मैले काम गर्ने रेस्टुरेन्टभन्दा अलिक पर पोहर भदौमा प्युठानका दिपेश भाइ मजदुरी गर्न आइपुगे। छिमेकी जिल्ला भएकाले चिनजान भयो। बेलाबखत भेटघाट भइरहँदा आत्मीयता बढ्यो। नयाँ ठाउँको भिन्न काममा स्थापित हुन केही समय लाग्यो उनलाई। यहाँ आइपुग्न लागेको रकम तिर्न हरेक महिना कम्मर कसे। दिपेशले साइप्रसमा प्रवेश पाएको तीन महिनापछि एजेन्टले भिसा थप्न इमिग्रेसन कार्यलय लगेर गयो। एक वा दुई वर्षको भिसा थपियो भनेर ढुक्क भए उनी।
तर, चार महिनापछि भिसा कार्ड आउनुपर्ने, आएन। नयाँ व्यक्तिलाई राज्यको सबै नियम थाहा हुने कुरो पनि भएन। दिपेशले सोचे, भिसा कार्ड या त एजेन्टकहाँ होला कि रोजगारदाताले राख्यो। किनकि काममा पुगेकै दिन उनको राहदानी मालिकले मागेको रहेछ। एजेन्टलाई बारम्बार फोन गरेर भिसाबारे सोध्न सकेनन्। पहिलो कुरो फोन नै उठाउँदैन। दोस्रो भोलि, पर्सि भनेर टारिराख्छ। मालिकलाई भनौँ ऊ जहिल्यै टाउको समाएर बसेको हुन्छ। जति कमाइ भए पनि उस्तै। नहुँदा त झन् अनुहारमा दिउँसै रात परेको हुन्छ। पुँजीले कतिसम्म खोक्रो बनाउँछ भन्ने ज्वलन्त उदाहरण हुन् विकसित मुलुकका असभ्य मानिसहरू। निजी सम्पत्ति त थुपारेका छन् तर व्यक्तिगत जीवनभन्दा पर केही सोच्न सक्दैनन्।
राहदानी र भिसा कार्ड हुनेहरू मानव तस्करलाई पाँच हजार युरो तिरेर तल्लो बाटोबाट जोखिम मोल्दै पोर्चुगल पुगे। यसो हुँदा रोजगारदाताले राहदानी राखिदिने अनि एजेन्टले भिसा कार्ड नदिने गर्न थाल्यो। तर, त्यो गैरकानुनी हो। सरकारी नियमअनुसार सम्पूर्ण कागजात कामदारको हातमा हुनुपर्छ। दिपेश भाइको रेस्टुरेन्टबाट पनि एकजना नेपाली युवा पोर्चुगल भागेका थिए, त्यसपछि कामदारको राहदानी जफत गरेको हो।
नेपालदेखि साइप्रससम्मै दलालको फन्दा
पछिल्लो समय नेपाली युवाहरूको रोजाइमा साइप्रस परेको छ। लगानी आठदेखि दस लाख लाग्ने र छिटो भिसा झर्ने अनि युरोपियन मुलुक भएकाले सुखद सपना बुन्दै पुग्छन्। यहाँदेखि पोर्चुगल सजिलै छिर्न पाइने सोचले झन् उत्साहित हुन्छन्। तर, सपना र वास्तविकता भने नितान्त फरक छ।
साइप्रस आउन मेडिकल जाँच, पुलिस क्लिअरेन्स सर्टिफिकेट, साइप्रस दूतावासको छाप हान्न लाग्ने शुल्क पनि रोजगार खोज्ने व्यक्तिले नै तिर्नुपर्छ। आठ लाख लगानी भन्यो भने आफ्नो खल्तीमा चोखो तीन लाख पार्छ नेपालको एजेन्टले। एजेन्ट पनि के भन्नु दलाल नै ठिक छ। लेनदेनको कुनै प्रमाण हुँदैन। बैंकमा जम्मा गर्न पनि मान्दैन। विश्वासको आधारमा काम गर्ने भन्छ तर विश्वासघात उसले नै सुरु गरेको हुन्छ। प्रमाण नहुँदा कति युवा ठगिएका छन्। कागजपत्र मिलाएको मात्रै शुल्क तीनदेखि चार लाखसम्म हात पार्ने सो कार्य कति सजिलो छ, त्यसैले मेनपावर नामक मानव तस्करी कारखानाहरू खुल्ने क्रम बढ्दो छ। युवाहरू विदेशीलाई बेचिरहेको छ। आठ महिनामा लागत पूर्ति गर्ने मनसायले यहाँ आएकाहरू वर्ष दिनसम्म आधा ऋण तिर्न सकिरहेका हुँदैनन्।
केही गरी साइप्रसदेखि भिसा पठाइयो भने पनि व्यक्तिगत श्रम राज्यले गर्न मान्दैन। मेनपावरद्वारा जाँदा एक लाख बुझाउनुपर्छ। त्यहाँ पनि दलालकै मिलेमतो छ। व्यवस्था पनि यस्तो छ कि बिचौलियाबिना कुनै काम हुँदैन। जनतालाई बाध्यता छ, उसकै शरण पर्न। मेनपावर, कन्सल्टेन्सी, दलाल जे भने पनि यिनीहरू वैधानिक ठगी धन्दा चलाएर बसेकाहरू हुन्।
त्रिभुवन विमानस्थलभित्र प्रवेश गराएपछि सम्पूर्ण जिम्मा साइप्रसको दलालमाथि थोपरिदिन्छ। साइप्रसका बिचौलिया यति गैरजिम्मेवार हुन्छन् कि विमानस्थलमा लिन पनि आउँदैन। नयाँ मान्छे। भिन्न ठाउँ। फरक भाषा। गाह्रो त पक्कै हुन्छ। त्यहीँ केही सपना चकनाचूर हुन्छ। मनोबल गिर्न थाल्छ। थकथकी लाग्छ। फर्कौंजस्तो हुन्छ, तर आठदस लाख ऋण कसरी तिर्ने?
बस वा ट्याक्सीद्वारा दलालको कार्यालयमा पुग्नुपर्छ। यात्राबारे सोध्नु त धेरै परको कुरा हो। चियापानीको पनि इसारा गर्दैन। फटाफट स्वास्थ्य परीक्षण गराउने अनि काममा पठाइहाल्ने। महान् सेवकजस्तो ठानेर कुर्सीमा गजक्क परेर बसेको हुन्छ। नौ लाख लागतको आधा भाग त उसैले गोजी भरेको हुन्छ। कामदारको पसिनामा रमाएर ढाडिएका किर्ना। रकम लिएपछि पूरापुर सहयोग गर्नु नि, त्यो पनि कतै देखिँदैन।
यता मालिक हर्षितभन्दा बढी चिन्तित हुन्छ युरो तिरेर किनेको कामदार, भनेजस्तो जोतिन सक्छ कि नाइँ! मजदुरी दिएबापत साइप्रसको बिचौलियाले रोजगारदाताबाट पनि पन्ध्र सयदेखि दुई हजार युरोसम्म लिएको हुन्छ। इमिग्रेसन लगेर भिसा लाइदिने जिम्मा दलालकै हो।
कहिलेकाहीँ कामदार मन परेन भनेर मालिकले फिर्ता गरिदिन्छ। अर्को रोजगारदाता खोज्ने काम पनि बिचौलियाकै हो। त्यस्तो बेला दलाल निकै रिसाउने, कराउने आफ्नै निधार ठोक्ने र थुक्ने गर्छ। जागिर छोडेको पत्र हातमा थमाइदिएर ‘आफैँ काम खोजेर लाग् होइन भने आफ्नो देश फर्की’ भनेर धम्क्याउँछ। बिचरा दस लाख सापटी पनि होइन छत्तीस प्रतिशत ब्याज तिर्ने सर्तमा ऋण काढेर आएको हुन्छ। दुई महिनामै घर फर्किनुपर्दा कस्तो हालत हुन्छ? हाम्रो देखासिकी गर्ने नेपाली समाजले स्वीकार गर्छ होला त!
एक महिनापहिलेको कुरो हो। एकजना साथीले मलाई फोन गरेर एउटा भाइका लागि किचन हेल्परमा काम लाइदिने भन्नुभयो। मैले यताउति पता पनि गरेँ, कतै फेला परेन। त्यो भाइ ठ्याक्कै आएको तीन महिना पुगेछ। मालिकले दुई महिनामै कामबाट निकालिदिएछ। दलालले बेवास्ता गर्दा कतै जागिर नपाएको र अहिले घाँस काटिरहेको साथीले सुनाए। त्यस्तो अवस्थामा प्रहरीले फेला पार्यो भने अवैध ठहराएर सिधै नेपाल पठाइदिन्छ। अनि त्यतिका ऋण कहिले कसरी तिरिसक्नु! मान्छे त्यसै आत्महत्याबारे सोच्ने गर्दैन। देहत्याग आर्थिक समस्याको निराकरण होइन। परिवारलाई झन् ठूलो सङ्कट पर्छ। उत्तम उपाय भनेको देखासिकीबाट टाढा रहने। आफूमा जे जति छ त्यसैमा रमाउने।
अँ, त्यो भाइबाट दुवै देशका बिचौलियाले चर्को रकम चुसिसकेपछि यत्तिकै छोडिदियो। पैसा लिएर पनि ढङ्गको काम नगर्ने फटाहा मानव तस्करहरूमा मानवीय संवेदना भन्ने चिज नै नहुँदो रहेछ। कहाँको युरोपको सपना, यहाँ न्यूनतम आवश्य पूर्तिका लागि घाँस काटिरहेको अवस्था। त्यो भाइको पीडा कसले बुझ्छ?
अर्को प्रसङ्ग जोडौँ। पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल, अफ्रिकी मुलुकदेखि अवैध बाटोबाट साइप्रस छिरेकाहरूलाई पहिला आश्रय दिएर काम गर्ने कागजात पनि बनाइदिएको रहेछ। सरकार बदलिएपछि ती शरणार्थीहरूलाई आ–आफ्ना देश फर्किने सूचना जारी गर्यो। विमानको टिकट पनि सरकारले काटिदिने अनि हजार युरो थमाइदिने बाचा गर्यो। फर्कन चाहनेहरू फर्किए। तर सबैले मानेनन्। अनि लुकीछिपी काम गर्न थाले। प्रहरीले विभिन्न ठाउँमा बेलाबखत छापा मारेर गैरकानुनी श्रमिकलाई छोपेर देश फिर्ता गर्न लाग्यो। यो क्रम जारी नै छ।
लिमासोल सहरमा त्यसैगरी छापा मारेछ। दुई बङ्गलादेशी नागरिक भाग्न बिल्डिङ्गबाट हामफाल्दा एकको मृत्यु भयो। अर्का घाइते भए। मसँगै काम गर्ने झापाकी शरणार्थी बहिनीलाई पनि पक्रिएर नेपाल पठाइदियो। उनले पाकिस्तानी नागरिकसँग साइप्रसमै भेटेर बिहे गरेकी थिइन्। एक सन्तान जन्माएकी थिइन्। दुवै गैरकानुनी बसाइमा थिए। उनका पतिलाई प्रहरीले समातेर पाकिस्तान पठाइदियो। ती नेपाली बहिनी सात महिनाको छोरासँगै साइप्रसमै छन्। भविष्य के हुने हो थाहा छैन।
झापाकी बहिनी र पाकिस्तानी युवकलाई प्रहरीले छोपेको दुई हप्तापछि प्युठानी भाइ दिपेशको रेस्टुरेन्टमा छापा पर्यो। त्यहाँबाट एउटी नेपाली दिदी र पाकिस्तानी युवकलाई छोप्यो, जो गैरकानुनी रूपमा काम गरिरहेका थिए। अब अचम्मको कुरो दिपेश भाइलाई पनि समायो। उनको त भिसा लागेको थियो, कार्ड मात्रै हात परेको थिएन। वैधानिक तरिकाले मानव तस्करलाई साढे नौ लाख बुझाएर आएका थिए। भएको के हो त छटपटी हुनु स्वाभाविकै थियो।
सुनेअनुसार उनको भिसा तीन महिना मात्रै लागेको थिएछ। इमिग्रेसनले दलाल र रोजगारदातालाई पक्कै खबर गरेको हुँदो हो। तर, दिपेशलाई कुनै जानकारी दिइएन। उनी ढुक्क थिए, बिचौलिया र मालिकप्रति। उनीमाथि ठूलो विश्वासघात भयो। झन् डरलाग्दो कुरो के छ भने शरणार्थीलाई समाएको दस दिनभित्र देश फर्काइदियो। उनलाई अवैध काम गरेको ठहराएर थुनामा राख्यो।
पहिलो एजेन्टको ठूलो गल्ती छ। उसको लापरवाहीले उनी थुनामा परे। दोस्रो रोजगारदाताको हो, जसले आफ्नो श्रमिकलाई ख्याल राखेन। तेस्रो स्वयम् हुन् कमसेकम चार महिनापछि इमिग्रेसन पुगेर भिसाबारे थाहा गर्नुपर्थ्यो। दलाल र मालिकमाथि पूर्ण भरपर्दाको दुःख उनले पाए, जसको गल्ती नै थिएन। एक मजदुर जो ऋण काढेर छोराछोरीका भविष्य सुधार्ने मनसायले साइप्रस आयो। तर, अपराधबिना प्रहरी हिरासतमा पुग्यो। वैधानिक तरिकाले आएको श्रमिकले विदेशी भूमिमा पसिना चुहाउँदा पनि सुख पाएनन्। रोजगारदाताले जरिबाना तिरेर २५ दिनपछि काममा फर्कायो दिपेशलाई। तर, हिरासतका दैनिकीमा मानसिक तनाव। आर्थिक क्षति अनि परिवारको रुवाबासीको भर्पाइ दलाल र मालिकले कहिल्यै गर्न सक्नेछैन। न त उनले आफ्नो गल्तीबिनाको सजाय जीवनभर बिर्सने छन्।
बिचौलियाले बिचल्ली पारेको पहिलो घटना दिपेश भाइको मात्रै होइन। नेपाली जति पनि साइप्रस सरकारको शरणमा परे जम्मै दलालको झुटो आश्वासनले फसेका हुन्। कोही नेपालदेखि पोर्चुगलका लागि हिँडेका थिए साइप्रस पुगे। कोही घरेलु काममा खट्न नसक्दा राहदानी राज्यलाई जम्मा गरेर आश्रय लिए। धेरैलाई सुन्दर सपना देखाइयो र फसाइयो। घरेलु कामदारमा आउने दिदीबहिनीलाई मुख्य कुरो भाषाको समस्या हुन्छ। प्रायः समझदार मालिक हुँदैनन्।
देखासिकी र सुखी जीवनको मृगतृष्णा
माथि उल्लिखित जटिल अवस्था त छँदै छ। मलाई थाहा भएअनुसार चारजना युवतीले साइप्रसमा आत्महत्या गरिसकेका छन्। सपना र वास्तविकता नमिल्दाको परिणाम हो जस्तो लाग्छ। काम बदल्न पाइन्छ तर जुन भिसामा आएको हो त्यसैमा। अपवादबाहेक रेस्टुरेन्ट, होटलमा अलिक धेरै तलब र सुविधा पाइने हुँदा घरायसी काममा आएकाहरू, विद्यार्थीहरू, कृषि क्षेत्रका कामदारहरूले राहदानी राज्यलाई जम्मा गर्दै शरण कागजात लिएर होटल रेस्टुरेन्टतिर लागे। हो, अहिले तिनै शरणार्थीहरूलाई आफ्नो देश फर्काउन सूचना जारी गरेको धेरै समयसम्म सम्पर्कमा नआइदिँदा प्रहरीले छापा मार्न सुरु गरेको हो।
समुद्र छेउमा मुसुस्क हाँसेको तस्बिर सामाजिक सञ्जालमा राख्नु। गगनचुम्बी भवनअघि उभिएर फोटो खिच्नु। हिउँदमा हिउँ खेल्न पुग्नु। साथीभाइसँग पौडी खेलेर रमाउनु। यी त हाम्रो देखासिकी समाजलाई देखाउनकै निम्ति हुन्। यथार्थमा छातीभित्रको जलन कसैलाई देखाउन मिल्दैन। दुःखहरू भन्न सकिँदैन। जतिसम्म थेग्न सकिन्छ एक्लै सामना गर्नुपर्छ। आँसु झार्न पनि रात कुर्नुपर्छ कि कुना फर्कनुपर्छ। फेसबुके खुसियाली फोटोजस्तो वास्तवमा सुख कहाँ छन् र यहाँ! मानसिक तनाव। शारीरिक दबाबमा दैनिकी गुज्रिरहेका हुन्छ। हाँस्नु छ आफन्तलाई जलाउनलाई। कमाउनु छ छिमेकीभन्दा अग्लो घर बनाउनलाई। सम्पत्ति थुपार्नु छ अर्कोभन्दा सुखी जीवन बाँच्नलाई। लागोस्, ओहो! यो त कति खुसी छ? कति धनी छ? कति सुखी छ? तर, पीडा नाप्न मिल्दैन क्यारे! यही आकाङ्क्षाभित्र मानिस कति दुःखी छ त्यो उसलाई मात्रै थाहा छ।
चुनावबेला फ्रि टिकट फ्रि भिसा बोल्ने नेता। युवालाई स्वदेश फिर्ता ल्याउने ओकल्ने सांसद। राजा आऊ देश बचाऊ भन्ने प्रतिपक्ष। विडम्बना यिनीहरूसँग पनि कुनै दूरदर्शिता छैन। सत्ता हत्याउन नपाएको झोँकमा पुनः जनतामाथि भ्रम सिर्जना गरेका मात्रै हुन्। युवा त पश्चिमा संस्कृतिप्रति मोहित छ। फराकिलो सडकमा चिल्लो गाडी हुइँकाउने इच्छा। पाँचतारे होटलमा भोजन। हातमा आइफोन। अग्लो घरमा बस्ने चाहना अनि छोराछोरीका उज्ज्वल भविष्यको सपना बोक्ने युवालाई लाखभन्दा माथि तलब खुवाउन सक्ने राज्य सत्तासँग के छ योजना?
गाउँका खेत बाँझो मात्रै छैन, बस्ती नै रित्तिन सुरु भयो। जन्मेको माटोको माया लागेर के गर्नु ढुङ्गा खाएर बाँच्न सकिँदैन। झन् उपभोक्तावादी संस्कृति हाबी भइरहेको छ। मानिस आधुनिक बन्ने दौडमा बौद्धिक दासता स्वीकार गर्दै पश्चिमा संस्कृतिको नक्कल आरम्भ गरेको छ। जनताबाट उठाएको कर र रेमिट्यान्सले धानेको अर्थतन्त्र नेतालाई भत्ता दिन अनि तलब खुवाउन ठिक्क छ।
राज्य सत्ताको निकम्मापन अनि नेपाली जनताको देखासिकी चलनले दुःख निम्तिएका हुन्। यसलाई पार लगाउन पनि मजदुरले नै फरक विकल्प रोज्नुपर्छ। सर्वप्रथम त उपभोक्तावादी सोच त्याग्नु भनेकै आधा समस्या हल हुनु हो। उत्पादनमा जोड र सांस्कृतिक रूपान्तरणतिर लागेनौँ भने साँच्चै देश खाली हुन बेर छैन। यसका निम्ति बौद्धिक ज्ञान नै चाहिन्छ। पन्ध्र सेकेन्डको टिकटके भिडिओ र चमकदार फेसबुके तस्बिरबाट ज्ञान होइन नक्कली खुसी पाइने हो। अन्ततः व्यक्ति दुःखी नै हुनेछ।
Shares
प्रतिक्रिया