दुई दाजुबहिनीमध्येकी म कान्छी छोरी। दाइ मभन्दा दुई वर्षले जेठो। घरकी कान्छी छोरी भएरै होला, अलि चकचके, थोरै घमण्डी, जित्न सके मुसुक्क हाँस्दिने नसके रोइदिने। यसरी नै बित्यो बालापन। सानामा बाआमाको काखमा बसेर अनुहारमा हेर्दै रुनुको मज्जा बेग्लै। एकातिर घुर्की लगाउँदै झरेको आँसु, अर्कातिर कुनबेला फकाउलान् भन्ने प्रतीक्षा।
दाइले औधि माया गर्ने। बेलाबेला झगडा त पर्ने नै भयो। नत्र कहाँ माया देखिन्छ र! तर पनि मेरो कमजोरी, मैले गरेको विरामलाई क्षणभरमै भूलेर माया गर्ने मेरो दाइ। बा, आमा र दाइ तीनजनालाई सताएरै बित्यो बालापन।
रिस पोख्ने, घुर्की लगाउने थलो भनेकै दाइको साथ र आमाको काख भयो। त्यसपछि मात्र बाको पालो। हुन त सानामा सबैभन्दा धेरै डर लाग्ने मान्छे नै मेरै बा हुन्। बा कामबाट घर फर्किएपछि अगाडि पर्न नपरोस् भनेर निदाएझैँ गरी पल्टेको थुप्रै साँझहरू याद छन्। कसोकसो बा भनेपछि सबैभन्दा धेरै डर लाग्थ्यो। त्यति डर सानामा भूतको कथा सुन्दा पनि लाग्दैनथ्यो। यो चाहिँ म निकै सानो हुँदाको अनुभव हो। सायद पहिले÷पहिले प्रायः सबै बच्चाहरू बादेखि औधि डराउँथे।
ठूलो हुँदै गएँ। तब डर लाग्न छोड्यो। केहीबेर गफ गर्न सक्ने भएँ। तर आमासँग जति खुल्न त नसकिने रहेछजस्तो लाग्छ। सानो हुँदा डराएरै अघि पर्न नसक्ने म आजको दिन एकैछिन भए पनि उहाँको अगाडि बस्न मन छ, नजिक भएको भए केहीबेर गफ गर्न मन छ।
बिहान उठ्नेबित्तिकै सम्झिएँ, आज त बा को मुख हेर्ने दिन। बिहानै के फोन गर्नु जस्तो लागेर भान्सामा पसेँ। भान्साको कामले मोबाइल हेर्न भ्याएको थिइनँ। काम सकाएर मोबाइल हातमा टिपेर हेर्दा पो देखेँ मेरो बाले बिहानै भिडिओ कल गर्नुभएछ। दुई मिस्ड कल भइसकेछ। अनि त्यो कल हेरेरै आँखा रसाए मेरा। अनि सम्झिएँ जीवनमा निस्वार्थ माया गर्ने मेरा बालाई मैले बिहानै फोन गर्न पथ्र्यो। रिसाउनु भयो कि?
मनमा यस्तै कुरा खेलाउँदै भान्साको धन्दामै हात अघि बढाएँ। मनभरि माइतीघर अनि बाको याद सजाउँदै खाना बनाएँ। बेलाबेलामा आँखा टिलपिल भइरहे। भान्साको काम सघाइरहेका श्रीमान्ले देख्लान् भन्ने लाजले बिहानभरमा ५ पटकजति त बाथरुम नै पसेँ होला। साँच्चै अरु बेलामा पनि याद नआउने त हुँदै होइन, तर आज खास दिन भएरै होला, तपाईंकै झल्को आइरहेको छ बा।
मेरा लागि तपाईंले गर्नुभएको योगदान। पढाउनका लागि गर्नुभएको त्यो दुःख। अझ छोरीलाई पत्रकार नै बनाउने सौखले दिनुभएको त्यो साथ सम्झँदै गर्दा कसरी आँसु रोकिन्छ त मेरो? पराईको घर गएपछि पराई जस्तै बनिदिनुपर्ने बाध्यतामा छौँ हामी छोरीमान्छे। पहिला घर, व्यवहार मिलाएर मात्रै माइती पुग्नपर्छ भन्ने मानसिकता बोकेरै होला यो औँसीमा मुख हेर्न आउन पाइएन। पाइएन भन्दा पनि आइएन भनौँ।
तर पनि मेरा बा किन रिसाउँथे र! सबै काम सकाएर अफिस पुग्नेबित्तिकै बालाई फोन गरेँ। उताबाट बाले हाँस्दै भन्नुभयो– ए बल्ल फुर्सद भयो तँलाई?
बाको अनुहारमा हेर्न नसक्ने गरी न्यास्रिएकी मेलै मन बाँधेर बालाई हरेक दिन सोध्ने एउटै प्रश्न सोधेँ, के गरिरहनु भको? यति बोलेपछि आँखा रसाएको नदेखून् भनेर क्यामरा बन्द गरिदिएँ। बासँग धेरैबेर बोल्न नसकेपछि ममी खै त भन्दै कुरा मोडेँ।
नेपालीमा एउटा उखान छ नि, ‘पढेर भन्दा परेर जानिन्छ।’ हो, यस्तै भएर होला बा आजभोलि हरेक दिन तपाईंकै याद आउँछ। ऊ बेलामा बासँग रिस उठ्यो कि मैले एउटै प्रश्न गर्थें– भनेको कुरा किन्दिन नसक्ने ले किन जन्माउनु? खालि दाइलाई मात्रै माया गर्छन्, म चाहिँ तपाईंको छोरी होइन कि क्या हो? आजकाल यी प्रश्नहरूको जवाफ भागेरै पाइरहेको छु मैले।
आजभोलि मेरा छोराछोरीको अनुहार हेरिरहँदा बा हजुरको खुब याद आउँछ। आखिर बा त बा नै हुँदा रहेछन्। आफ्ना छोराछोरीको खुसीका लागि आफू भोको, नाङ्गो भएर हिँड्न परे पनि कहिल्यै गुनासो नगर्ने तपाईंको महानता आजभोलि म मेरो छोराछोरीको अनुहार हेरेपछि सम्झन्छु।
आजभोलि मेरा बच्चाहरूले तपाईंको ज्वाइँको अनुहारमा हेर्दै बाबा आज जसरी पनि यो कुरा किन्दिनु ल, भन्दा ज्वाइँको भावुक अनुहारले तपाईंको खुब याद आउँछ बा। हाम्रै लागि नङ्ग्रा खियाएर गरेको त्यो दुःख, तरतर बगेका पसिना, घर व्यवहारले भावुक भएका ती क्षणहरू सबै याद आइरहन्छ बा।
छोराछोरीको सफलता र खुसीमै रमाउने मेरा बाको ऋण तिर्न त कहाँ सकौँला र! म जे छु तपाईंकै योगदान र हौसलाका कारण छु। मेरै कति साथीका बाहरूले घरबाट बाहिर जानै नदिएर राखेका थुप्रै उदारणहरू देखेको थिएँ। म भाग्यमानी छोरी हुँ, मेरो बाले मलाई कहिल्यै लगाम लगाउनुभएन। मेरो खुसीभन्दा परको सपना देख्नुभएन। मेरो सफलतामा भक्कानिदै हर्षका आँसु भन्दै पुछ्नुभएको त्यो दिन म कहाँ भुल्न सक्छु र बा!
घरमा सबै जान्ने, बुझ्ने पाकी भएकी म तपाईंको दैलोमा टेक्नेबित्तिकै बच्चाको जस्तै व्यवहार गर्न मन लाग्छ। धेरै धेरै सम्झना मेरो बा। अर्को वर्षको कुशे औँसी साथमा मनाउन पर्छ है!
Shares
प्रतिक्रिया