भन्छन्।

यी सब घटनामा हामीले कसलाई दोष दिने? भारतका नेतालाई कि तिनलाई विश्वास गर्ने भुलक्कड जनतालाई, जसले सुशान्त सिंह राजपुतको मृत्युलाई सजिलै भुलिसके? यहाँनेर लोकतन्त्रका लागि पनि एउटा गतिलो सन्देश छ।

(द प्रिन्टबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .