हिजो यहाँ हामी रहेको लेवनानको राजधानी वेरुतमा ठूलो विस्फोट भयो। त्यो विस्फोट भएको ठाउँदेखि हामी त्यतिबेला रहेको ठाउँ हिँडेर १०–१५ मिनेट लाग्ने दुरीमा थियौं। त्यसैले हामी भएकै ठाउँमा बम पड्केजस्तो अनुभूति भएको थियो। किनभने यो विस्फोटको आवाज २४० किलोमिटरसम्म सुनिएको थियो रे। हामी त एक किलोमिटर जति टाढा थियौं होला।
हामी यहाँ सँगै बस्ने, हाम्रो सम्पर्कमा रहेका सबै ठीकै छौं। यो क्षेत्रमा रहेका धेरै नेपालीहरुलाई मैले सम्पर्क गरेँ। सबैजना ठीकठाक हुनुहुन्छ। कोहि घाइते वा अरु केहि भएको थाहा पाएका छैनौं।
विस्फोट हुँदा हामी तीनजना नेपाली दिदीबहिनी एकैठाउँमा थियौं। एक ठाउँमा नयाँ कामबारे कुरा गर्न पुगेका थियौं। ती मान्छेलाई एकछिन पर्ख्यौं। बाहिरबाट फोन गरेर उनले केहि समय लाग्छ भनेपछि तीनै जना एउटा रेष्टुराँमा खाजा खान गयौं। खाजा अर्डर गरेर बस्न कुर्सी समाउनासाथ ठूलो आवाज आयो। जमीन पुरै हल्लियो।
बत्ति पनि गयो। ट्रान्सफर्मर पड्क्यो होला भन्ने लाग्यो।
निकै ठूलो तुफान आएजस्तो धुलो, माटो ह्वारह्वारी आउन थाल्यो।
अचानक निकै जोडसँग तुफान आयो। त्यसपछि कसैले केहि सोच्नै सकिएन। सबैतिर अध्याँरो भयो। सँगैका मान्छेलाई पनि चिन्नै नसकिने भयो।
बाहिर खुला ठाउँमा थियौं। भित्र पस्यौं।
पसलेहरु र त्यहाँ भएका कोहि पनि केहि बोल्नै सकेनन्। के भएको केहि थाहा भएन। पछि यताउता हेर्दा त धुवाँको ठूलो मुस्लो देखियो।
ल बम पड्केछ भन्ने भयो।
घरका सिसाहरु झर्यामझुरुम फुटे। सिसाका टुक्राले मलाई पनि लाग्यो तर चोट भने लागेन।
यहाँ घरका झ्याल ढोकामा प्रयोग हुने सिसा पनि फुट्दा धारिलो नहुने रहेछ। टुक्राहरुले लागे पनि चोट नलाग्ने। हामीकहाँ गाडीका सिसा फुट्दा त्यस्तो सिसा देखिन्थ्यो।
पहिले निकै डर लाग्यो। अब यहाँ लडाइँ नै सुरु भयो कि जस्तो लाग्यो। पछि चाहिँ ‘एक्सिडेन्ट्ली’ (झुक्किएर) पड्केको भन्ने थाहा पाइयो। अनि अलि डर कम भयो।
विस्फोट भएको सबैभन्दा नजिक रहेका मध्ये हामीहरु पनि हौं।
विस्फोटन नजिकै होटलमा नेपालीहरु हुनुहुन्थ्यो। उहाँहरुलाई पनि केहि भएको रहेनछ। त्यहाँ नजिकै अर्को कम्पनीमा १०–१२ जना नेपाली हुनुहुन्छ। उहाँहरुलाई पनि सम्पर्क गर्यौं। केहि भएको रहेनछ।
यसै गरी धेरैतिर सम्पर्क गर्दा र साथिहरुबाट आएका जानकारीका आधारमा कोही पनि नेपाली घाइते भएको थाहा भएको छैन।
याे पनि: ‘लेवनान विस्फोट : सम्पर्कमा रहेका सबै नेपाली ठीक छन्, घाइते वा मृत्यु भएको जानकारी छैन’
आज बुधबारदेखि नै काम गर्न थालेका छौं। त्रासमा बसेर मात्र के गर्नु? यहाँ पाँच छ महिना डलर संकटले आर्थिक अवस्था र रोजगार अस्तव्यस्त भयो। त्यसपछि कोरोना संकट आइलाग्यो।
त्यसैले अब भएको जेजति काम छ, छाड्ने स्थिति छैन।
हामी ठूलो भाग्यले बाँच्यौं। जहाँ ती मान्छेलाई पर्खिरहेका थियौं, त्यहिँ भएको भए पनि बाँच्न गार्हो पर्थ्यो। भोक लागेकोले एकछिनमा खाजा खाइहालौं न भनेर रेष्टुराँसम्म पुगेका कारण बाँचियो।
म एकजना जापानी मेडमकोमा पार्ट टाइम काम गर्न जान्थेँ, त्यहाँ गएको भए सायद बाँच्दैनथेँ होला। म पक्कै मर्थें होला। किनभने जापानी मेडम बस्ने अपार्टमेन्ट पुरै ध्वस्त भएको छ।
थ्यांक गड, धन्न जापानी मेडम हिजै बिहान जापान जानुभएको थियो। उहाँले मलाई फोन गरेर ‘म अब जापान जान लागेको त्यसैले तिमी एक महिना आउनुपर्दैन’ भनेर भन्नुभो। त्यसपछि म चाबी पुर्याउन गएँ र बिदा भएर आएँ। त्यहि भएर अर्को पार्टटाइम कामका लागि कुरा गर्न अर्को ठाउँ पुगेका थियौं।
त्यहाँ हिजो काम गर्न गएको भए त मरिने रहेछ किनभने त्यो अपार्टमेन्ट त पुरै ध्वस्त भएको छ रे।
हिजो राती १२ बजे मलाई फोन गरेर ती जापानी मेडमले थ्यांक गड धन्न हामी त्यहाँ भइएन भनेर भन्नुभो।
अनि मैले तिमी हामीलाई बाँच्न लेखेको रहेछ भनेर भनेँ। दुवैजनाले बाँच्न पाएकोमा खुशी व्यक्त गर्यौं।
(पोखराकी सरु गुरुङ झण्डै ११ वर्षदेखि बेरुतमा कार्यरत् छिन्)
प्रतिक्रिया