ब्लग


हजुरबुवाकाे समाजभन्दा मेरो समाज कुन अर्थमा आधुनिक?

हजुरबुवाकाे समाजभन्दा मेरो समाज कुन अर्थमा आधुनिक?

विद्या गौतम
असार १६, २०७७ मंगलबार १४:५९,

करिब २० वर्षअघि मेरा हजुरबुवाले आफ्नो बाल्यकालीन समाजको चित्रण तथा त्यतिबेलाका मूल्य/मान्यताको वर्णन गर्दा कल्पनाले मात्र पनि मेरो मन आत्तिन्थ्यो। हजुरबुवाको समयबाट बुवाको समयसम्म आइपुग्दा समाजले आधुनिकताको एउटा खुट्किला चढिसकेको थियो। विकसित सभ्यतातर्फ पाइला चालिरहेको थियो। त्यसैले मेरा बुवाका सामाजिक कथाका पात्र हजुरबुवाका कथाका भन्दा अलि चेतनशील र समझदार महसुस हुन्थ्यो मलाई। समय बित्दै जाँदा अनि आफू पनि परिपक्व हुँदै जाँदा ती दुवै कथा कल्पना गर्दा अनि आफ्ना पालाको विकसित हुँदै गएको समाज हेर्दा आफू साँच्चै भाग्यमानी भएको अनुभूति हुन्थ्यो।

माटोका घर अनि शिक्षा आर्जनका लागि घण्टौं हिँडेर जानुपर्ने मेरो बुवाको बाल्यकाल, सहरका पक्की घर अनि बोर्डिङ स्कुलमा पढ्ने मेरो बाल्यकाल, निकै अन्तर थियो। अशिक्षित मानिसले घेरेको मेरो बुवाको समाज अनि शिक्षित भनिने मानिसले भरिभराउ म हुर्केको समाज, आकास–पातालकै फरक। शिक्षित मानिस सभ्य हुन्छन्, मेरो मानसिकतामा समाजले भरिदिएको सोच यही थियो। मैले यही चस्माबाटै समाजलाई हेर्ने गरेको थिएँ। त्यति मात्र कँहा हो र, म त आधुनिक समाजमा जन्मिएकी छोरी भनेर कहिलेकाहीं निकै गौरव पनि गर्थें।

जब त्यो दिन बिहानै अन्तरजातीय प्रेमका कारण पश्चिम रुकुममा नवराज विकसहित ६ जनाको बीभत्स हत्या गरिएको समाचार सुनें, तब समाजले मलाई लगाइदिएको चस्माबाट चारैतिर अँध्यारो देख्न पुगें। मेरो पालासम्म आइपुग्दा त मानिस अत्याधुनिक युगको चर्चा गर्न थालिसकेका थिए। अब रुकुमको त्यो दर्दनाक घटनालाई म कसरी बुझौं, केहीबेर स्तब्ध भएँ। एकसाथ अनेक प्रश्नले मेरो मस्तिष्क रन्थनियो।

हजुरबुवाको पालाबाट मेरो समयसम्म आइपुग्दा काँचुली नै फेरेको मेरो समाजको आधुनिकताको प्रतीक के हो त? सहर/बजारमा दिनहुँ निर्माण भइरहेका सुविधा–सम्पन्न ठूलठूला महल, आधुनिक भेषभूषा, घरमा भन्दा बाहिर होटल/रेस्टुरेन्टमा खाना खाने चलन, छोराछोरीलाई महँगा स्कुलमा पढाउनुपर्ने बाध्यता हेर्दा समाज निकै सभ्य र आधुनिक भइसकेको जस्तो लाग्थ्यो।

ग्रामीण क्षेत्रका मानिसको जिवनशैलीमा समेत आमूल परिवर्तन आएको देख्दा समाज निकै अगाडि बढिसकेको महसुस हुन्थ्यो मलाई। तर अझै पनि अविकसित ठानिने, जंगलमा बस्ने राउटेको समाजमा पनि नहुने घटना रुकुमको समाजमा भएको सुन्दा मलाई पहिलोपटक अनुभूति भयो कि वास्तवमा मेरो समाजको चेतनास्तर त अझै कति तल रहेछ!

देखावटीपन, अस्वस्थ प्रतिस्पर्धा, पैसालाई मात्र महत्व दिनेजस्ता स्वार्थी कुरामा मात्र पो मेरो समाज आधुनिक भएको रहेछ, चेतना त मेरो हजुरबुवाकै पालाको जस्तो रहेछ! त्यसैकारण जातको नाममा रुकुम चौरजहारीमा त्यस्तो अमानवीय र क्रूर घटना भयो। बरु मेरो हजुरबुवाको समाजमा त कम्तीमा मानिसमा मानवताको सानो झिल्को भए पनि हुन्थ्यो, तर अहिलेको आधुनिक समाजका मानिसको मनमा त मानवता त परेका कुरा, दानवताको पराकाष्ठा नै रहेछ।

आजको समयमा पनि जातीयताका आधारमा यति ठूलो घटना हुनु त्यो ठाउँ गाउँ भएकाले हो त? त्यसो त सहरमै बस्ने आधुनिक भनिएकाहरू पनि जातिवादको जालोबाट कहाँ बाहिर आउन सकेका छन् र! कथित साना जातिका मानिससँग बिहेवारी र प्रेम त टाढाको कुरा, आफ्नो घरमा प्रवेश दिनसमेत हिचकिचाउँछन्। सबैको रगत रातै हुन्छ भन्ने भावनासमेत आधुनिकतावादले जन्माउन सकेको छैन। । अब त मेरो मनमा बारम्बार यही प्रश्न उठ्न थालेको छ– मेरो हजुरबुवाकाे समाजभन्दा मेरो समाज कुन अर्थमा आधुनिक?

आधुनिकतावादको साँचो मापदण्ड मानिसको जीवनशैलीमा भौतिक परिवर्तन आउनु मात्र नभएर चेतनास्तर वृद्धि हुनु पनि हो। वास्तविक आधुनिक समाज त त्यो हो, जहाँ कुनै प्रकारका विभेद हुँदैनन्, हरेक मानिस समान हुन्छन् र मानवीय मूल्य/मान्यतालाई प्रमुख कुरा मानिन्छ। कसैको जीवन कथित जातीय उच्चताभन्दा तल कदापि हुन सक्दैन। त्यसैले मानव जीवनमा जातीयताको छाप लगाउन खोज्नु हदैसम्मको अज्ञानता र मूर्खता हो। त्यस आधारमा भेदभाव गर्न खोज्नु मानवताविरुद्धकै जघन्य अपराध हो।

(विद्या गौतम नेपाल पर्यटन बोर्डमा अधिकृत छिन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .