ब्लग


संक्रमित नर्सको अठोट : म हारेको छैन, कर्ममा फर्कनेछु

संक्रमित नर्सको अठोट : म हारेको छैन, कर्ममा फर्कनेछु

सिम्रन तिवारी
भदौ ४, २०७७ बिहिबार ११:२६,

म एक नर्स, आफ्नो पेशामा गर्व गर्छु। मलाई थाहा छ, म सर्टिफिकेटका लागि मात्र पढेको होइन। जस्तोसुकै अवस्थामा पनि विरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अँगालेको हुँ। आफ्ना व्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा विरामीको सेवामा लागिरहेको पनि केही वर्ष भइसकेछ। काम गर्दै गर्दा यो अवस्था आउँछ होला भन्ने सोचेको पनि थिइनँ।

संसारलाई नै तर्साउने गरि एक्कासी कोरोना भाइरस फैलियो। कैयौं देशहरुमा हजारौं नागरिकको ज्यान गयो। विस्तारै अवस्था जटिल बन्दै गयो। नेपालमा पनि संक्रमितहरू देखिन थाले। तर हामी कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरह्यौं। मैले सोचें कि म एकजना नर्सले संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला? अग्रजहरुको सल्लाह सुझाव ग्रहण गर्दै काममा लागिरहें।

घरमा बाबा–मामु, भाइ–बहिनीलाई आफैंले सम्झाएँ। मैले समाजका लागि काम गर्नु पर्छ, यतिखेर काम नगरि घरमा बस्ने हो भने मैले नर्स पेसा अँगालेको अर्थ हुँदैन। न आतिनु, म सुरक्षित भएर विरामीको सेवा गर्नेछु। यसरी घर परिवारलाई सम्झाउँदै आफ्नो कर्ममा लागिरहें।

कयौं रात बाबा–मामु निदाउनु भएको छैन, कतै छोरी संक्रमित त हुने होइन भनेर। भोली समाजले के भन्ला, छि छि र दुर गर्ला भन्ने चिन्तामा हुनुहुन्थ्यो। केही दिन अगाडि अस्पतालमा उपचार गरिरहनुभएका विरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुनें। उहाँहरुलाई हामीले नै रेखदेख गरिरहेका थियौं। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु। पछि आफुलाई सम्हालें, हामीलाई छुट्टै ठाउँमा राखियो। त्यसको पर्सिपल्ट म लगायत साथीहरुको कोरोना परीक्षणका लागि स्वाब लगियो। नभन्दै हाम्रो रिपोर्ट पनि पोजिटिभ आयो। एकछिन तनाव भयो, अब घरमा कसरी भन्ने होला, अब के हुने हो भन्ने भयो।

SimranTiwari

तत्कालै आफुलाई सम्हालें– मैले कमजोर महसुस गरें भने परिवारलाई चिन्ता हुन्छ। समाजलाई चिन्ता पर्छ। मैले मनोबल उचो बनाएर यो रोगलाई परास्त गर्छु भन्ने आत्मविश्वास लिएँ। परास्त गर्छु पनि। मलाइ गर्व छ, म आत्तिएको छैन। विरामीको सेवा गर्दा, आफ्नो कर्म पूरा गर्दा म संक्रमित भएको हुँ।

हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले रहरले रोग सारेका हैनौं। आफ्नो जिम्मेवारी पूरा गर्दा सरेको हो। पहिला नै हामी डराएर विरामीको सेवा नगरेको भए विरामीको अवस्था के हुन्थ्यो? सबैको सोच सकारात्मक बनोस्। मसँगै संक्रमित भएका नर्स, डाक्टर, सुरक्षाकर्मी लगायत आम नागरिकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने, हाम्रो हेरचाह गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथीभाइ, आफन्तजन, सबै नागरिक प्रति अस्पतालको बेडबाट धन्यवाद व्यक्त गर्दछु। सन्चो भएसी उही मनोबलका साथ हजारौं विरामीको सेवा गर्नेछु। मलाई नर्स हुनुमा गर्व छ।

बाबा–मामु नआत्तिनु। म हारेको छैन। हजुरको छोरी झन् मनोबल उच्च बनाएर रोगलाई परास्त गरेर कर्ममा फर्किन्छे।

(सिम्रन तिवारी भरतपुर सेन्ट्रल हस्पिटलकी नर्स हुन्। यो सामाग्री हामीले उनको फेशबुकबाट लिएका हौं)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad